पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस दुइपटक अमेरिकी राष्ट्रपति बने र इराक र अफगानिस्तानमा युद्ध सुरु गर्दै कथित आतंकवाद विरुद्धको युद्धमा नयाँ इतिहास कोरे । यद्यपि उनी अब फेरि इतिहास लेख्ने हैसियतमा छैनन् ।
तथापि उनको नाउँमा इतिहास लेखाइदिनेहरुको भने कमी छैन । बुसले इन्टरनेट इन्साइक्लोपेडियामा विकिपेडियामा अरुकै कारण नयाँ इतिहास बनाएका छन् । उनी विकिपेडियामा सबैभन्दा धेरैपटक संसोधन हुने व्यक्तिको सूचिमा पहिलो नम्बरमा परेका छन् ।
आफ्नो १५ औँ वाषिर्कोत्सवको अवसरमा विकिपेडियाले सार्वजनिक गरेको तथ्यांक अनुसार जर्ज डब्लु बुसको विकिपेडिया पेजमा विकिपेडियाका स्वयंसेवीहरुद्धारा सबैभन्दा बढि पटक संसोधन भएको छ ।
सन् २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका बुसको विकिपेडिया पेज ४५ हजार ८६२ पटक इडिट भएको छ ।
सबैभन्दा बढि पटक संसोधनमा पर्ने टपटेन पेजहरुको सूचिमा दोश्रो स्थानमा रेस्लिंग प्रतियोगिता डब्लु डब्लु ई का खेलाडिहरुको सूचि सम्मिलित पेज रहेको छ । रेस्लिंग खेलाडिहरुको पेज भन्दा बुसको पेज ३ हजार बढि पटक संसोधन भएको छ ।
विकिपेडियामा सबैभन्दा बढि संसोधन हुने तेश्रो स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ । चौथो स्थानमा विकिपेडिया आफै रहेको छ । त्यस्तै माइकल ज्याक्सन, जेसस तथा क्याथोलिक चर्च नामक पेजहरु पनि सबैभन्दा बढि पटक संसोधन हुनेमा परेका छन् ।
विश्वभर फैलिएका विकिपेडियाका स्वयंसेवीहरुबाट विकिपेडिया अहिलेसम्म ८० करोड ८१ लाख ८७ हजार ३६७ पटक संसोधन भएको तथ्यांकले देखाएको छ ।
विकिपेडियामा सबैभन्दा बढि पटक सम्पादन हुने पेजहरु यी छन्
सम्पादन हुने साइट | सम्पादन भएको संख्या (पटक) |
---|---|
जर्ज डब्लु बुस | ४५,८६२ |
डब्लु डब्लु इ खेलाडिको सूचि | ४२,८३६ |
संयुक्त राज्य अमेरिका | ३५,७४२ |
विकिपेडिया | ३३,९५८ |
माइकल ज्याक्सन | २८,१५२ |
क्याथोलिक चर्च | २६,४२१ |
फिलिपिनो टेलिभिजन एबीएस सिबिएनले प्रशारण गर्ने कार्यक्रमको सूचि | २५,१८८ |
जेसस क्राइस्ट | २५,०८४ |
बाराक ओबामा | २४,६१२ |
एडोल्फ हिटलर | २४,६१२ |
ब्रिट्नी स्पेयर्श | २३,८०२ |
दोश्रो विश्वयुद्ध | २३,७३९ |
सन् २०१३ का मृत्युहरु | २२,५२९ |
दी बिटल्स | २२,३९९ |
इण्डिया | २२,२७१ |
सन् २००१ को जनवरी १५ मा सुरु भएको विकिपेडियामा अहिलेसम्म ३ करोड ६० लाख आलेख अर्थात् पेज रहेका छन् । विकिमिडिया फाउन्डेसनका अनुसार विश्वका ८० हजार स्वयंसेवीहरुले विकिपेडियामा सूचना तथा जानकारी थप्न वा संसोधन गर्न सहयोग गरिरहेका छन् ।
विकिपेडिया अहिले विभिन्न २८० भाषामा उपलब्ध हुनुका साथै मासिक रुपमा १ करोड ८० लाख पेज भ्यू रहेको छ । विकिपेडिया विश्वको सबैभन्दा बढि पढिने वेबसाइटको रुपमा समेत रहेको छ ।
प्रतिक्रिया 4