+
+

साउदीका टाट पल्टेका कम्पनीमा कामदार नपठाउन दूतावासको आग्रह

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ साउन २७ गते ०:४०

salary problem in saudi
२६ साउन, काठमाडौं । चितवनबाट साउदी जान काठमाडौं आएका सुवास लामा पछिल्लो समयमा साउदीको श्रम समस्याबारे आएका समाचारले निरुत्साहित भएका छन् ।

‘मलेसियाभन्दा साउदी नै ठीक भनेर त्यता जाने भनियो, भिसा पनि आयो, तर अहिले कस्तो कम्पनीमा पुगिने हो भन्ने चिन्ता छ,’ लामाले भने, ‘जानासाथ अलपत्र परिने हो कि भन्ने चिन्ता छ ।’

सुवासजस्तै धेरै नेपाली युवा साउदीमा देखिएको समस्याले चिन्तामा परेका छन् । ऋण गरेर विदेश जाँदा लाग्ने पनि तिर्न नपाउँदै फर्किनुपर्ने हो कि भन्ने चिन्तामा छन् उनीहरु ।

साउदी जाने तयारीमा रहेका नेपाली कामदार त्यहाँका ठूला कम्पनीमा श्रम समस्या देखिएपछि अन्योलमा परेका हुन् । साउदी जाने प्रक्रिया टुंग्याएर उड्ने दिन पर्खिरहेकाहरु कस्तो कम्पनीमा परिने हो भन्ने त्रासमा छन् ।

सरकारले अहिले आर्थिक मन्दीको शिकार भएका कम्पनीहरुमा नेपाली कामदार पठाउन बन्द गरेको भए यस्तो चिन्ता लिनुपर्ने थिएन । तर, नेपालका म्यानपावर कम्पनीहरुले समस्यामा परेका साउदीका कम्पनीबाट ल्याएका कामदारको स्वीकृतिलाई वैदेशिक रोजगार विभागले धमाधाम इजाजत दिइराखेको छ ।

प्रधानमन्त्री प्रचण्डले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न परराष्ट्रका अधिकारीमार्फत दूतावासलाई निर्देशन दिएका छन् । तर, टाट पल्टेका साउदीका कम्पनीमा नेपाली युवालाई पठाउने काममा रोक लगाउनेबारे सरकारको ध्यान जान सकेको छैन ।

दूतावासका अधिकारी भन्छन्- जथाभावी कामदार पठाउन रोकियोस्

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारी अब कम्पनीको ‘इकोनोमिक र स्टान्डर्ड प्रोफाइल’ हेरेर कमजोर आर्थिक अवस्था भएका कम्पनीमा कामदारलाई पठाउन नेपालबाटै बन्द गर्नुपर्ने बताउँछन् ।

‘अब वैदेशिक रोजगार विभागले कम्पनीका प्रोफाइल अध्ययन गरेर कामदारहरु समस्यामा परेका र आर्थिक अवस्था धरासायी भएका कम्पनीमा नेपालीलाई पठाउन स्वीकृति दिनुहुँदैन’ साउदीबाटै टेलीफोनमा अधिकारीले भने, ‘सरकारले यो कदम चाल्न ढिलाइ गर्‍यो भने साउदीमा नेपाली कामदार समस्यामा पर्ने क्रम अझै बढ्नेछ ।’

पण्डित भन्छन्- कालोसूचीमा राखौं

अब तलव नै भुक्तानी गर्न नसक्ने खालका कम्पनीमा कामदार पठाउन नै बन्द गर्नुपर्ने श्रम तथा रोजगार मन्त्रालयका वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् ।

‘अब साउदीमा जुनसुकै कम्पनीमा पठाउन नहुने भयो, त्यसैले साउदीमा श्रम स्वीकृति दिँदा कमसेकम कम्पनीको प्रोफाइल हेर्नुपर्छ’ पण्डितले भने, ‘सकेसम्म स्थापित र स्थिर कम्पनीमा मात्र कामदार पठाउनुपर्छ ।’

उनले अहिले तलब भुक्तानी नदिएका, कामदारलाई निकालेका तथा टाट पल्टेका कम्पनीलाई ‘ब्ल्याक लिस्टेड’ गर्नुपर्ने बताए । त्यस्तो कालो सूची विभागको सफ्टवेयरमा राखेर श्रम स्वीकृति दिन नमिल्ने बनाउनुपर्ने पण्डितको सुझाव छ ।

श्रम मन्त्रालय भन्छ- रोक्न सकिँदैन

श्रम तथा रोजगार मन्त्रालय भने तत्काल कुनै कम्पनीलाई ब्ल्याक लिष्टेड गर्ने पक्षमा छैन । मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले दुईदेशीय सम्बन्धका आधारमा पनि तत्काल साउदीका कुनै कम्पनीमा कामदार पठाउन रोक्न नसकिने बताए ।

‘दूतावासहरु समस्या समाधानका लागि सक्रिय छन् । समस्यामा परेका कम्पनीहरुको मागपत्रको प्रमाणीकरण रोक्नका लागि उनीहरुलाई अधिकार छ’ भुर्तेलले भने, ‘अन्य बाटोबाट पास हुने मागपत्रलाई अन्तिम समयमा हामीले रोक्न सक्दैनौं, कानुनले पनि हामीलाई त्यो अधिकार दिँदैन ।’

१० महिनासम्म तलब पाएनन् नेपाली कामदारले

अहिले साउदी अरबका कम्पनीमा कार्यरत कामदारले समयमै तलव नपाउने, कम्पनीले बेवास्ता गर्ने र कामदारहरु काम छाड्दै अवैधानिक रुपमा अन्यत्र गएर काम गर्ने समस्या बढ्दै गएको छ । महिनैपिच्छे तलव बुझ्ने कामदारहरुले कम्पनीको कारोबारमा आएको मन्दीसँगै महिनौंसम्म तलब नपाएपछि विभिन्न समस्या झेलिरहेका छन् ।

विशेषगरी आर्थिक समस्याको शिकार भएका कम्पनीहरुमा नेपाली कामदार तलव समयमै नपाइने समस्याको शिकार भएकोे रियादस्थित दूतावासले जनाएको छ । तलवबाटै रासन किनेर खानुपर्ने कामदारहरु बढी समस्यामा परेका छन् ।

मलेसियामा देखिएको समस्यापछि साउदी अरब पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको छ । मलेसियामा आर्थिक मन्दी छाएपछि साउदीलाई श्रम गन्तव्य बनाउने नेपालीहरुको संख्या बढेको हो ।

तर, अब पनि पहिले जस्तै साउदीका जुनसुकै कम्पनीमा आँखा चिम्लेर कामदार पठाउँदा नेपाली कामदारको समस्या अझ चर्किने देखिएको छ । पछिल्लो समयमा साउदीका कम्पनीमा कार्यरत नेपालीहरुले १० महिनासम्म तलव नभएको उजुरी दूतावासमा दर्ता भएका छन् ।

यी पनि पढ्नुस्

* साउदीमा नेपाली कामदारहरु समस्यामा, १० महिनादेखि तलव पाएनन्

*विदेशमा कामदारलाई अप्ठेरो परे कसलाई, कहाँ सम्पर्क गर्ने ?

*साउदीका राजाले भने-कामदारको तलब रोक्नेलाई सरकारी भुक्तानी नदेऊ

*सरकारले भन्यो- साउदीमा समस्या परे दूतावासमा सहयोग माग्नुस्

*साउदीमा अभर परेका नेपालीको उद्धार सुरु, सम्पर्क कहाँ गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?