+
+

नेपाली विद्यार्थीको पक्षमा भएको फैसलाबिरुद्ध बेलायत सरकारको पुनरावेदन

अदालती सुनुवाई आजबाट शुरु हुने

कमल कँडेल कमल कँडेल
२०७३ कात्तिक ९ गते ११:३८

uk-court

९ कात्तिक, काठमाडौं । गत मार्चमा बेलायतको अध्यागमन अदालत अपर ट्राबुनलको फैसला पश्चात उत्साहित भएका हजारौं नेपाली तथा बिदेशी विद्यार्थीको न्याय पाउने आशालाई बेलायती सरकारले अपिल गर्ने निर्णयले सशंकित गराउनुको साथै पर्खाइलाई अत्यास लाग्ने गरी लम्बाइदिएको छ ।

स्मरणरहोस् बीबीसी पानोरमा कार्यक्रमले सन् २०१४ मा टोइक अंग्रेजी भाषाका प्रमाणपत्रहरुको किनबेच तथा परीक्षामा चिट चोराइएका दृश्यहरु टेलिभिजनमा प्रसारण गरेपश्चात सरकारले टोइक अंग्रेजी भाषा टेस्टलाई अवैध घोषणा गरेपछि टोइक टेस्ट दिने हजारौं नेपाली तथा विदेशी विद्यार्थीहरुको दशाको दिन सुरु भएको थियो । यो परीक्षा दिएकै आधारमा हजारौं विद्यार्थीहरुको भिसा रद्द भई देशनिकाला भएका थिए भने पक्राउ नपरेकाहरू लुकिछिपी बस्न बाध्य भएका थिए, जसमा नेपाली विद्यार्थीको संख्या समेत उलेख्य थियो ।

अदालतले विदेशी विद्यार्थीको पक्षमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्नसमेत आनाकानी गरेको र कानून ब्यावसायीको न्यायीक पुनरावेदनमा जाने धम्की पश्चातमात्र गृह मन्त्रालयले सार्वजनिक गरेको थियो ।

फैसलालाई कसैले पनि नजिरको रुपमा प्रयोग नगरोस् भन्ने योजना बिफल भएपश्चात गृहमन्त्रालयले अपिल गर्ने निर्णयमा पुगेको देखिन्छ ।
अदालती सुनुवाई आज र भोलि (अक्टोबर २५ र २६ तारिक)मा हुँदै छ ।

होम अफिएर्स सेलेक्ट कमिटीद्वारा छानबिन

अदालतले बिदेशी विद्यार्थीको पक्षमा फैसला गरेपश्चात होम अफिएर्स सेलेक्ट कमिटीले पनि टोइक अंग्रेजी टेस्ट र सरकारी कामकारबाही सम्बन्धमा छानबिनका लागि अध्यागमन मन्त्री तथा उच्चपदस्थ पदाधिकारी र पीडित विद्यार्थीहरुलाई केरकार गरी सबुत प्रमाण जुटाउने काम गरेको थियो ।

nisha-chand
होम अफिएर्स सेलेक्ट कमिटीमा बयान दिँदै निशा चन्द

टोइक नामको अंग्रेजी टेस्ट दिएकै कारण जेल सम्म परेकी निशा चन्दले समितिमा बयान दिँदै भनेकी थिइन्- अंग्रेजी भाषामा पकड राम्रो भएकाले टेस्ट पास गर्न चिट चोर्नुपर्ने वा सर्टिफिकेट किन्नु पर्ने आवश्यकता रहेन ।

उनले रुँदै भनिन्, ‘मैले कुनै गल्ति गरेकी छैन । मैले बेलायत नछोड्नुको मुख्य कारण म मेरो १२ वर्षको छोरालाई प्रमाणित गर्न चाहन्छु म निर्दोष छु भनेर ।’

त्यसै अर्का टोइक भाषा टेस्ट पीडित अशिफ खानले आफूले चिट नचोरेको र बेलायतमा अध्यन पूरा गरी आफ्नो देश बंगलादेश फर्केर युनिभर्सिटी पढाउने इच्छा रहेको बताए ।

सांसदको समलिंगी वेश्यावृतिको प्रभाव संसदीय छानबिनमा

होम अफिएर्स सेलेक्ट कमिटीका सभापति सांसद किथ भ्याजको समलिंगी रतिक्रिडाको भिडियो बेलायतको एउटा टाब्लोइड पत्रिकाले सार्बजनिक गरेपश्चात उनको राजनीतिक पतनमात्र होइन उनले बिदेशी विद्यार्थीको पक्षमा शुरु गरेको संसदीय छानबिन पनि केहि समययता अलपत्र परेको देखिन्छ ।

दुई छोरा र छोरीका बाबु सांसद भ्याजको समलिंगी बेश्यावृतिको भिडियो सार्बजनिक उनकै आफ्नो पार्टी लेबर नजिक मानिने सन्डे मिररले गरेको थियो ।

आप्रवासीको समस्यामा विशेष चासो राख्ने सांसद भ्याजले सन् २०१३ मा समलिंगीलाई रोग मान्ने योगगुरु रामदेवले अद्यागमन अधिकारीले आठ घण्टा थुनेपछि उनलाई छुटाउन एयरपोर्ट पुगेका थिए ।

संसद किथ भ्याजले सरकारका उच्च अधिकारी माइक वेल्सले दिएको बयानसँग सहमत नभएपश्चात पुनः केरकारको लागि सेप्टेम्बर ६ मा संसदीय छानबिनमा बोलाएको थियो तर किथ भ्याजको राजीनामाले समितिको ध्यान अन्यत्रै मोडियो । भर्खरै किथ भ्याज उतराधिकारी नियुक्त भएकी एभ्याट कुपरले सांसद भ्याजले शुरु गरेको छानबिन प्राथमिकतामा राख्छिन् कि राख्दैनिन् हेर्न बाँकी छ ।

होम अफिएर्स सेलेक्ट कमिटिका निर्णयहरु बाध्यकारी नभए पनि बिशेष अर्थ राख्ने तथा समितिले गरेका सिफारिसहरुको सरकारले दुई महिनाभित्र जवाफ दिन बाध्य हुन्छ ।

आप्रवासी नीतिप्रति अति आक्रामक रबैया अपनाएको टेरिसा मेको सरकारले विदेशी विद्यार्थीमाथि अझ बढी खेदो गर्नाका लागि अध्यागमन कानुनमा विशेष परिवर्तन गर्न लागिरहेको सन्दर्भमा हुन गएको अदालती सुनुवाई तथा फैसलालाई पीडित विद्यार्थी तथा पर्यवेक्षकहरुले बिशेष चासो र उत्सुकताकासाथ हेरेका छन् ।

तस्वीर स्रोत: पार्लियामेन्ट युके 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?