+
+

दाम्लोले घिसारिरहेको ८२ वर्षे हजुरबाको जीवन !

'काठमाडौं र कालेबुङबाट छोराहरु आइदिए हुन्थ्यो'

गौरव पोखरेल गौरव पोखरेल
२०७३ पुष ९ गते १५:१८

laxmi-prasad
९ पुस, झापा । कन्काई नगरपालिकाको दूर्गापुरमा डोरी बाट्ने पेशा गर्दै आएका ८२ वर्षे हजुरबाले डोरी बाटेरै तीन छोरा र एक छोरी हुर्काए । तर, यतिबेला जेठो र माइलो कहाँ छन्, अत्तोपत्तो छैन । उनको भाग्य भने उही दाम्लाको गाँठोमा रुपान्तरित भइरहेको छ ।

‘१४/१५ वर्ष भइसक्यो दुबै छोराहरु नदेखेको’, उनी सम्झन्छन्- ‘एउटा काठमाडौँ जान्छु भनेर हिँड्यो, त्यतै हरायो । अर्को कालेबुङ भनेर हिँड्यो, अहिलेसम्म आएन । यहाँ साह्रै दुःख छ, त्यही भएर नआएका होलान् नि ।’

‘यो उमेरमा छोराहरुलाई भेट्नु भयो भने चिन्नुहुन्छ ?’

उनी जोशिए, ‘चिन्छु नि, आफ्ना छोराहरुलाई किन नचिन्नु ।’

‘ती छोराहरुलाई के भन्न मन छ ?’

‘कहाँ गए, कस्तो भए, अत्तोपत्तो छैन । बाँचेको भए घर आए हुन्थ्यो ।’

छोराहरुले आफ्नो बारेमा यो समाचार पढे भने आफूलाई भेट्न आउन उनले आग्रह गरे । ‘पहिले जहाँ थिएँ, त्यहीँ छु’, उनी भन्छन्, ‘दुबै छोराहरुलाई भेट्न मन छ, देख्न मन छ ।’

दाम्लोले घिस्याएको जिन्दगी

झापाको कनकाई नगरपालिका-७, दुर्गापुरमा बस्छन् लक्ष्मीप्रसाद । चोकैमा रहेको पीपलको फेदमा उनको व्यवसाय छ । बिहानै ५ बजे उठ्नु, बोरा बोक्नु र पीपलको फेदमा आएर डोरी बाट्न थाल्नु उनको दैनिकी हो । जुन विगत २३ वर्षदेखि निरन्तर चलिरहेको छ । यसैले होला मानिसहरु उनलाई ‘दाम्लो बाजे’ भन्छन् ।

यी हजुरबाले बनाएको डोरी विशेष गरी गाईवस्तुलाई बाँध्न प्रयोग हुन्छ । जसलाई गाउँघरमा दाम्लो भनिन्छ । आकार अनुसार ३० देखि ५० रुपैयाँसम्म पर्छ । उनी अहिले दिनमा २ सयदेखि ३ सय रुपैयाँसम्म कमाउँछन् ।

पहिले पहिले उनी डोरी बेच्दै गाउँगाउँ डुल्थे । दुर्गापुरदेखि सुरुङ्गा, दूधे, झिलझिले, घैलाडुब्बा, शिवगञ्ज लगायतका ठाउँमा पुग्थे । तर, अहिले उनी कमजोर भइसकेका छन् । हिँड्न डुल्न सक्दैनन् । तर, बसेर गर्ने काममा भने लगनशील छन् उनी ।

उनले बाटेको डोरी दह्रो हुन्छ, भन्छन् उपभोक्ता । त्यही भएर होला, एकपटक उनीसँग डोरी किनेका मान्छे फेरि अन्त जाँदैनन् ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका पूर्वी पहाडी जिल्लाका किसान पनि झापा आएका बेला उनीसँग डोरी किनेर लान्छन् ।

अरुले फ्यालेको कपडालाई सदुपयोग गरेर डोरी बनाई गुजारा चलाउने सायद नेपालमा उनीजस्ता कमै होलान् । उनले यसरी गुजारा मात्रै चलाएका छैनन्, तीनजनाको परिवारको जिन्दगीसमेत यिनै दाम्लाको सहाराले घिच्याइरहेका छन् । उनीहरुलाई छाक टार्नसम्म पुगेको छ ।

अहिले यी हजुरबासँगै छन्, श्रीमती र एक छोरी । कान्छो छोरा गाडीमा काम गर्छन् । उनलाई त्यसैले खान पुग्छ । बुबासँग छुट्टसिकेका छन् उनी ।

लक्ष्मीप्रसाद सामान्य अक्षर चिन्छन् । उनले डोरी बाटेरै छोराछोरीलाई सकेसम्म पढाए । छोरीले १० सम्म पढिन् । तर, एसएलसी पास गर्न सकिनन् ।

दुर्गापुरमा उनी पत्नी र छोरीसहित एउटा सानो कोठा भाडामा लिएर बसेका छन् ।

खान पुग्छ, लाउन पुग्दैन

‘खान त पुग्छ’, लक्ष्मीप्रसाद भन्छन्, ‘तर, लाउन पुग्दैन ।’

उनका अनुसार महिनाभरि खान पुगेकै छ । तर, नयाँ लुगा नलगाएको वर्षौं भयो । पुस लागिसक्यो । थामिनक्नु जाडो छ ।

तर, अरुको सहारामा बाँच्नु पर्ने यी हजुरबाट ८२ वर्षको उमेरमा एकाबिहानै एकसरो कपडा लाएर सडक पेटीमा निस्किन्छन् । र, आफ्नो नित्यकर्मलाई निरन्तरता दिन्छन् ।

‘के गर्नु ? काम गरेन भने भरे भोकै भइन्छ’, चौतारीको फेदमा दुःख बिसाउँदै उनी भन्छन् ‘जाडो, गर्मी भनेर धरै छैन ।’
विहीबार बिहानै उनलाई सडकमा देख्दा लुगलुग कामिरहेका थिए ।

‘जाडो र बर्खा नआएदिए पनि हुन्थ्यो’

यी हजुरबाका लागि जाडो र बर्खा दशा बनेर आउँछ । जाडोमा निक्कै समस्या हुन्छ । वषर्ामा पानी परेर भिजाउँछ ।
‘पानी पर्नेबित्तिकै सबै सामान बोरामा हाल्छु’, उनले आफ्नो दुःख सुनाए, ‘अनि नजिकै कतै ओत लाग्न जान्छु ।’ गर्मीमा त बरु जसोतसो काम काम गर्न सकिन्छ ।

हिँडेरै २४ किलोमिटर !

डोरी बाट्नका लागि कपडा लिन उनी दुर्गापुरबाट बिर्तामोडसम्म पुग्छन् । तर, गाडी चढ्दैनन् । गाडी चढे भने भरे के खाने ? भोलि डोरी बाट्नलाई कपडा कुन पैसाले किन्ने ? समस्या हुन्छ । गाडीले थोरै पैसा दिँदा मान्दैन ।

उनी हिँडेरै बिर्तामोड पुग्छन् । बिर्तामोड मात्र होइन, उनी काँकरभिट्टा, दमकसम्म पनि हिँडेरै पुग्छन् । दुर्गापुरबाट बिर्तामोड ७ किलोमिटर पर्छ । उनलाई १ घण्टा लाग्छ बिर्तामोड पुग्न ।

त्यस्तै, काँकरभिट्टा ५ घण्टा लगाएर पुगेको अनुभव उनले सुनाए । काँकरभिट्टा दुर्गापुरदेखि २४ किलोमिटर टाढा छ ।
प्लास्टिकको बोरासमेत प्रयोग गरेर पनि उनी डोरी बनाउँछन् । २ देखि ३ रुपैयाँ प्रतिगोटामा बोरा किन्छन् । राम्रो बोरालाई भने २० रुपैयाँसम्म पर्छ ।

जीवनको आफ्नै परिभाषा

कोही भन्छन् जिन्दगी प्रकृतिको सुन्दर उपहार हो । तर, लक्ष्मीप्रसाद दाहाल भन्छन्-जिन्दगी त दुःख पीडा र वियोगको त्रिवेणी हो । जीवनको परिभाषा सायद मान्छेले भोगेर गर्ने हो ।

लक्ष्मीप्रसादका जिन्दगीमा यस्तै भोग लेखेको रहेछ त उनले जीवनलाई अरु ढंगले कसरी परिभाषित गरुन् । उमेरले उनी ८२ पुगे । सेतै फुलेको छ दाह्री । अनुहार चाउरी परिसक्यो । जोश भने अझै मरेको छैन ।

दुई छाक टार्न काम नगरी धरै छैन । जम्माजम्मी उनको पहिचान यत्ति हो । जोश नदेखाएर पनि के गरुन् । सामान्यतया कपडा फाटेपछि त्यसलाई फ्याल्ने गरिन्छ । तर, उनी ती कपडाहरु संकलन गर्छन् । र, त्यसैको डोरी बनाउँछन् । यस्ता उर्जाशील ज्येष्ठ नागरिक हुन्, लक्ष्मीप्रसाद दाहाल । उहिले डोरी बाट्ने सनपाट पाइन्थ्यो, अहिले मानिसहरुले खेती नै गर्न छाडिसके ।

काँपेको सपना

जीवनको उर्जाशील समय लक्ष्मीप्रसादले आशैआशमा बिताए । अझै आश मारेका छैनन् । हराएका छोराहरुको कसैले खोजी गरिदेला कि भन्ने आशा छ उनलाई । कुनै संघसंस्थाले सहयोग गर्ला कि भन्ने आश कायमै छ उनलाई ।

बुढेसकालमा अब उनीसँग ठूलो लक्ष्य वा सपना छैन । वषर्ाैंदेखि गर्दै आएको यही डोरी व्यापारलाई नै निरन्तर गर्न चाहन्छन्, उनी । दाम्लो बाटेर हुर्काएका आफ्ना सन्ततिले आफ्नोजस्तो नियति भोग्नु नपरोस् भन्ने उनको चाह छ ।

आफ्ना दुरह इच्छा र सपनाहरु अनलाइनखबरसँग सुनाउँदै गर्दा उनी लुगलुग काँपिरहेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?