स्थानीय चुनावको माहोल बन्दै जाँदा देशैभर विभिन्न पार्टीमा उम्मेदवारीको आकांक्षा राख्ने तथा उम्मेदबारी दिनेहरुको संख्या बढ्दै छ । नेपालकै राजधानी काठमाडौँको मेयर पद सामाजिक, आर्थिक विकास तथा राजनीतिक हिसाबले एकदम महत्वपूर्ण मानिन्छ ।
काठमाडौँमा मेयरका लागि अहिलेका दुर्इ वैकल्पिक पार्टीहरुमध्ये विवेकशील नेपालीबाट रन्जु दर्शना र साझा पार्टीबाट स्वतन्त्र उम्मेदबारको रुपमा किशोर थापाले उम्मेदबारी दिएका छन् । अरु पार्टीले बिस्तारै उम्मेदबारी दिने नै छन् । तैपनि निर्बाचनको तीन हप्ता नजिकै पुग्दा समेत उम्मेदवारी दिन नसक्नु पुराना पार्टीहरुको काम गर्ने तरिका चुस्त नहुनु हो भन्ने कुरा देखिन्छ ।
हामीले बुझ्नु पर्ने एकदम महत्व पूर्ण कुरा के हो भने २० वर्ष पहिलाको स्थानीय चुनाबमा वडा स्तरमा कैयौं युवाहरुले जितेका थिए । एउटा वडा स्तरमा राम्रो काम गरेर देखाउनका लागि नगरपालिका वा महानगरपालिकाको स्तरमा जस्तो तुलनात्मक रुपमा अत्यन्त गार्हो नहुनु पर्ने थियो । तैपनि एक-दुइ अपवाद बाहेक राम्रो काम गरेका राम्रा उदाहरणहरु हामीसँग कम छन् । यसका कारण हो, ती युवाहरुमा परिपक्कता, अध्ययन, शैक्षिक योग्यता, सीप, र दक्षताको कमी थियो । युवामा भएको अथाह सम्भावना, आत्मविस्वास, उर्जा, साहसको सही परिचालनका लागि उनीहरुमा अनुभव र विज्ञता पनि आवश्यक हुन्छ,त्यसैले हामीले काम गर्न सक्ने सही उम्मेदबार चुन्न आवश्यक छ ।
हामी कुनै ठाउँको विकास निर्माणको नेतृत्वका लागि त्यही अनुसारको सीप,दक्षता, र अनुभव भयो भने मात्रै विज्ञले दिएका सुझावहरुलाई पहिचान गरेर आफ्नो निर्णयमा पुग्न सक्छौं ।
मेयर पद कुनै महानगरपालिकाका लागि एक प्रधानमन्त्री सरहको पद हो ।काठमाडौँ जस्तो राजधानी शहरका लागि त देशका अन्य महानगर वा नगरपालिका भन्दा पनि एकदमै महत्वपूर्ण पद हो भन्ने कुरामा कुनै दुविधा रहेन । उदाहरणका लागि लन्डन, मुम्बई, न्युयोर्क जस्ता शहरमा हुने मेयर पदमा हुने चुनाबका लागि विश्वभरिकै ध्यान खिचिएको हुन्छ ।
यस अर्थमा पनि काठमाडौँको मेयरको पद देश भरिकै निर्बाचनका लागि महत्वपूर्ण मात्र होइन, काठमाडौँको मेयरले गर्ने विकास अन्य देशबाट आउने पर्यटकका लागि पनि उदाहरण बन्न सक्नुपर्दछ । हाम्रो क्षमता र हामीले गर्न सक्ने डेलीभरि हाम्रो शिक्षा, अनुभव, सिप, अध्ययन सबैको संगम हो, त्यसैले हामीलाई चाहिने मेयर यी विभिन्न कुरामा सके उत्कृस्ट नत्र पनि औसत भन्दा माथि हुनु जरुरी छ ।
अहिले सामाजिक सञ्जाल तथा देश विदेशमा साझा पार्टीको प्रतिनिधि भएर उठेका उम्मेदवार किशोर थापा र बिबेकशील नेपालीकी रन्जु दर्शनाको चर्चा देखिन्छ । हामीले अन्य देशको विकास बारेमा हेरेर आफ्नो देशमा यस्तो किन भएन भन्छौं र हाम्रो नेतृत्व पंक्तिलाई दोष दिन्छौं । यसको मतलब हो, हामी हाम्रो राजनीतिलाई नेतृत्व गर्न सक्ने नेता सक्षम होस् भन्ने चाहन्छौं ।
यसै परिप्रेक्षमा विश्वका केही शहरहरुको मेयरको नेतृत्वका बारेमा चर्चा गर्नु सान्दर्भिक छ । अनि मात्र हामी अन्य केही देशका महत्वपूर्ण शहरका मेयरहरु जस्तै काठमाडौँमा मेयरका प्रत्यासी मध्ये कुन उम्मेदवार नेतृत्व दिन सक्ने नेता कस्तो हुनु पर्ला भन्ने निर्क्यौल गर्न सक्छौं ।
शैक्षिक योग्यता
मान्छेको सोचको दायरामा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण कडी शिक्षा नै हो ।
अमेरिकाको न्युयोर्क शहरका अहिलेका मेयर ५५ बर्षीय बिल दे ब्लासियाले न्युयोर्क युनिभर्सिटीबाट मेट्रोपोलिटन स्टडिज (महानगरीय शिक्षा) मा स्नातक तथा विश्वकै अन्त्यन्त उत्कृस्ट बिश्वबिद्यालय मध्यको कोलम्बिया बिश्वबिद्यालयबाट अन्तरास्ट्रिय सम्बन्धमा स्नाकोत्तर गरेका छन् ।
लन्डनका मेयर ४७ बर्षीय सदिक खान कानुनमा स्नातक छन् भने मुम्बईका मेयर विश्वनाथ महादेश्वर मुम्बई विश्वविद्यालयबाट स्नाकोत्तर मात्र नभएर उनी आफै शिक्षाविद् हुन् । उनी कलेजका प्रिन्सिपल तथा मुम्बई महानगरपालिकाका सिक्षा बोर्डका सभापति रहिसकेका छन् ।
यी त प्रतिनिधि उदाहरण हुन् । हामीले चुन्ने देशकै राजधानी काठमाडौँको मेयर अन्तरास्ट्रिय रुपमा प्रतिस्पर्धा सक्ने शैक्षिक योग्यता हुनु जरुरी छ । हामीले आफ्नो देश या ठाउँ बनाउने हो, हामीले अरु कुनै देश वा अन्य देशका जनतासँग प्रतिस्पर्धा गर्नुपर्ने नहोला । तर, अरु देशका शहरहरुको विकासका लागि आवश्यक परेको नेतृत्व हाम्रो देश वा शहर बनाउन पनि आवश्यक छ ।
हामीले एउटा राजदुताबास, स्कुल वा बैंक, वा सुरक्षा निकायको नेतृत्व लिन स्नाकोत्तर हुनुपर्छ भन्छौं । तर, लाखौं जनताको सुरक्षा, सयौं स्कुल, बैंक,जस्ता अन्य हजारौं सामुदायिक र ब्यापारिक केन्द्र भएको ठाउँको नेतृत्व लिने बेलामा शैक्षिक योग्यता को कुरा गरेनौं भने त्यो ठूलो समस्या हो । हामीले यसमा प्रस्ट हुनु जरुरी छ । यस हिसाबले पनि काठमाडौँको मयेरका लागि स्नातकोत्तर गरेका व्यक्ति उपयुक्त उम्मेदबार हुन् ।
अनुभव
कुनै व्यक्तिहरु अत्यन्त सृजनशील हुन सक्छन् । हाम्रा अगाडि अनुभवबिना पनि डेलिभरी गरेका कयौं उदाहरण हुन सक्छन् । तर, अनुभव हुनु र नहुनुमा धेरै फरक हुन्छ ।
न्युयोर्क सिटीका मेयर बिल दे ब्लासियासँग न्युयोर्कको आवास तथा अर्बान विकासको डाइरेक्टरका साथै न्युयोर्क सिटी डिपार्टमेन्ट अफ जुभेनाइल जस्टिस, सेन्ट्रल अमेरिकाको हेल्थ केयर लगायत अन्य कयौं क्षत्रमा काम गरेको अनुभव छ ।
त्यसैगरी लन्डनका मेयर सदिक खानसँग कानुन व्यवसायीको रुपमा देशका विभिन्न सामाजिक, राजनैतिक, शैक्षिक क्षेत्रमा व्यापक प्रभाव पर्न सक्ने प्रख्यात मुद्दाहरुमा बहस गरेको र जितेको अनुभवका साथै मेयर बन्नु अघि सामुदायिक र यातायात राज्य मन्त्री सम्हालेको अनुभव छ ।
मुम्बईका मेयर विश्वनाथ महादेश्वरसँग कलेजको प्रिन्सिपलका साथै सन् २००२ देखि मुम्बई महानगरपालिकाको कर्पोरेटर र शैक्षिक बोर्डको सभापतिको अनुभव छ ।
देशको कुनै पनि वडा होस् वा महानगरपालिका, यी एक संस्था हुन्, अब हामीले त स्नातक तहमा पढ्दै गरेका राजनीतिमा आउना चाहने युवाहरुलाई नगरपालिकाको मेयरको कार्यालय वा अन्य त्यस्तै कार्यालयमा गएर इन्टरनशीप गर्ने मौका दिने हो भने उनीहरुले त्यो अनुभवलाई पछि राजनीतिमा सफलता हासिल गर्नका लागि उपयोग गर्न सक्छन् । यसकारण पनि भर्खरै स्नातक तहमा अध्ययन गर्दै गरेका भन्दा काम गरेको अनुभवका आधारमा पनि उपयुक्त उम्मेदवार छान्नुपर्छ ।
सीप र दक्षता
विश्वका सफल व्यक्तिहरुले कुनै एक विधामा सीपहरु सिक्दै दक्षता हासिल गरेका हुन्छन् । तिनै सीप र दक्षतालाई नै उनीहरुले आफ्नो सफलताका लागि सदुपयोग गरेको पाइन्छ । कुनै व्यक्तिलाई विश्वास गर्ने आधार पनि उसले एक विधामा हासिल गरेको सिप र त्यसबाट प्राप्त गरेको सफलता हो, जसका कारण त्यस व्यक्तिले अर्को विधामा उसले हासिल गरेको सिप,दक्षता र अनुभवलाई उपयोग गरोस भन्ने हो ।
न्युयोर्कका मेयर मेयर बिल दे ब्लासियाले आफू निर्वाचनमा उठ्नु भन्दा पहिले युनिभर्सिटीबाट अध्ययन सकिने वित्तिकै विभिन्न सामाजिक,राजनीतिक, सामुदायिक संस्थाहरुमामा काम गरेर बर्षौंको अनुभव संगालेका छन् । त्यसैगरी लण्डनका मेयर सदिक खानले कानुन व्यवसायमा दक्षता र सीप हासिल गरेका छन् । मुम्बईका मेयर विश्वनाथ महादेश्वरसँग शिक्षा क्षेत्रमा सीप र दक्षता छ । हरेक पार्टीसँग विकासका योजना हुनु ठूलो कुरा होइन, तर नगरपालिका वा महानगरपालिकाको विकास मेयरको सीप र दक्षता मै निर्भर रहन्छ ।
त्यसैले, हामीले पनि काठमाडौँको मेयरका उम्मेदवार छान्दा सीप र दक्षतालाई आधार मान्न सकिन्छ । हामी भावनामा बहकिन भन्दा पनि जिम्मेवार भएर सोच्न आवश्यक छ ।
व्यक्तित्व र परिपक्कता
हामी नेपालीहरु जहिले पनि राजनैतिक भाषणलाई महत्व दिन्छौं । चाहे स्थानीय निकाय होस् वा राष्ट्रियस्तरको चुनाव होस्, हामीलाई कडा भाषण गर्नेभन्दा पनि राम्रो योजना तर्जुमा गर्न सक्ने र त्यसलाई पूरा गर्न सक्ने नेता तथा व्यक्तिको आवश्यकता छ । यसका लागि केवल केही गर्ने सोच भएर मात्र पुग्दैन, त्यसलाई निभाउन आवश्यक पर्ने व्यक्तित्व र परिपक्कता पनि चाहिन्छ ।
अन्तरास्ट्रिय सहरका मेयरहरु हेर्यौं भने हामीले त्यहाँका जनताले अपवाद बाहेक राजनैतिक भाषणलाई नभएर व्यक्तिमा भएको क्षमता, दक्षता,अनुभवका आधारमा निर्बाचित गरेको पाइन्छ । मुम्बईका मेयर विश्वनाथ महादेश्वर एकदम नरम र भद्र स्वभावका मानिन्छन, उनलाई उनकै पार्टी र जनताले रोज्नुको कारण उनको भद्र स्वाभाव र परिपक्कता पनि थियो
त्यसैले हामीले चर्का भाषण गर्ने खुबीभन्दा पनि नेतृत्वमा भएको अनुभव,दक्षता, शैक्षिक योग्यता, व्यक्तित्व, र परिपक्वता रोज्नुपर्छ।
अन्तराष्ट्रिय एक्सपोजर
हामी नेपालीहरुका लागि अर्को एकदम महत्वपूर्ण कुरा अन्तरास्ट्रिय एक्सपोजर पनि हो । हामीले अन्य देशमा भएको द्रुत गतिको विकाससँग नेपालको तुलना गर्ने गर्छौं ।
यस कारणले पनि हामीले अन्य देशमा भएका समाजिक सुरक्षा, सुशासन र विकास आदिको मोडेलको अनुशरण गर्नु आवश्यक देखिन्छ । त्यसका लागि काठमाडौँमा धुलो र यातायात व्यवस्थापन पर्याप्त काम होइन, शहरिया व्यवस्थानसँगै व्यापार, पर्यटन, ऐतिहासिक पूर्वाधारहरुलाई अन्तरास्ट्रिय स्तरमा पुर्याउनुपर्ने हुन्छ ।
काठमाडौँको प्राचीन संस्कृतिलाई मौलिकरुपमा विकास र संरक्षण गरी विकास के हो भनेर पहिल्याउनु एकदम महत्वपूर्ण हुन्छ । उदाहरणका लागि देशमा भएका अत्यन्त सानातिना कुराहरुलाई समेत सुन्दर रुपमा अन्तरास्ट्रिय जगतमा प्रस्तुत गर्दा हामीलाई ज्ञान, अनुभव, अध्ययन, शीप र दक्षताको आवश्यकता पर्दछ ।
हामीले हाम्रा परम्परागत पार्टीका घोषणा पत्र हेरेर थाकिसकेको सन्दर्भमा अब कुनै उम्मेदवारले सुनाउने योजनाभन्दा पनि त्यो उम्मेदवारसँग आफ्ना योजना कार्यान्वन गर्न सक्ने सीप, अनुभव र दक्षता छ कि छैन भनेर विश्लेषण गर्नु एकदम महत्वपूर्ण छ । यस अर्थमा काठमाडौँको प्राचीन सभ्यताको संरक्षण, मौलिक विकास र अन्तरस्ट्रिय रुपमै सुन्दर सहर बनाउन सक्ने उम्मेदवार चाहिन्छ ।
रञ्जु दर्शनाबारे
अहिले सामाजिक सञ्जालमा काठमाडौँको मेयरका उम्मेदवार किशोर थापासँग रन्जु दर्शनाको नाम पनि चर्चामा रहेको छ । विवेकशील नेपाली पार्टीले रन्जु दर्शनाका बारेमा कुरा गर्दा मार्क जुकरबर्ग, मालाला युसुफजाई,पृथ्वीनारायण जस्ता युवा अवस्थामै राम्रो काम गरेर देखाएका व्यक्तिहरुको उदाहरण दिएर भावनामा बहकिएको देखिएको छ ।
मार्क जुकर्बर्ग आफैं कम्प्युटर साइन्समा राम्रो दखल भएका व्यक्ति हुन् । उनले रन्जु दर्शनाले विज्ञहरुको टिम बनाएर काठमाडौँको विकास गर्छु भने झैं फेसबुकको अवधारणा ल्याएका होइनन् । फेसबुक उनी आफैंले, आफ्नो सीप र दक्षताले बनाएका हुन् । उनले पछिमात्रै फेसबुकको वृद्धि विकासका लागि अरु विज्ञहरुको सहायता लिएका हुन् ।
पृथ्वीनारायण शाह आफैं एक तालिम प्राप्त सिपाही वा लडाकू थिए । उनीसँग युद्धको सीप र दक्षता थियो र मात्र नेपाल एकीकरणको सपनालाई साकार बनाउन सकेका हुन् ।
एउटा महानगरपालिकाको कार्यकारी प्रमुखको दावेदारी प्रस्तुत गर्दा १८ ओँ शताब्दीका राजाको उदाहरण आफैंमा नमिल्दो त हो नै, त्यसको उदाहरण १० बर्से सफल जनयुद्ध सम्हालेका प्रचण्डको पहिलो कार्यकाल हेरे पनि पुग्छ ।
यसका साथै दर्शनाको कुरो गर्दा कुलमान घिसिङ्ग र गगन थापाको उदाहरण लिएको पाउँछौं । विवेकशील नेपालीका साथीहरुले के बुझ्नु जरुरी छ भने गगन थापा एक अब्बल विद्यार्थी थिए र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । गगन थापासँग मन्त्री हुनुभन्दा पहिला लामो समय बिद्यार्थी संगठनको नेतृत्व गरेको अनुभव मात्र नभएर संविधान सभा-२ मा उर्जा समितिको सभापति र त्यो भन्दा पहिला अन्य समितिमा बसेर काम गरेको अनुभव छ ।
त्यसैगरी देशमा उज्यालो फर्काउन सफल कुलमान घिसिङ्ग पेशाले इन्जिनियर हुन् र ब्यबस्थापनमा स्नाकोत्तर हुन् । उनी आफ्नो पेशामा दक्ष छन् र उनीसँग विद्दुत प्राधिकरणमा लामो समय काम गरेको अनुभव छ । उनको सफलताका पछाडि उनको सीप र दक्षताको पनि एकदम ठूलो हात छ।
त्यसैले हामीले विश्वमा सफल युवाहरुको पछाडि भावना वा लहडभन्दा पनि तिनीहरुको सफलताका पछाडिको पृष्ठभूमि हेर्नुपर्ने हुन्छ । साथै हाम्रोजस्तै अन्य देशका शहरहरुमा निर्बाचित मेयरहरुको ज्ञान, अनुभव, सीपजस्ता पृष्ठभूमि हेर्यौं भने मात्रै हामी हाम्रो देशको राजधानीका लागि उपयुक्त र उत्कृष्ठ उम्मेदवार किशोर थापा नै हुन् निश्कर्षमा पुग्नेछौं ।
– सिकागो, अमेरिका
प्रतिक्रिया 4