१४ असार, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् ।
मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै रानालाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो । मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी हबल्दार रानाले उक्त बमलाई समातेर तत्कालै जंगलतर्फ फ्याकेर सम्भावित दुर्घटना हुनबाट बचाएका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।
दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले सुतरी बम भुइँमा खस्नेबित्तिकै हबल्दार रानाले टिपेर मतदान केन्द्रभन्दा बाहिर फालेको जानकारी दिए । ‘उसले त्यो बहादुरी नदेखाएको भए क्षति हुनसक्थ्यो,’ सिंहले अनलाइनखबरसँग भने ।
बम प्रहार गर्नेको पहिचान भएको छैन । तर, निर्वाचन विरोधी गतिविधि गर्दै आएको विप्लव निकट नेकपाले बम प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4