२३ साउन, ललितपुर । प्रहरीले लागूऔषध कारोबारीको घरमा रेड गर्न लागेको सूचना पाउनासाथ बुद्धनगरस्थित अनलाइनखबरको कार्यालयबाट ललितपुरको कुसुन्तीतर्फ प्रस्थान गरियो । रिंगरोडबाट करिब एक किलोमिटर भित्र पद्मा कोलोनीको पछाडि पुग्दा थाहा भयो प्रविण खत्रीको इन्काउन्टर भएछ ।
प्रविण खत्री ठूलो लागूऔषध कारोबारी भएको र उनीसँग अवैध हतियारसमेत रहेको सूचनाको आधारमा सोमबार बिहान सात बजेदेखि नै प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीका अनुसार उनीहरु सर्च गर्नमात्र आएका थिए । प्रहरी घरमा आएको खत्रीले चाल पाइहाले । किनकी उनको घरमा सीसी टिभी क्यामरा जडान छ । प्रहरी आएको थाहा पाउनासाथ उनी आफ्नो दुई तले घरको छतबाट पूर्वपट्टी हाम फालेर भाग्न खोजेका थिए ।
प्रहरीका अनुसार भाग्दै दुई-चार घर पर पुगेका उनले प्रहरीलाई लक्षित गर्दै २-४ राउण्ड गोली चलाएका थिए । त्यसपछि जवाफी कारबाही गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीको गोली लागेर लडेका उनलाई अस्पताल पुर्याएको केहिक्षणमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
अन्दाजी २४ वर्षीय खत्रीका श्रीमती, बच्चा र आमा छन् । इन्काउन्टरमा मारिएका खत्री डीएसपी अवदेश विष्टका भान्जा हुन् ।
प्रहरीका अनुसार घटनास्थलबाट खत्रीले बोकेका दुईवटा अटोमेटिक पेस्तोल बरामद भएको छ ।
प्रहरीले खत्रीको घरमा छापा पनि मारेको छ ।
प्रतिक्रिया 4