३० साउन, दाङ । देशैभर हिन्दू धर्मावलम्वी समुदयले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । तराईका थारु समुदयले पनि यो पर्व धुमधामका साथ मनाउँछन् । कृष्ण जन्माष्टमी पर्व मनाउने थारुहरुको आफ्नै मौलिक चलन छ ।
थारुहरुले अष्टिम्की भन्ने यस पर्वको पहिलो दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मुली तर्थात मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाउँछन् । चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहिआएको छ ।
ब्रतालुहरु त्यसै दिन साँझ नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ-आˆनो घरमा टपरीमा तयार गरिएको पूजा सामाग्री र त्यसको माथि राखिएको माटाको पालामा दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन ।
झिसमिसे रातमा पूजा सामाग्रीसहितको बलेको दियो भएको टपरी हातमा लिएर एकै किसिमको थारु ड्रेस लगायका युवतीहरु मतहवाको घरमा जादै गरेको दृश्य सच्चिकै मनमोहक देखिन्छ ।
मतहवाकोे घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा गरिन्छ । यही अष्टिम्की पर्वदेखि थारु समुदायको हार्या गुरइ सुरुहुने गर्छ । बैशाख जेठमा ढुर्या गुरई मनायर बन्द गरिएको नाचगान र मादल यसै पर्बदेखि खुल्ने गर्दछ ।
यो पर्बमा ब्रत बसेर पूजाआजा गर्दा मनोकामना पुराहुने जनविश्वास छ । यो दिनमा पूजाआजापछि पनि अन्न नखाइ फलफुल मात्र खाएर सुतिन्छ ।
भोलिपल्ट अष्टिम्कीको दोस्रो दिन बिहानै उठेर अघिल्लो दिन पूजा गरिको महतवाको घरमा जम्मा भइ पूजा गरिएका पूजा सामाग्री लिएर खोला नदीमा सेलाउनुपर्छ । पूजा सामाग्री खोलामा सेलाएपछि ब्रतालुहरुको ब्रत सकिन्छ र आ-आफ्नो घर जाने परम्परा छ ।
यसै दिन आ-आफ्ना विवाहित चेलीहरुलाई उपहार पठाइदिने चलन छ, जसलाई अग्रासन भनिन्छ ।
प्रतिक्रिया 4