+
+

आँखामा आँखा मिलाउँदा शालिकले भनेजस्तो लाग्छ, ‘आमा …!’

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ भदौ १५ गते १८:४४

१५ भदौ, काठमाडौं । बिहान पाँच बजे नै छर्लंग उज्यालो भइसक्नु पर्थ्यो । १९ असार ०६१ मा भने आकाश खुलेको थिएन । राधिका खड्का छोरो रमेशलाई शुभ साइतका लागि टीका लगाइदिँदै थिइन् । उनी हिँड्ने तरखरमा थिए । राधिकाले मन गह्रौं बनाउँदै भनेकी थिइन्, ‘आफ्नो ख्याल राख्नु है बाबु, छिट्टै घर र्फकनू ।’

तर, त्यो छिटो कहिल्यै फर्केन । रमेश सधैंका लागि उनीहरुलाई छाडेर गए, विदेशी भुमिमै ।

उनले घरबाट निस्किँदै गर्दा भनेका थिए, ‘म डेढ/दुई वर्षमै फर्कन्छु अनि ठूलो घर बनाएर बस्नु पर्छ, मेरो चिन्ता नलिनु है ।’ उनी फर्किन पाएनन्, विभत्स हत्याको खबर मात्र आयो ।

छोरो बिदेसियोस् भनेर कुन बाबुआमाले सोच्न सक्छन् र । आमाको मन न हो, छोरो सधैं आफ्नै अगाडि रहोस् र सधैं देख्न पाइयोस् । त्यही चाहना थियो, राधिकाको पनि ।

उनका साइँला छोरा रमेशले कक्षा ९ सम्म पढेका थिए । आर्थिक अवस्था कमजोर हुँदा त्यसभन्दा पढाउन सकेनन् । ‘आमा मेरो चिन्ता नगर्नु है’ घरी-घरी उनको अन्तिम भनाइ कानमा ठोक्किँदा विचलित हुन्छ, राधिकाको मन ।

रमेशका बारेमा केही सोध्यो भने उनका शब्दहरु घाँटीसम्म आउँछन् तर निस्किँदैनन् । किनकि, शब्दभन्दा पहिले आँखाबाट बलिन्द्रधारा झर्न थाल्छन् ।

आँशु पुछ्दै राधिका भन्छिन्, ‘आमा मैले जति पढें, त्यति भए मेरो जीवन चल्छ । अब मलाई कसैले झुक्याउन सक्दैन भनेर कर गरेर गएको थियो विदेश ।’

तर, दलालबाट झुक्किएको रमेशले पत्तै पाएका थिएनन् ।

०००

१९ असारमै जोर्डन उड्न रमेश घरबाट निस्किएका थिए । तर, त्यस दिन उड्न पाएनन् ।

‘भगवान निदाएका बेला ऊ निस्केको रहेछ,’ बाबु जीतबहादुर यसै भन्दै बर्बराउँछन्, ‘अशुभ नेपालबाटै सुरु भएको थियो, उड्नु पर्ने दिनमा उडेको थिएन ।’

घरबाट निस्किँदै गर्दा उनले बाबुलाई विदेश उड्दा लागेको ऋण छिट्टै तिरिसक्ने बताएका थिए । तर, न पैसा पठाउन पाए, न त आफैं फर्किए ।

०००

घरबाट निस्केको सातौं दिनमै उनी अपहरणमा परेको खबर फैलियो । अपरिचित सञ्चारकर्मीले त्यसबारे घरसम्म खबर पुर्‍याएका थिए ।

जितबहादुर भन्छन्, ‘घरमा खाना खाएर बसेका थियौं । बाहिर गाडीको हर्न बज्यो । कोही चिनेको मानिस हो कि भनेर बाहिर निस्किएँ, छोराको अपहरणको खबर लिएर आएका पत्रकार रहेछन् ।’

यस्तो होला भनेर जितबहादुरले कल्पना पनि गरेका थिएनन् । भन्छन्, ‘गाउँमा सबैका छोराहरु विदेश गएर कमाएर फर्केका थिए, त्यसैले मैले त्यस्तो होला भनेर कल्पना पनि गरेको थिएन तर मेरै भागमा त्यस्तो पर्‍यो ।’

परिवारले आतंककारीको पञ्जाबाट रमेशलाई छुटाउन भरमग्दुर प्रयास गर्‍यो । पत्रकार सम्मेलन, र्‍याली र मन्त्रीहरुसँगको भेटघाट सकेसम्म गर्‍यो । रिहाईको माग गर्दै रमेशका माइला दाजु सुदर्शनले मुनलाइट म्यानपावरको ढोकामा ताला नै लगाइदिए । लगत्तै कार्यालय छाडेर हिँडेका मुनलाइटका सञ्चालक प्रल्हाद गिरी प्रहरीको अभिलेखमा अहिलेसम्म पनि फरार छन् ।

उनी फरार भएपछि हारगुहार गर्ने ठाउँ मात्रै बाँकी रह्यो, सरकार । तत्कालीन श्रममन्त्री रघुजी पन्त समक्ष उनीहरुले सकेसम्म सहयोग गर्न माग गरे । उनले सहयोगको बाचा पनि दिए । तर, कसैको केही सीप लागेन ।

हारगुहार गरिरहेको खड्का परिवारको घरमा १५ भदौ मध्यान्ह १२ बजे फोनको घण्टी बज्यो । फोन अस्ट्रेलियाबाट पत्रकार नारायण श्रेष्ठले गरेका थिए । उनको हत्या भइसकेको तर सञ्चार माध्यममा नआएको श्रेष्ठले सुनाए । यो खबरले सुदर्शन जमिनमा ढलौंलाजस्तै भए । त्यसको केही घण्टापछि सञ्चार माध्यममा रमेशसहित १२ जना नेपालीको हत्या भएको खबर सार्वजनिक भयो ।


०००

दलालको बदमासीका कारण जोर्डन भनेर लगिएका रमेश इराक पुर्‍याइएका थिए । इराकमा रहेका अमेरीकी सेनालाई खाना पकाउनका लागि क्याम्पतर्फ जाँदै गर्दा उनीसहित १२ जना चढेको गाडीलाई आतंककारी समूहले नियन्त्रणमा लियो । ११ दिनसम्म यातना दिएर निर्ममतापूर्वक हत्या गरे ।

सुदर्शन भन्छन्, ‘हामीले पैसा दिएर छुटाउन सक्ने अवस्था थिएन किनकि पुरै देश बेचेको भए पनि छुटाउन सक्ने पैसा जुट्ने रहेनछ ।’ सरकारले रकम दिएर छुटाउन नखोजेकामा उनीहरुको गुनासो केही छैन ।

बीचमै पढाइ छाडेर थानकोटको रेस्टुराँमा काम गर्न गएका रमेशलाई उनकै साहुले एजेन्ट रमेश श्रेष्ठसम्म पुर्‍याएका थिए । एजेन्टले रमेशलाई मुनलाइटबाट जोर्डन जाने भनेर उडाए ।

डेढ लाख खर्चेर उनी काठमाडौंबाट जोर्डनका लागि उडेका थिए । तर, दलालले इराक पुर्‍याइदिए । सुदर्शन भन्छन्, ‘खसीबोका बेचेझैं धेरै दिन थुनेर राखेर इराक पुर्‍याइएको खबर हामीले पाएका छौं ।’

जोर्डन पठाइएका १२ नेपालीलाई केबीआर एन्ड दाउद पार्टनर कम्पनीले इराकमा रहेका अमेरीकी सेनाको क्याम्पमा लाने क्रममा अपहरणमा परेका थिए ।

०००

उनको परिवारले न्याय खोज्न थालेको १३ वर्ष बिते पनि अझै पाएको छैन । फरार प्रल्हाद गिरी र केबीआर एन्ड दाउद पार्टनरलाई कारवाही हुनुपर्ने परिवारको माग छ ।

जीतबहादुर भन्छन्, ‘हामीले त छोरा गुमायौं तर अरु नेपालीले पनि हाम्रो जस्तै पीडा भोग्न नपरोस् भनेर दोषीलाई कारवाहीको माग गरेका हौं ।’

गत चार जुलार्इमा उनीहरुले लसएन्जलसको अदालतमा मुद्दा हारेका छन् । अमेरिकी वकिलले नै उनीहरुको मुद्दा निःशुल्क हेर्दै आएका छन् । वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले यसको चाँजोपाजो मिलाएका हुन् । एकपटक मुद्दा हारेपछि फेरि पुनरावेदन गर्ने कि नगर्ने अन्योलमा छ, खड्का परिवार । जीतबहादुर भन्छन्, ‘गणेश सरसँग छलफल गर्दैछौं ।’

०००

टीकाभैरव बजार कटेपछि २/३ मिनट पैदलमा खड्का परिवारको घरमा पुगिन्छ । घरै अगाडि रमेशको शालिक बनाइएको थियो । दैनन्दिन पूजा गर्ने भगवानका मूर्तिहरु पनि उनकै शालिकनजिक छन् ।

रमेशको शालिकका अगाडि भगवानका मूर्तिहरु ज्यादै साना छन् । यस्तो लाग्छ, परिवारलाई देवीदेवताभन्दा नृशंस हत्या गरिएका रमेशप्रति नै विश्वास छ ।

रमेशका दौंतरीहरु बिहेबारी गरी घरजम गरेर बस्न थालेका थिए । उनकी आमालाई पनि साइँलो छोराका नाति-नातिना खेलाउने मन थियो । उनको रहर कहिल्यै पुरा नहुने गरी रमेश अस्ताए । आँगन अगाडि ठडिएको रमेशको शालिक बोल्दैन । तर, एकटकले शालिकका आँखामा आँखा मिलाउँदै राधिका बलिन्द्र धारा खसाल्छिन् । उनको मनमा छोराले ‘आमा’ भनेझैं लाग्छ ।

उनी घरबाट निस्केको, अपहरणमा परेको र आतंककारीले हत्या गरेको सबै समय कण्ठस्थ छ, राधिकालाई । अवरुद्ध गलाबीच उनको स्वर निस्किन्छ, ‘१९ गते हिँडेको साइँलोको एक सातापछि अपहरण परेको खबर आयो ।’ थप बोल्न खोज्दै गर्दा उनका शब्दहरु अड्किए र आँखा रसाउन थाले…।

यो पनि पढ्नुहोस् 

इराक घटनाः त्राशदीपूर्ण त्यो कालो दिन

कुरा हुन नपाएको त्यो अन्तिम फोन

किन आउँछ याद तिम्रो…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?