६ कात्तिक, काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त युवराज भुसाल २६ जेठ ०३७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
गुल्मी बाँझकटेरी जन्म घर भएका भुसाल हाल काठमाडौं कुलेश्वर आवास क्षेत्रमा बस्दै आएका छन् ।
उनको सुरुको नियुक्ति गृह मन्त्रालयअन्तर्गत विशेष प्रहरी विभागमा थियो । त्यसपछि ९ मंसिर ०४३ मा सहायक सचिव बनेका उनी २६ पुस ०५१ मा उपसचिव बने । २५ कात्तिक ०५४ मा सहसचिवमा बढुवा भए । १९ साउन ०६६ मा सचिव बढुवा भए । र, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा परे ।
पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै २७ चैत ०७० मा उनी अर्थसचिव बने । विशिष्ट श्रेणीमा पाँच वर्ष बिताएर ९ साउन ०७१ मा अर्थ मन्त्रालयबाटै सेवानिवृत्त भए ।
निजामती किताब खानाको रेकर्डअनुसार उनले निजामती सेवामा ३४ वर्ष एक महिना १७ दिन बिताए । मानविकी सेवामा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका भुसाल अर्थ प्रशासनमा बढी दख्खल राख्छन् ।
सेवानिवृत्त भएपछि उनले स्टाफ कलेज जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गरे । केही महिनाअघि मात्र उनले पदबाट राजीनामा दिएका थिए ।
भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।
प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवालीलाई सरकारले हटाएपछि पनि भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ बन्ने दौडमा थिए । तर, कांग्रेस-माओवादी गठवन्धनको सरकारले डा. गोविन्द पोखरेललाई नियुक्ति दिएको थियो ।
प्रतिक्रिया 4