
१७ मंसिर, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ ट्वीस्ट आएको छ ।
गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको छ ।
बस्नेत केही वर्षयता नेपाल र नेपाल बाहिर रहेर व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए ।
सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ ।
तर, घैंटेे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिए ।
प्रहरीका अनुसार घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गरे । र, रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गरे । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद भयो ।
प्रहरीका अनुसार समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ ।
नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।
०७३ साल पुस ४ गते रुपन्देहीका युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्या र २९ चैतमा गुण्डा दावा लामाको हत्या प्रयासको समेत बस्नेत नै योजनाकार भएको सीआइबीले जनाएको छ ।
व्यवसायी गौचन हत्याकाण्डमा संलग्न ७ जना अझै फरार छन् । फरार रहेकाहरुमा बस्नेतका मुख्य सहयोगी मनोज पुन, सहयोगीहरु लोप्साङ लामा, गंगा प्रकाश लिङ्देन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा छन् ।
यसअघि घटनामा संलग्न ७ जना पक्राउ परिसकेका छन् ।
को हुन् समीरमान ?
काठमाडौं वाफलका गुण्डा समीरमान सींह बस्नेत ०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा कुमार घैंटेको समूहमा संलग्न थिए ।
उनको मृत्युपछि बस्नेत आफू पनि इन्काउन्टरमा पर्ने डरले प्रहरीबाट भागिरहेका थिए ।
कहिले नेपालका विभिन्न ठाउँ त कहिले भारतमा बस्दै आएका थिए, उनी ।
कुनै समय उनी कलंकी, बाफल र कालिमाटी क्षेत्रका सामान्य गुन्डा थिए । तर, दिनेश अधिकारी (चरी) र कुमार घैंटेबीचको सम्बन्धनमा दरार आएपछि दुवैले छुट्टाछुट्टै ग्याङ बनाउने क्रममा बस्नेत घैंटेसँग नजिक भए ।
त्यसयता घैंटेको समूहमा रहेर उनले आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।
उनी व्यवसायीबाट चन्दा सङ्कलन गर्ने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न हुँदै आएका थिए ।
प्रहरी परिसर काठमाडौंले बस्नेतलाई ‘ए’ ग्रेण्डको गुण्डामा राखेको छ ।
प्रतिक्रिया 4