म ४८ वर्षे स्वस्थ पुरुष हुँ । पाँच वर्षअघि मेरी श्रीमतीले मलाई केही नभनी अरु कसैसँग विवाह गरिन् । केही वर्षसम्म उनलाई सम्झेर मेरो जीवन बित्यो । पहिले अरु महिलाप्रति मेरो उति राम्रो दृष्टिकोण थिएन । तर, विस्तारै पुरुषको जीवनमा महिलाको अभाव खट्किँदै गयो । र, मैले पुनः वैवाहिक जीवन शुरु गर्ने निधो गरेँ । एउटी ३९ वर्षीय अविवाहित महिलासँग विवाह गरेँ ।
मैले दोस्रो बिहे गर्नुको कारण सामाजिक, शारीरिक र भावनात्मक सुरक्षा थियो । तर, दाम्पत्य जीवनका क्रममा म दोस्री श्रीमतीबाट शारीरिक रुपमा सन्तुष्ट हुन सकिनँ । उनलाई पनि सन्तुष्टि दिन नसकेको महशुस भएको छ, जसको प्रत्यक्ष असर हाम्रो सम्बन्धमा परेको छ ।
आजभोलि हाम्रो दैनिकजस्तो मनमुटाव भइरहन्छ । के यस्तो समस्या उमेरका कारणले आउँछ ? पहिली श्रीमतीलाई भुल्न नसकेकाले यस्तो भएको हो भन्ने आरोप दोस्रीको छ । वास्तवमा मलाई भएको के हो र यसको समाधान के छ ?
हर्मोनहरुमा आएको परिवर्तन, जिम्मेवारीहरुको बोझ, पश्चातापको मनोविज्ञान, मानसिक अन्तरद्वन्द्व, जीवनशैलीजस्ता थुप्रै कारणले मानिसको यौन सन्तुष्टिलाई प्रभाव पारेको हुन्छ । यी प्रायः सबै पक्ष मनोविज्ञानसँग सम्बन्धित हुन् र यिनको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ ।
यौन इच्छामा उतरचढाव आइरहन्छ । केही कामुक मानिसमा हुने यौन उत्तेजनालाई छाडेर आम मानिसको कुरा गर्ने हो भने यौन इच्छामा उतरचढाव भइरहन्छ । दोस्रो विवाहपछि यौन सन्तुष्टिमा कमी आउनुको एउटा मुख्य कारण मानसिक अन्तरद्वन्द्व हो । दोस्रो विवाह त गर्नुभयो तर पहिली श्रीमती र छोराछोरीसँग आफ्नो निःस्वार्थ सम्बन्ध भएन कि, ग्लानी या हीनताबोध पनि तपाईंलाई भएको हुनसक्छ ।
कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरेँ कि भन्ने मनमा परिरहेको हुनसक्छ । कतिपय अवस्थामा दोस्रो विवाह गर्नु कतै गल्ती पो हो कि भन्ने आभास भइरहन्छ । हेर्दा सामान्य लागे पनि विभिन्न सोचाइ मनमा खेल्ने गर्छन् ।
यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्नसक्छ, पहिली श्रीमतीको फोटो भित्तामा राख्ने कि नराख्ने ? पहिली श्रीमतीले दिएको औंठी फुकालेर नयाँ श्रीमतीले दिएको औंठी लगाउने कि नलगाउने ? यही मानसिक अन्तर्द्वन्द्वको प्रतिकूल असरका कारण तपाईंको यौन सन्तुष्टिमा समस्या भएको हुनसक्छ ।
छोराछोरी र पैसाकै कारण अधिकांश मानिसको दोस्रो विवाह खासै उत्साहजनक नभएको अनुसन्धानहरुबाट पत्ता लागेको छ । अतः तपाईंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी र आवश्यकतामा सुधार ल्याउनुपर्छ ।
दोस्रो विवाह गरेका अधिकांश पुरुष पहिली र दोस्री श्रीमतीबीच तुलना गरिरहेका हुन्छन् । बोली, बानी, व्यवहार, प्रेम, स्नेह, यौन सम्बन्धका दृष्टिले दुईमध्ये को उत्तम भन्ने हिसाबले तुलना गदर्ैै जाँदा कहिलेकाहीं ‘दोस्री श्रीमतीको भन्दा बरु पहिलेकै श्रीमतीको व्यवहार उत्तम थियो, नयाँ श्रीमतीको व्यवहार त झन् नराम्रो रहेछ’ भन्ने भाव पनि जाग्नसक्छ । र, यसले पनि समस्या ल्याउनसक्छ ।
अतः तपाईंले के भुल्नु हुँदैन भने यो संसारमा हरेक मानिस फरक-फरक विशेषता बोकेर जन्मिएका हुन्छन् । त्यसैगरी हरेक व्यक्तिसँगको यौन सम्बन्धलाई पनि फरक किसिमले रमाइलो बनाउन सकिन्छ ।
यौन उदासिनताको अर्को कारण हर्मोनहरुमा आएको परिवर्तन हो । उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हर्मोनमा परिवर्तन हुनु स्वाभाविकै हो । महिलामा आउने परिवर्तनमा विशेष गरेर ‘मिनोपज’ अर्थात् महिनावारी रोकिनुअघि महिलाको योनीका तन्तुहरु पातला र सुख्खा हुन्छन् । चिल्लो पदार्थ निस्किन कम हुनसक्छ । पहिले यौन सम्पर्कमा आनन्द महशुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द महशुस नगर्न सक्छन् ।
पुरुषमा पनि हर्मोन परिवर्तन हुन्छ । टेस्टोस्टेरोन हर्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्छ । पुरुष २० देखि ३० वर्षको हँुदा यौन इच्छा तीव्र हुन्छ भने त्यसपछि कम हुँदै जान्छ । २० देखि ६० वर्ष उमेरका १४ सय आठ ८ जना स्वस्थ पुरुषमा गरिएको प|mान्सेली अनुसन्धानअनुसार २५ प्रतिशतमा ४० वर्षउता टेस्टोस्टेरोन हर्मोनको कमी हुँदै गएको र त्यसले यौनजीवनमा असर गरेको पाइयो ।
युयोर्क सिटीको मेडिसिन अफ माउनसिनाइ स्कुलको मानव यौनिकता कार्यक्रमअन्तर्गत् राहुल सी सिचाभिले ४५ देखि ७४ वर्षका ७७ जना स्वस्थ पुरुषमा गरेको अध्ययनले यौन इच्छा र क्रियाकलापमा टेस्टोस्टेरोन हर्मोनको कमीले असर पारे पनि यौन आनन्दमा कुनै असर नहुने बताएको छ । तर, यी परिवर्तनले कुनै पनि व्यक्तिको पूर्ण यौनजीवनमा बाधा पुर्याउँदैन ।
यौन सम्पर्क र उमेरको केही सम्वन्ध त पक्कै पनि छ । तर, मानिसले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । बूढ्यौली या दोस्रो विवाहपछि यौन सम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिन सकिन्छ । मानिसले हरेक निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? त्यो मुख्य कुरा हो ।
मैले भन्ने गरेकी छु, सेक्स मात्र महत्वपूर्ण होइन । यससँग जोडिएका धेरै पक्ष छन् । टचिङ, किसिङ, सेन्सिङ, मायामोह, भावना साटासाट आदि पनि सेक्सका अभिन्न पक्ष हुन् । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि त हुन्छ ।
उमेर बढ्दै जानु सामान्य हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुनसक्छ । उमेरलाई अगाडि जान दिइरहनोस् र यौनजीवनलाई आनन्दित बनाउनोस् । लाइट मुडमा रहिरहनोस् । एकअर्कालाई अझ बढी माया गरिरहनोस् ।
हिँडडुलबाट शारीरिक र मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राखिरहनोस् । नयाँ सोच विचारहरु ल्याउनोस् र आपसमा छलफल गर्नोस् । सेक्सका कुरा गर्नोस्, रमाइलो कल्पना गर्नोस् । पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा जानोस् ।
धेरै लजालु नबन्नोस् र इमानदार बन्नोस् । यौनजीवन फलदायी बनाइरहने उपयुक्त टिप्स यिनै हुन् । तपाईंले जीवन साथीसँग आफ्ना आशा, सपना, यौनजीवन र आर्थिक पक्षमा छलफल गर्नुभयो भने दुई जना मिलेर आफ्नो जीवन उत्कृष्ट बनाउन सक्नुहुन्छ ।
डा. टेसिनाका अनुसार यौनजीवनलाई प्राथमिकता दिनु दाम्पत्यको महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुनसक्छन् । यौन नै यस्तो क्रियाकलाप हुनसक्छ, जसले एक अर्कालाई बुझ्न, आपसी संवेदना महशुस गर्न र सम्बन्धलाई मजबुत बनाउन सघाउँछ ।
उमेर ढल्कँदै गएपछि पनि यौन आनन्द लिन सकिन्छ । यसैबेला यौनसाथीसँगको निकटता सबैभन्दा महत्वपूर्ण हुन्छ । सकारात्मक सोचका साथ काम गर्ने बानी बसाल्नोस् । मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त राख्नोस् । चिन्ता नलिनोस् । बूढ्यौली र नयाँ विवाहसँगै आफूलाई अनुकूल बनाउँदै लैजानोस् । यसो भयो भने यौन आनन्दमा कुनै कमी नहुने अध्ययनहरुले देखाएका छन् ।
हो, बुढेसकालमा तन्नेरीकै जस्तो रोमाञ्च र आनन्द कहाँ पाइएला र ? ४८ वर्षको उमेरमा २२ वर्षको जस्तो आनन्द त सम्भव छैन । यस्तो अपेक्षाबाट टाढा रहनु नै उत्तम हो । तर, मानसिक, शारीरिक र भावनात्मक पक्षमा सन्तुलन ल्याउनुभयो भने बुढेसकालको यौनजीवन पनि आनन्ददायक बनाउनचाहीं पक्कै सकिन्छ ।
(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई sanibar@onlinekhabar.com मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)
प्रतिक्रिया 4