+

रेबिजबारे बुझ्नैपर्ने कुरा, के भ्रम, के सत्य ?

२०७४ माघ  १७ गते १४:५४ २०७४ माघ १७ गते १४:५४
रेबिजबारे बुझ्नैपर्ने कुरा, के भ्रम, के सत्य ?

हामीकहाँ जताजतै छ्यापछ्याप्ती सडक कुकुर छन् । जतिसुकै सर्तकता अपनाए पनि कुकुरले कुनैपनि बेला टोक्न सक्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र बर्षेनी दुई दर्जनको बढी व्यक्ति जनावरको टोकाईले गर्दा रेबिज लागेर मर्ने गर्दछन् । देशभरको अवस्था हेर्ने हो भने, यो आंकडा निकै कहालिलाग्दो हुनसक्छ । रेबिजको कारण बर्षेनी सैयौंको ज्यान जाने अनुमान गरिएको छ ।

रेबिज लागेपछि मानिसको मृत्यु हुने लगभग निश्चित छ । त्यसैले जनावरले टोकेमा घाइते मानिसहरु रेबिज रोग बारे परामर्श लिन दैनिक जस्तो यस अस्पतालमा आउने गरेका छन् । तर, काठमाडौँ उपत्यका भित्रकै दुर्गम ठाउँहरु र काठमाडौँ बाहिरका जिल्लाहरुमा जनावरले टोकेमा के गर्ने भन्ने अन्यौल देखिन्छ ।

गाउँघर तिर अहिलेपनि रेबिज बिरुद्धको खोप लगाउन आनाकानी गर्ने, बेवास्ता वा ध्यान नदिदा रेबिज लागेर मर्नेहरुको संख्या बर्षेनी बढ्दो क्रममा रहेको अनुभब हामीसँग छ । यी निम्न कुराहरु जनावरको टोकाई पछि बढी सोधिने भ्रम तथा यथार्तताहरु हुन् ।

१) रेबिज रोगीलाई छोएमा, खान दिएमा, चलाएमा वा सो रबिज लागेको व्यक्तिको मलामी गएमा के गर्ने ?

उत्तर: खोप लिनु पर्दैन तर बिरामीको र्‍याल आँखा, शरीरका घाउँमा, वा मुखमा परेमा भने लिनु पर्छ ।

२) शंकास्पद रेबिज लागेको जनावरको मुखमा हात हाली (जस्तै गाई, भैसी, बाख्रा, पालुवा कुकुर आदि) औषधि खुवाउदा के गर्ने ?

उत्तर : कृषकहरु खासगरी खेतीपाती, घाँस दाउरा गर्ने र हातमा सानोतिनो चोटहरु हुनसक्ने भएकोले खोप लिने ।

३) रेबिज लागेको जनावर (जस्तै बाख्रा, भैसी, राँगा) को मासु थाहा नपाएर खाए खोप लिनु पर्छ ?

उत्तर : मासु पकाएर खाने भएकोले खोप लिनु पर्दैन ।

४) रेबिज रोग लागेको गाई वा भैसीको दुध थाहा नपाएर खाइयो भने रेबिज बिरुद्धको खोप लगाउनु पर्छ ?

उत्तर : हालसम्म रेबिज रोग लागेको जनावरको दुध खाएर रेबिज रोग लागेको प्रमाण छैन र बिश्व स्वस्थ संगठनका अनुसार पनि त्यस्तो स्थितिमा खोप लिनु नपर्ने भनेर निर्देशिकामा भनिएको छ ।

५) रेबिज लागेको रोगीको जुठो खाएमा के गर्ने ?

उत्तर : लक्षण देखिनु पुर्ब जुठो खाएमा खोप लिनु पर्दैन । किनभने रेबिज भाइरस लक्षणहरु देखा परेपछि मात्र सो बिरामीको र्‍यालमा देखापर्न थाल्छ । रगत, दिसा, पिसाबबाट रेबिज भाइरस सर्दैन ।

६) जनावरले टोकेर खोप लिईरहेको तर यसै बीच आफ्नो जुठो परिवारका अरु सदस्यहरुले खाए । त्यस्तै श्रीमान र श्रीमती बीच पनि यौन सम्पर्क भयो । उनीहरुले पनि खोप लिनु पर्छ ?

उत्तर- पर्दैन ।

७) कुकुरले टोकेको घाउ सानो छ । अरुले खोप लगाउनु पर्दैन भन्छ । के हो सत्य ?

उत्तर : घाउ सानो होस् वा ठुलो रेबिज बिरुद्धको खोप लगाउनु पर्दछ ।

८) कुकुरको सानो छाउराले टोकेको छ । कुकुर सानो भएकोले मलाई खोप लगाउनु पर्दैन जस्तो लाग्छ । के गर्ने ?

उत्तरः कुकुर सानो होस् वा ठुलो त्यसको पृष्ठभुमि थाहा छैन भने खोप लगाउनु पर्छ । हाम्रो अनुभवमा धेरै मानिसहरुले बाटोमा भेटिएका साना छाउराहरुले टोकेपछि खोप नलगाउँदा रेबिज लागेको प्रशस्त उदाहरणहरु छन् ।

९) के टिटानसको खोपले रेबिज रोगबाट बचाउँछ ?

उत्तर : आजभोली धेरै मानिसहरु टिटानसको खोप लगाएपछि बढी ढुक्क भएको देखिन्छ र कति त यही खोप लगाएपछि रेबिज खोप लगाउन समेत नआहेको देखिन्छ । नतिजा, रेबिज लागेको जनावरले टोकेको रहेछ भने रेबिजको कारणले उनीहरुको मृत्यु समेत भएको हामीसँग अनुभवहरु छन् । तसर्थ रेबिज खोप अनिवार्य हुन्छ ।

१०) थाहै नपाई बाहिरको कुकुरले जुठो हालेको खानेकुरा खाइयो । मलाई रेबिज सर्छ भनेर डर लागेको छ।मैले रेबिजको खोप लिनु पर्ला ?

उत्तरः आवश्यक छैन।

११) एउटा मात्र लगाउने सुइ पनि हुन्छ भनिन्छ, के यो सत्य हो ?

उत्तर : सत्य होइन । हालसम्म त्यस्तो खोप उपलब्ध छैन ।

१२) कुकुरले टोकेको ३ दिन भित्र खोप लगाउनु पर्छ भनेको सुनेको थिएँ, के यो साचो हो ?

उत्तर : होइन, कुकुरले टोकेपछि जतिसक्दो चाडो सुइ लगाउने व्यवस्था गर्नु पर्छ ।

१३) घाउँमै लगाउने सुइ पनि हुन्छ रे नि ? यो किन र कति समय भित्र दिइन्छ ?

उत्तर : घाँटी भन्दा माथि, हातका औलाहरुमा र शरीरमा धेरै र गहिरो घाउहरु भएमा ईमुनोगलोबुलिन भन्ने रबिज बिरुद्धको खोप दिनुपर्छ। यो त्यहि घाउहरुको वरिपरी र तत्काल दिनुपर्छ । यसले आलो घाउमा रेबिजका भाइरसहरु भए तुरुन्त मार्ने काम गर्छ । यो संगै अरु नियमित खोपहरु पनि पुरा गर्नु पर्छ ।

१४) बादँर वा मुसाले टोकेमा के गर्ने ?

उत्तर: नेपाल सरकारको निर्देशिका अनुसार मठ मन्दिर तिरका बादरले टोकेमा खोप लगाउनु पर्दैन तर त्यहि समयमा अरु धेरै मानिसहरुलाई पनि टोकेमा भने खोप लगाउनु पर्छ । त्यस्तै घरमा मुसाले टोकेमा पनि रेबिजको खोप लगाउनु पर्दैन ।

कुनै पनि जंगली जनावरले टोकेमा पनि रेबिज बिरुद्धको खोप जतिसक्दो चाडो लिनु पर्छ ।

नेपालमा सबैभन्दा बढी झन्डै ९२५ को हाराहारीमा कुकुरको टोकाईको कारणले सुइ लगाउन आउने र रेबिज कुकुरकै टोकाईको कारणले बढी रेबिज लाग्ने गरेको तथ्यांक भएकोले यी माथि प्रश्न उत्तरमा पनि कुकुर भनेर उल्लेख गरिएको हो यधपी यो कुनै पनि जनावरको हक लागु हुन्छ ।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्छ)

लेखक
डा. शेरबहादुर पुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय