म २९ वर्षीया विवाहित युवती हुँ । हाम्रो विवाह भएको ६ महिना भयो । विवाहअघि हामी दुई वर्ष यौन सम्बन्धमा थियौं । विवाहपछि पनि हाम्रो सम्बन्ध पहिलेजस्तै छ । तर, मलाई उनले धोका दिने हुन् कि भन्ने डर लागिरहन्छ । यसको कारण के भने मसँग सम्बन्ध हुनुअघि उनको एउटी युवतीसँग लामो समयसम्म प्रेम र यौनसम्बन्ध थियो । मलाई भेटेपछि उनले सजिलै ती युवतीलाई त्याग गरेको मैले महसुस गरेको छु । मलाई लाग्छ, मभन्दा उत्तम कुनै युवती फेला परिन् भने उनले मलाई पनि छाड्न सक्छन् ।
करुणा दिदी, के एकपटक कसैलाई धोका दिइसकेको मान्छेले पटक-पटक धोका दिन सक्छ ? मैले यस्तो कुरा गर्दा उनी रिसाउँछन् र मेरो ओछ्यान पनि छाडिदिन्छन् । यसले अझै मेरो शंकालाई बढाउन मद्दत गर्छ । के गर्ने होला ?
जवाफ
‘एकपटक धोका दिएको मानिसले पटक पटक धोका दिन्छ’ भन्ने कुरा सुनिरहनुभएको हुनसक्छ । धेरै मानिसलाई यस्तो लाग्छ । तर, यो सार्वभौम नियम होइन । खासमा कोही पनि मानिस आफू गलत हुन चाहँदैन ।
तपाईंहरुले भर्खरै विवाह गर्नुभएको छ, त्यो पनि दुई वर्षको सम्बन्धपश्चात । त्यसको अर्थ हो, तपाईंहरुले एक अर्कालाई बुझेरै विवाह गर्नुभएको हो । त्यसो नभए पनि तपाईंले असाध्यै मनपराउनु भएको छ भन्ने कुरा तपाईंको प्रश्नले पनि बताउँछ ।
यदि यसो हो भने, अब तपाइले आफ्ना श्रीमानसँग सम्बन्ध बढाउन विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । विश्वासको कमीले कतिपय दम्पतीले छुट्टीनुपर्ने अवस्था आउँछ । यसका लागि प्रेमपूर्ण तथा यौनको उचित वातावरण र परिवेश आवश्यक पर्छ । यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ । आपसमा माया र भावना साटासाट गर्ने अवसर उपलब्ध हुनुपर्छ । अर्थात सबै किसिमको बैधानिकता हुनुपर्छ । यसको अभावमा मानिसमा केही न केही त्रास, डर वा शंका उपशंका हुन्छन् । यसबाट एकअर्काको भावना वुझ्न कठिन भएको र दुवैले यौन सम्पर्कबाट पूर्ण आनन्द नपाएको हुनसक्छ ।
तपाईको प्रश्नबाट तपाई र तपाईका श्रीमानबीच अहिले कुनै अप्ठयारो नभएको बुझिन्छ । त्यसैले आपसमा कुराकानी गर्नुहोस् । आफ्ना चाहना अभिब्यक्त गर्ने तौर तरिका बदल्नुहोस् । आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरेमा तपाईंको समस्याले त्यति ठूलो रुप लेला भन्ने लाग्दैन ।

आफ्नो श्रीमानसँग सम्बन्ध राम्रो छँदाछदै भविश्यमा केही नराम्रो हुन्छ कि भनेर सोच्ने र मनमा अविश्वास राखी सम्वन्ध अगाडि बढाउन खोज्ने हो भने समस्या आउनसक्छ । तपाईको शंकाले पार्टनरलाई कुनै दबाब दिएको महसुस गर्नु हुदैन । आफूलाई यौन ईच्छा नहुदा ‘ईच्छा नभएको’ कुरा व्यक्त गर्ने अधिकार एकले अर्कालाई दिनुहोस् । यौन सम्पर्कपछि एक अर्काप्रति सम्मान हुनुपर्छ । यौनसम्पर्कपछि दुईमध्ये एकले सम्मान गिरेको महसुस गर्न थालेमा पनि सम्बन्ध दीगो हुँदैन । यसका लागि यौन सम्बन्धका विषयमा खुलेर कुरा गर्नुपर्दछ । यौन सम्पर्क अघि र पछि दुबै अवस्थामा यी कुरा आवश्यक छन् । त्यसबाहेक हरेक यौन सम्पर्क हुनुअघि अगाडि एक अर्काको शरीर र भावनालाई महसुस गर्नुपर्दछ ।
एकपटक धोका दिनेले फेरि पनि धोका दिन्छ अथवा एउटालाई धोका दिनेले अर्कोलाई पनि धोका दिन्छ भन्ने भनाइ आजभोलि धेरै सुन्नमा पाइन्छ । यसले मानिसप्रति अविश्वास गर्न सिकाएको छ । थुपै्र संकल्प र प्रणहरुको धागोमा उनिएको एउटा प्रगाढ सम्वन्ध चुडिनुमा धेरै कारण हुनसक्छन् । यो सम्बन्ध वाहिरबाट हेर्दा एकाएक चुँडिएको देखिन्छ तर यो परिवेश बन्नुका पछाडि धेरै कारण हुन्छन् ।
कोही पनि व्यक्ति एकपछि अर्को सम्वन्ध तोड्दै अघि बढ्न सक्दैन । उसले पनि सोच्छ, यो एउटा अन्तहीन श्रृंखला कहाँ पुगेर टुंगिएला ?
तैपनि आफ्नो मान्छेले धोका देला भन्ने पीरपर्नु स्वाभाविकै हो । यस्तो स्थितिबाट गुजि्रने तपाई एक्लो हुनुहुन्न । यस विषयमा सिक्काको अर्को पाटो पनि छ । एउटा धोखाले अर्कोलाई पछ्याइरहने हुँदैन ।
केही यस्ता असहज सम्वन्धहरु हुन्छन्, जसको परिपक्वता स्थापित भैनसकेको हुनसक्छ र धोखा हुनसक्छ । एउटा धोखाबाट अर्को बलियो सम्वन्धको गाँठो कसिन पनि सक्छ । विभिन्न समयमा भएका अध्ययन अनुसन्धानले के देखाएका छन् भने एकपटकको धोखाबाट मानिसले नयाँ पाठ सिक्दै जान्छ र उसले पुराना सम्बन्ध जस्तै नयाँ सम्वन्ध टुट्न नदिन विभिन्न उपाय अवलम्बन गर्छ । विकसित मुलुकमा एकपटक विवाह गरिसकेका महिला वा पुरुषहरु बढि उत्तरदायी भएको अध्ययनहरुले देखाएका छन् ।
एकपटक सम्बन्ध टुट्दैमा फेरि भविष्यको सम्बन्ध पनि त्यस्तै निरस र धोकापूर्ण हुन्छ भनेर भन्न सकिँदैन । वास्तवमा धोका व्यक्तित्वअनुसार फरक पर्न सक्छ ।
तपाईंलाई बताइहालौं, मानिसले किन धोका दियो भन्ने विषयमा पनि धेरै अध्ययन भएका छन् । ती अध्ययन अनुसार मानिस एउटा सम्बन्धसँग असन्तुष्ट भएपछि उसले धोका दिन्छ । जानेर धोका दिने मनसुवा उसको हुँदैन । उदाहरणका लागि दुईजनाविचको भावनात्मक, यौन चाहना वा व्यक्तित्व नमिलेको हुनसक्छ । बाल्यावस्थामा कसैले मायामा अभाव भोगेको वा कुनै धोकाको महशुस गरेको छ भने मायाको खोजी गर्ने क्रममा उसका धेरै पार्टनर हुन सक्दछन् ।
तर, अर्को सम्बन्ध भइसकेपछि फेरि त्यस्तै असन्तुष्टि या धोखा नहुन पनि सक्छ । एकपटक सम्बन्ध टुट्दैमा फेरि भविश्यको सम्बन्ध पनि त्यस्तै निरश धोखापूर्ण हुन्छ भनेर भन्न सकिँदैन । वास्तवमा धोखा भन्ने कुरा व्यक्तित्व अनुसार फरक पर्न सक्छ । कुनै व्यक्ति स्वअनुसासित छ, अरुको भावनालाई वुझ्नसक्छ र सचेत हुन्छ भने त्यस्ता व्यक्तिबाट धोका दिने सम्भावना निकै कम हुन्छ । यसैगरी जो व्यक्ति यसको ठीक विपरीत छ भने उसले धोका दिने सम्भावना बढी हुन्छ ।
यसै सन्दर्भमा अर्को एउटा अध्ययन पनि भएको छ । खासमा कतिपय मानिस आफ्ना चिन्ता र समस्याबाट भाग्न नयाँ व्यक्तिसँग सम्बन्ध विस्तार गर्छन् । कोही यस्ता चिन्ताबाट बच्न धुमपान, मध्यपानको साहारा लिन्छन् । त्यो व्यक्तिको धोका दिने मनसाय होइन, केवल आफ्नो समस्याको समाधान खोज्न उसले त्यसो गरिएको पाइएको छ ।
तपाईंले विवाह भएको छ, महिनामै यस विषयमा चिन्ता गरेर आफूलाई त समस्यामा फसाइरहनुभएको छ, नयाँ सम्बन्धलाई उत्साहपूर्ण बनाउन पनि चुकिरहनुभएको छ । यसले ढीलो चाँडो तपाईं समस्यामा पर्न सक्नुहुन्छ । आजैदेखि तपाईंले यस्ता कुराबाट मुक्त हुने सम्भावनाहरुको खोजी गर्नुपर्छ । त्यसका लागि श्रीमानसँग निशर्त प्रेमको डोरो बलियो बनाउनैपर्छ ।
(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई sanibar@onlinekhabar.com मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)
प्रतिक्रिया 4