+

यौनसम्बन्ध राख्न हतारिनु प्रेमको हत्या हो र ?

२०७४ चैत  १७ गते १०:४९ २०७४ चैत १७ गते १०:४९
यौनसम्बन्ध राख्न हतारिनु प्रेमको हत्या हो र ?

करुणा दिदी नमस्कार ।

मेरो नाम जे हो । यो नाम उनले मात्र बुझ्छिन् ।  म अहिले २० वर्षको छु ।  प्लस टु पढ्दाको कुरा हो । मेरै क्लासको एउटी साथीसँग पहिलो पटक डेट जाने क्रममा सहमतिमै शारीरिक सम्बन्ध भयो । उनी खुसी थिइन् । अहिले उनको अनुहारबाट खुसी र मस्ती गायब छ । यौन सम्पर्कपछि उनलाई केही पश्चात्ताप भएजस्तो मैले महसुस गरेको छु । मलाई उनको परिवर्तित व्यवहार देखेर दिक्क लाग्न थालेको छ । हामीले त्यो बेला सँगै जीवन बिताउने वाचा गरेका थियौं । अहिले भने उनी सकेसम्म मेरो नजिक पर्न नचाहेजस्तो लाग्छ । उनी खिन्न देखिन्छिन् र यौन सम्पर्कप्रति पनि पटक्कै उत्साहित देखिन्नन् ।

म उनीप्रति असाध्यै आकषिर्त छु । उनलाई नै जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मेरो प्रेममा शंका गरिरहेको हो कि जस्तो पनि लाग्छ । के गुणस्तरीय सम्बन्धका लागि छिटो यौन सम्पर्कमै पुगिहाल्नु नराम्रो नै हो त ? यो केटीको कुरै बुझ्न सकिन दिदी, प्लीज हेल्प मी ।

करुणा कुँवरको जवाफ

भाइ जे,

पहिलो डेटमै शारीरिक सम्बन्ध भएकामा उनलाई केही आत्मग्लानि भएको हो भन्ने तपाईंको प्रश्नले बताइरहेको छ । उनको व्यवहारले तपाईंले यसको संकेत पाएरै मलाई प्रश्न पठाउनु भएको हो । यसका लागि आभार व्यक्त गर्दछु । कुनै पनि समस्या आउने बित्तिकै समाधानको प्रयास गरिहाल्नुपर्छ । नत्र यो लम्बिदै गएर ब्रेकअप हुने सम्भावना बढ्छ  ।

साथीको व्यवहार परिवर्तन भएकाले तपाईंलाई छटपटी गराएको छ । हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । पहिलो डेटमै यौन सम्पर्क भइहालेकाले पनि छटपटाहट बढेको हुनसक्छ । सामान्यतया युवतीलाई भर्जिननेस तोडिएकामा केही पश्चाताप पनि हुनसक्छ । तपाईहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षहरूको भूमिका छ । तपाईहरू दुवैजना कलेज अध्ययन गर्ने युवा हुनुहुँदो रहेछ । यस्तो बेलामा विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक हो । अर्को कुरा पनि सही के हो भने तपाईहरू दुवैजनाले अहिले अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बेला हो । यही बेला प्रेममा पर्ने उमेर पनि हो । तर निजी जीवनमा वा प्रेममा अप्ठ्यारो स्थिति आउला कि भन्ने चिन्तासमेत उत्तिकै देखिन्छ ।

अध्ययनले के भन्छन् त ?

पहिले भएका अध्ययनहरूले देखाए अनुसार पहिलो डेटिङ्गमै पनि यौन सम्पर्क भइहालेमा यसले जोडीको दीर्घकालिन सम्बन्धमा खासै असर पर्दैन । पछिल्लो समय बर्मिङ्घम विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार पहिलो डेटिङ्गमै यौन सम्पर्क भइहालेमा त्यसले जोडीको दीर्घकालिन गुणस्तरीय सम्बन्धमा असर पर्छ ।

उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही लामो समयपछि हुने यौन सम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौन सम्पर्क हुँदा पनि राम्रो नै हुने प्रतिक्रिया दिएका छन् । बाँकी प्रतिक्रियाहरू नगण्य छन् ।

अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रने भनेका छैनन् तर उनीहरूको भनाइमा गुणस्तरीय यौन सम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र यौन सम्पर्क भए राम्रो हुन्छ ।

के गर्ने त ?

मनोवैज्ञानिक हिसावले हेर्दा जसरी तपाईहरू अगाडि बढ्नुभयो, त्यसरी नै तपाईहरूका बीच केही असहज वातावरण बनेजस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिँदैन । एउटा कौतुहल शान्त पार्ने क्रममा अझ थप छटपटी पैदा भएको छ । पढ्नुपर्ने बेलामा अनेक छटपटी भएको छ ।

हरेक कुरा स्वाभाविक ढंगले अगाडि बढेको खण्डमा त्यसले नतिजा राम्रो दिन्छ । एक अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम कानुनले दिने अनुमति, पारिवारिक स्वीकृति जस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ ।

एकअर्कालाई बुझ्ने, यौन सम्पर्कका सकारात्मक तथा नकारात्मक पाटाको अध्ययन-विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, त्यस बारेमा स्पष्ट हुने, जीवनका उच्च प्राथमिकताहरू र न्यून प्राथमिकताहरूका बारेमा राम्ररी थाहा पाउने र आपसमा सञ्चार गर्ने गर्नाले अझ सामीप्य बढाउँछ, प्रेम सम्वन्ध घनिभूत हुन्छ । यसले विभिन्न शंका उपशंकाहरू पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ ।

अर्को कुरा तपाईंकी प्रेमिकालाई पहिलो यौन सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाई बढी छटपटिनुभएको हुनसक्छ । यसका लागि तपाईले उनलाई राम्ररी सोध्ने र पछिका दिनहरूमा सहमतिमा अगाडि बढ्न सकिने कुरा बताउनुपर्छ । अर्थात् प्रेमिकाको प्रतिक्रिया के छ भन्ने स्पष्ट रूपमा थाहा पाउनुहोस् । समाधान त्यही निस्कन सक्छ । उनलाई नराम्रो असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ । यसले दुवैलाई थप नजिक ल्याउन मद्दत पुर्‍याउँछ ।

मानौं तपाईंहरूको सम्बन्धले उनलाई अप्ठ्यारो परेकै हो भने उनलाई केही समय दिएर लामो सम्बन्धको आश्वासन दिन सक्नुहुन्छ । यो उमेरमा हुने शारीरिक सम्बन्ध सामान्य हो । यसले आफ्नो जीवनलाई असर पर्न दिनुहुँदैन भन्ने भरोसा तपाईंले दिनुपर्छ । नेपाली समाजमा महिलाको भर्जिनिटीलाई निकै ठूलो महत्व दिइने भएकाले उनको चिन्ता पनि जायज नै हो । तर समय परिवर्तन भइसक्यो भन्ने कुरा तपाईंहरू दुवैले बुझ्नु आवश्यक छ ।

अर्को कुरा पनि उत्तिकै महत्वपूर्ण के छ भने, उनी तपाईंसँग प्रेम गर्छिन् । तर यौन सम्पर्कका लागि मात्र उदासीन हुन्छिन् भने ठिकै छ । किनभने एकपल्ट गरेको व्यवहारले कसैलाई दुःख लागिरहेको छ भने दोहोर्‍याएर त्यही विषयको माग गर्नु राम्रो होइन । यसमा तपाईं पनि सचेत हुनुपर्छ । माथि नै उल्लेख गरियो, यो प्रेममा पर्ने उमेर त हो नै, त्योभन्दा बढी करियर बनाउने उमेर पनि हो । एकले अर्कालाई जति सहयोग गर्‍यो, दुवैको भविष्य उति राम्रो हुँदै जान्छ । एक अर्कालाई जे गर्दा खुसी लाग्छ, दुवैले त्यसै गर्दै जानुमा भलाइ छ ।

यौन क्षमता
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय