+
+
साढे ३३ केजी सुन प्रकरण :

६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार

गौरव पोखरेल गौरव पोखरेल
२०७५ वैशाख १६ गते १९:०९

१६ वैशाख, काठमाडौं । नेपालमा संगठित रुपमा सुन तस्करीको र्‍याकेट चलाइरहेका गोरे भनिने चुडामणि उप्रेतीका सहयोगी सनम शाक्यको हत्याबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

प्रकरणमा धमाधम प्रहरी अधिकारी नै पक्राउ पर्न थालेपछि यो प्रकरणले अनेकौं प्रश्नहरु उब्जाएको छ ।

आइतबारमात्रै  पूर्वगएको अपराध महाशाखाका अनुसन्धान टोलीका नेतृत्वकर्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन् ।

यसअघि पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन् ।

तर, अहिलेसम्म गायब भएको भनिएको साढे ३३ केजी सुन कहाँ छ भन्ने अत्तोपत्तो छैन ।

एसएसपी श्याम खत्री फरार 

अनुसन्धान समितिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलार्इ पनि बोलाएको थियो । तर, उनी अहिलेसम्म समितिको सम्पर्कमा छैनन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो २३ माघ ०७३ मा  दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए ।

उनी अहिले सम्पर्कविहीन छन् । उनको माबाइल पनि स्वीच अफ छ । उनलार्इ फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ । पक्राउ परेका प्रहरी जवान विष्णु खड्का खत्रीका सवारी चालक हुन् ।

२८ जना प्रहरी नियन्त्रणमा

सरकारले प्रकरणको छानबिन गर्न गठन गरेको समितिले आइतबारसम्म २८ जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ । जसमा ६ जना प्रहरी अधिकारीहरु छन् ।

पक्राउ पर्ने प्रहरी अधिकारी बाहेक ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जन छन् ।

त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे लवगायत छन् ।

प्रहरीले सुनका मालिक भनिएका गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको सम्पत्ति समेत रोक्का गरेको छ ।

तीनको ज्यान गयो

अनुसन्धान समितिका अनुसार गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा भित्रिएको थियो, साढे ३३ केजी सुन ।

तर, विमानस्थलबाट सानु वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, २२ माघमा थाई एयरवेजमा वरिष्ठ प्राविधिक वनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए ।

सुन गायब भएपछि गोरे लगायतको समूहको टर्चर सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

बनपछि अर्को निशाना बने, उर्लाबारीका सनम शाक्य । उनी गारेको नजिकको सहयोगी थिए । उनीबाट हराएको सुनको सूचना फुत्काउने कोशिशका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको प्रहरीको भनाइ छ ।

लगत्तै, महाशाखाले शाक्यको शव बरामद गरेसँगै त्यसवेलै काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्ले पक्राउ परेका थिए ।

यद्यपि, अनुसन्धानका क्रममा उनीहरु आफैं तस्करीमा प्रयोग भएका भरिया भएको खुलेको थियो ।

घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरेको आरोप लागेपछि सरकारले सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भयो ।

समितिले शाक्यको शव १९ फागुनमा धरानको भानु चोकबाट प्रहरीले बरामद गरेको तथ्य फेला पारेको स्रोतको भनाइ छ । सुन मालिक गोरेलाई भगाउन बिराटनगरबाट बरामद गरेको नाटक गरिएको बताइएको छ ।

लगत्तै, अनुसन्धान समितिले पक्राउ गरेको एक अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरे । बर्दियाको राजापुर नगरपालिका–७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् ।

उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए । बिहान ५ बजे गाडी बाथरुममा उनले आत्महत्या गरेको प्रहरीको भनाइ थियो ।

यो पनि पढ्नुस् 

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?