+
+

नेपाली फिल्ममा ‘आत्मा’ होइन, ‘प्रेतात्मा’ छ !

शिव मुखिया शिव मुखिया
२०७५ जेठ १५ गते २३:००

‘कथा फिल्मको आत्मा हो, त्यसैमा चुकेको छ नेपाली फिल्म’ अभिनेत्री ऋचा शर्माले एक साक्षात्कारमा यसै भनेकी थिइन् । अहिले उनको फिल्म हलमा चलिरहेको छ, सुनकेशरी । तर, यो फिल्ममा ‘आत्मा’ होइन, ‘प्रेतात्मा’ छ ।

ऋचाले के बुझेकी छिन् भने, कथा भनेको फिल्मको आत्मा हो । बुझ्नुपर्ने के थियो भने, कथामा आत्मा हुनुपर्छ । यस्तो फिल्मले आँखालाई होइन, आत्मालाई स्पर्श गर्छ । अहिले महिनामा औसत ६ वटा फिल्म हलमा आउँछन् । यी फिल्मको नाडी छाम्ने हो भने, त्यो ‘निष्प्राण’ लाग्छ । अर्थात आत्मा नभएको फिल्म ।

निर्जीव फिल्म

ऋचाले बुझेजस्तै कथा आफैमा जीवित भइदिने हो भने, पूजना प्रधानहरुले ‘नेपालीलाई राम्रो कथा भएको फिल्मभन्दा हावाको कथा भएको फिल्म मनपर्ने रहेछ’ भन्दै रोइकराई गर्नुपर्ने थिएन ।

उनको दावी के रह्यो भने, चकलेट ‘राम्रो कथा’ भएको फिल्म थियो । तर, चलेन । नचल्नुको गाँठी कुरा उनले खोतलिनन् । खोतल्नुपर्ने कुरा थियो, फिल्मले कथामा आत्मा भर्न सकेन । ‘निर्जीव कथा’ले दर्शकको मन पगाल्न सक्दैन । पर्दामा चलायमान दृश्यलाई दर्शकले अनुभूत गर्न सक्नुपर्छ । अनुभूतिको त्यो तहसम्म पुर्‍याउने नेपाली फिल्म किन बन्दैनन् ?

कथा कथ्ने/खोज्ने, स्क्रिनप्ले तयार गर्ने, पात्रलाई अभिनय गराउने, त्यसलाई मनलाग्दो कोण र फ्रेममा फिल्मांकन गर्ने, यसरी कैद भएको सदृश्य सामग्रीलाई सम्पादन गर्ने, साउन्ड, कलर एडजस्ट गर्ने । बस् यति गर्दा फिल्म बन्छ भन्ने निरिह मानसिकता बोकेर फिल्म उद्योगमा प्रवेश गर्नेहरुको जमात ठूलो छ ।

उनीहरु कनीकुथी फिल्म बनाउँछन् । पि्र-प्रोडक्सनमा होइन, बरु पब्लिसिटीमा भएभरको शक्ति र सम्पति खर्च गर्छन् । यस्ता फिल्मको कथामा ‘रक्तसंचार’ भएकै हुँदैन । त्यसैले जे-जति फिल्म बन्छ, कुनै फलानो हिन्दी फिल्म जस्तो बन्छ, कुनै वृत्तचित्र जस्तो बन्छ । फिल्म जस्तो बन्नुपर्ने, त्यस्तो बन्दैन । फिल्म जस्तो हुनुपर्ने, त्यस्तो हुँदैन ।

हुन त फिल्म सिर्जनात्मक कुरा हो । यसको ढाँचा एकैनास हुनुपर्छ भन्ने छैन । तर, जे-जस्तो शैली र संरचनामा निर्माण गरिएपनि, त्यसभित्र प्राण हुनुपर्छ । किन प्राण हुनुपर्छ भने, पर्दामा चलायमान दृश्यले आँखालाई लोभ्याउनुपर्छ । आँखालाई लोभ्याउनका लागि मनसम्म त्यसले तरंग पैदा गर्नुपर्छ । मनको त्यही तरंगले दर्शकमा दया, करुणा, उमंग, आवेग, भय, अत्यास जस्ता भाव पैदा गरिदिन्छ । तब न फिल्म, फिल्म जस्तो हुन्छ ।

फिल्मको यो गहिराइसम्म स्पर्श गर्नका लागि फिल्म मेकर्स वास्तवमै साधक हुनुपर्छ । उनमा पागलपन हुनुपर्छ । फिल्मका आयाम र अवयवहरुलाई बुझेको हुनुपर्छ । बेजोड कल्पनाशीलतालाई पर्दामा उतार्ने क्षमता हुनुपर्छ । यसका लागि उनले ‘एक्सन/कट’ भनेर मात्र पुग्दैन, प्रविधिको पूर्ण ज्ञान पनि हुन आवश्यक छ ।

कलाकार भोलाराज सापकोटा भन्थे, ‘बाहिरतिर (हलिउड/बलिउड) फिल्म बनाउने भनेपछि, कुन कलरको भनेर पहिल्यै सोधिन्छ । त्यसको जवाफ निर्देशकसँग हुनुपर्छ । तर, हामीकहाँ धेरैजसो निर्देशकमा फिल्मको न्युनतम आधारभूत ज्ञानसमेत छैन ।’ फिल्म निर्माण म्युजिक भिडियो बनाएजस्तो वा बिहेको भिडियो खिचेजस्तो होइन ।

हाम्रा फिल्ममेकर्सहरु ‘निर्जीव फिल्म’ बोकेर हलमा पुग्छन् । निःशन्देह, फिल्म चल्दैन । आफ्नो फिल्म नचलेपछि ‘सन्यास लिने’, ‘देश छाड्ने’ प्रवृत्ति पनि छ ।

कुनैबेला ‘बाबुसाहेब’ भन्ने फिल्म नचलेपछि करिष्मा मानन्धर विरक्तिएर विदेशिएकी थिइन् । ‘चकलेट’ फिल्मले हावा खाएपछि पुजना प्रधानले ‘..राम्रो फिल्म बनाएँ । तपाईहरुको साथ पाइनँ । धन्यवाद यो नै मेरो फेसबुकमा अन्तिम स्टाटस हो, आजबाट म फेसबुक पनि चलाउँदिनँ’ भन्दै दुःख मनाउ गरेकी थिइन् ।

फिल्म फ्लप भएपछि त्यसको प्रश्न आफैतिर खोज्नेभन्दा घुर्की लगाउने, आक्रोश पोख्ने, दोष अरुलाई थोपर्ने प्रवृत्तिले पनि नेपाली फिल्म ‘प्राणहीन’ बन्दै गएको छ ।

‘वधशाला यस समस्याबाट अत्यन्त ग्रसित चलचित्र हो, जसमा कथाको पृष्ठभूमि यति हावी भयो कि कथाले जीवन नै पाउनै सकेन’ निर्देशक तथा समिक्षक मनोज पण्डितको यो आत्मस्वीकृतिलाई अरु फिल्म मेकर्सले किन मन्थन गर्दैनन् ?

‘अब्बल’ भ्रम

कथा फिल्मको मेरुदण्ड हो, मुटु होइन । फिल्मको मेरुदण्ड बलियो भएर मात्र पुग्दैन, त्यसलाई जीवित राख्न मुटु चाहिन्छ ।

कथा जस्तोपनि हुनसक्छ, जे पनि हुनसक्छ । ‘डन्डिबियो’को कथा अब्बल, ‘गुच्चा’को कथा कमसल भन्ने भ्रम फिल्म मेकर्सले मात्र होइन, कथित वौद्धिकहरुले पनि त्याग्नुपर्छ ।

केही हप्ताअघि ‘डमरुको डन्डिबियो’ फिल्म प्रदर्शनमा आयो । छेतन गुरुङले निर्देशन गरेको यो फिल्म खगेन्द्र लामिछानेको पनि फिल्म थियो । खगेन्द्रमा साहित्य-चेत छ, जसले लेखेको स्क्रिप्टमा सम्भवत ‘डन्डिबियो’को कथा अच्छा थियो । तर, पर्दामा आइपुग्दा त्यसका अवयवहरु स्वतस्फूर्त चलेन । त्यही कारण दर्शकको मन स्पर्श गर्न असमर्थ रह्यो, डमरुको डन्डिबियो ।

पर्दामा चलायमान दृश्यले आँखालाई लोभ्याउनुपर्छ । आँखालाई लोभ्याउनका लागि मनसम्म त्यसले तरंग पैदा गर्नुपर्छ । मनको त्यही तरंगले दर्शकमा दया, करुणा, उमंग, आवेग, भय, अत्यास जस्ता भाव पैदा गरिदिन्छ । तब न फिल्म हुन्छ ।

उदेगलाग्दो चाहिँ के भने, यो फिल्म किन फिल्मजस्तो भएन भन्ने कुराको आत्मानुभूत स्वयम् खगेन्द्रले गरेनन् । यो फिल्म ‘अब्बल’, ‘उत्कृष्ट’ भन्ने भ्रमलाई यस्ता प्रतिक्रियाहरुले पनि मलजल गरिदिए, जो   फिल्मको फर्स्ट शोपछि फेसबुकमा तात्तातो पोस्ट भए, ‘…वास्तवमै राम्रो नेपाली चलचित्र हेर्ने भएमा कुनै हालतमा नछुटाउनुहोस् ।’ अर्काले थपे, ‘…डमरुको डन्डिबियो नहेरे, अन्य नेपाली सिनेमा नहेर्नुहोस् ।’

कथित बौद्धिकहरुले यसरी लादने बिचारले पनि नेपाली फिल्म सही मेलोमा नारिन सकिरहेको छैन ।

फिल्म बच्चाको खेल ?

हामीकहाँ पाँच महिनामा एउटा फिल्म तयार हुन्छ । अझ रमाइलो त के भने, यहाँ बच्चाले पनि फिल्म बनाइदिन्छ ।

भर्खरै प्रदर्शनमा आएको फिल्म ‘हैरान’ सौगात विष्टले निर्देशन गरेका हुन्, जसलाई ‘विश्वकै कान्छा निर्देशक’ भनिएको छ । रेकर्ड राख्नकै लागि हो भने त्यो आफ्नो मर्जीको कुरा हो । तर, फिल्म नै बनाउने हो भने, यो बच्चाको खेल होइन ।

कोरा कल्पनालाई क्यामेरामा कैद गर्दैमा त्यो फिल्म हुँदैन । निर्देशकले गर्ने कल्पना यस्तो हुनुपर्छ, जसले अनुभव र अनुभूतिको तह छिचोल्नुपर्छ । दुःख, सुख, भाव-आवेग, वेदना, हर्ष-विस्मात् सबै कुरा अनुभव वा अनुभूत गरेको हुनुपर्छ । यो कुरा त उसले भोगेको समय र धरातलबाट तय हुने हो ।

कोठाभित्र बसेर अन्दाज, अनुमान, कल्पना गरेको भरमा फिल्म बन्छ । तर, त्यसको प्राण हुँदैन ।

कलाकार विजय बराल भन्थे, ‘नाटक सिक्न भनेर आइयो । मण्डला बन्दै रहेछ । गिटी कुट्ने, इँटा धुने, बालुवा चाल्ने, पर्खाल लगाउने काम पो लगाइयो । त्यसबेला राजन खतिवडा दाइहरुले भनेको कुरा अहिले बल्ल बुझ्न थालेको छु । काम गर्दा, दुःख गर्दा त्यसलाई हामी अनुभूत गर्दा रहेछौं । दुःख के हो, कस्तो अवस्थामा अनुहारको भावभंगीमा कस्तो हुन्छ भन्ने कुरा बुझिने रहेछ ।’

उनको भनाइको सार के भने, अभिनय वा कलाकारिता कल्पना गरेर मात्र गरिने कुरा होइन, त्यसका लागि जीवन-भोगाइ महत्वपूर्ण हुन्छ ।

तर, ११ वर्षको बच्चासँग जीवन-भोगाइको अनुभव र अनुभूति कति हुन्छ ?

सौगात विष्टप्रति कुनै दुराशय राख्न खोजिएको होइन । बरु, नेपाली फिल्मका निर्देशकहरुमा उनकै ‘तहका’ कच्चापन छ भन्ने कुरा जोड्न खोजिएको हो । केही समयअघि एक निर्देशकले फुर्तीका साथ भनेका थिए, ‘म एकैसाथ दुईवटा फिल्म पनि भ्याइदिन सक्छु ।’

फोनबाट निर्देशन गरेकै भरमा पनि फिल्म बन्छ भन्ने उनको चेतले फिल्म कति कच्चा खेल भइरहेको छ भन्ने अनुमान गर्न सकिन्छ । यस्तै कच्चा निर्देशकहरुको फेला परेपछि दयाहाङ राई, सौगात मल्ल जस्ता माझिएका कलाकारहरु ‘जोकर’ बन्दैछन् ।

कच्चा खेलको जोखिम

दयाहाङ राईले सुनाएका थिए, ‘जस्तोपायो त्यस्तै स्क्रिप्ट लिएर फिल्म खेल्नुपर्‍यो भनेर आउँछन् । स्क्रिप्ट राम्रो भएन भनेर पन्छिन खोज्यो भने त्यसलाई परिमार्जन गरेर, राम्रो बनाउँछौं, तर जसरी पनि खेलिदिन पर्‍यो भन्छन् ।’

दयाहाङको स्वभाव के छ भने, उनी अरुलाई सोझै नकार्न सक्दैनन् । त्यसैको फाइदा उठाएर फिल्म बनाउन तम्सनेहरु उनको अनुहार बेच्ने चेष्टा गर्छन् । तर, फिल्म दयाहाङको कारण होइन, कथा र मेकिङकै कारण चल्छ भन्ने तथ्यको उनीहरु हेक्का राख्दैनन् ।

दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, विपिन कार्कीदेखि अहिले आएका कलाकारहरुको क्षमतालाई नजरअन्दाज गर्न सकिँदैन । उनीहरुबाट वास्तवमै गहकिलो काम लिन सकिन्छ । तर, त्यसरी गहकिलो काम लिन सक्ने ल्याकत हाम्रा धेरैजसो फिल्म मेकर्ससँग छैन ।

कथा फिल्मको मेरुदण्ड हो, मुटु होइन । फिल्मको मेरुदण्ड बलियो भएर मात्र पुग्दैन, त्यसलाई जीवित राख्न मुटु चाहिन्छ ।

त्यही कारण अनमोल केसी ‘नौटंकी’ लाग्दैछन् । दयाहाङ राई भुत्ते बन्दैछन् । सौगात मल्ल ‘जोकर’मा रुपान्तरण हुँदैछन् । अब विपिन कार्की पनि ‘डेन्जर जोन’मा छन् ।

विपिन आफैमा हदैसम्म मेहनत गर्छन् । तर, उनले चुहाउने पसिनाको मूल्यलाई बुझ्ने निर्देशक हामीकहाँ दुर्लभ छन् ।

पात्र चयनमा निर्देशकहरु एकदमै चुक्ने गरेका छन् । कुन कलाकारलाई कसरी पेश गर्दा त्यो स्वाभाविक र जोडदार हुन्छ भन्ने कुराको हेक्का भएजस्तो लाग्दैन । जोनी जिप, ड्रोन, क्रेन, ट्रलीको प्रयोग गर्नुपर्छ भन्ने जानकारी राखेर हुन्छ कि, त्यसले कसरी कथालाई अर्थपूर्ण बनाउने भन्ने ज्ञान हुनुपर्छ ?

फिल्म कारखाना ?

मिलन चाम्सहरु एक वर्षमै तीन-चार वटा फिल्म बनाइरहेका छन् । एक स्त्रिmप्ट राइटर भन्थे, ‘तीन महिनामा फिल्मको स्त्रिmप्ट सक्नुपर्ने दबाव हुन्छ ।’ एकाध महिनामा फिल्मको कथा खोज्नु, स्त्रिmप्ट तयार पर्नु ‘जादू’को छडी नभइ हुन्छ ? नभए, केही थान विदेशी फिल्म हेर्दै, केही थान पुस्तक पढ्दै त्यसबाट कनीकुथी कथा उत्पादन गर्नुपर्‍यो । यसकारण पनि नेपाली फिल्ममा आत्मा हुँदैन ।

फिल्ममा तबमात्र आत्मा हुन्छ, जब फिल्म मेकर्स वास्तवमै साधक हुन्छन् । उनमा विराट कल्पना हुन्छ । र, त्यसलाई साकार रुप दिने प्राविधिक दक्षता हुन्छ ।

मनोज पण्डितको यो आत्मस्विकृति मननयोग्य छ, ‘चलचित्र श्रष्टाको सपना रहेछ भन्ने आत्मानुभूति भएपछि भ्रम टुट्यो र थाहा भयो, आत्मरतिकै स्तरमा मात्र चलचित्र बनाइरहेको रहेछु ।’

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?