१६ जेठ, विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।
श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । आदेशपछि झुम्का कारागार लगिएकाे छ ।
जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो ।
धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।
बाराको सिमरा ३ घर भइ सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए ।
आचार्यमाथि चैत २५ गते बिहान १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए ।
गोली हान्ने पनि जेल चलान
यसैबीच श्रीनिवासको निर्देशनमा उनीमाथि गोली हान्ने उनकै अगंरक्षक चितवन भरतपुर ४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी पनि पूर्पक्षको लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले बुधबार नै चौधरी र अधिकारीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
आदेशपछि उनीहरुलाई प्रहरीले जिल्ला कारागार मोरङ लगेको छ । उनीहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को दफा २ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ ।
अदालतसमक्ष उनीहरुले बयान दिएपछि थुनछेक बहस भएको थियो । चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।
यो पनि पढ्नस्
आचार्य श्रीनिवासलाई १० दिन थुनामा राख्न अनुमति
आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा
धार्मिक हिंसा भड्काउन चाहन्थे आचार्य श्रीनिवास !
आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा
आचार्य श्रीनिवासमाथि गोली हानेको आशंकामा ४ जना पक्राउ
प्रदेश गृहमन्त्रीले भेटे गोली लागेर घाइते आचार्य श्रीनिवासलाई
श्रीनिवासलाई गोली हानेपछि स्थानीय आतंकित, भन्छन्- यसरी गोली कहिल्यै चलेको थिएन
आचार्य श्रीनिवास खतरा मुक्त, घटनास्थलमा भेटियो मंगोल आर्मीको पर्चा
गोली लागेर आचार्य श्रीनिवास घाइते
प्रतिक्रिया 4