मानसरोवर अर्थात कैलाश मानसरोवर । नामजस्तै कति मनमोहक गन्तव्य !
मानसरोवरको सुन्दरताको वयान गरेर साध्य छैन । कैलाश पर्वत वा मानसरोवरलाई धर्तीको केन्द्र मानिन्छ । यो हिमालयको केन्द्रमा छ ।
कैलाश, जसलाई हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको वासस्थानको रुपमा मानेका छौं । के पनि विश्वास गरिन्छ भने, कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ । यहाँको मनमोहक दृश्यका कारण धेरैले भन्छन् – कैलाश आफैमा स्वर्ग हो । धर्तीको स्वर्ग ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ, यो स्थल । ठीक यही सिजनमा धार्मिक आस्था राख्नेहरुको लस्कर देखिन्छ, मानसरोवर पुग्ने । जेठ-असारमा मानसरोवर यात्रामा निस्कनेहरुको लस्कर देखिन्छ ।
कसरी जाने ?
यो तिब्बती भूभागमा छ, जहाँ चीनतर्फको बाटोबाट सजिलै पुग्न सकिन्छ । नेपालको बाटो भएर जानका लागि हुम्लाको सिमकोट पुग्नुपर्छ । यही एकमात्र प्रवेशद्वार हो, मानसरोवर पुग्ने ।
नेपालगञ्जदेखि सिमकोटसम्मको हवाई यात्राबाट सुरु हुन्छ, मानसरोवर पदयात्रा । सिमकोटबाट चार दिनको पैदल यात्रा छिचोलेपछि मानसरोवर पुगिन्छ ।
अर्को यात्रा हुन्छ हुम्लाको सदरमुकामदेखि लिमि भ्याली हुँदै हिल्सा पुग्नलाई ६ दिनको यात्रा गर्नुपर्छ । प्राकृतिक सौन्दय र हिमाली जनजीवनलाई नजिकबाट साक्षात्कार गर्नका लागि लिमी भ्याली पुग्नैपर्छ । यो तिब्बतीयन संस्कृति चियाउने नेपालको आँखीझ्याल हो ।
भिसाको झञ्झट
मानसरोवर जति लोभलाग्दो छ, त्यहाँ सम्म पुग्ने मेलोमेसो मिलाउन भने सजिलो छैन । यहाँको मूख्य समस्या भनेकै भिसा लिनु हो ।
नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र हुम्लाको लाप्चा नाकाबाट मानसरोवरको दर्शन गराउन सके चाहिँ भिसाको अप्ठ्यारो झेल्न नपर्ने स्थानीयवासीहरु बताउँछन् । यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4