मनोविज्ञ करुणा कुँवरले एक प्रसंगमा भनेकी थिइन्, ‘कति आमाबुवा आफुले पुरा गर्न नपाएको इच्छा छोराछोरीमाथि लाद्ने गर्छन् ।’
अर्थात, कसैलाई कलाकार बन्न मन लागेको हुन्छ । कसैलाई गायक बन्न । कसैलाई फेशन डिजाइनर । जब आफुलाई मन लागेको कुरा आफैमाथि लागु गर्न सक्दैनन्, त्यो अधुरो इच्छा छोराछोरीमार्फत भएपनि पुरा गराउने मनोकांक्षा पाल्ने गर्छन् ।
आमाबुबाको इच्छा, छोराछोरीलाई बोझ
आफ्नो बच्चालाई हरेक क्षेत्रमा अब्बल बन्न दबाब दिने आमाबुबाहरुले यस्तो सोचले कलिला बच्चाहरुलाई कति भार पर्छ भन्ने कुरा बुझ्नुपर्छ । हाम्रै समाजमा धेरै आमाबुबाले आफ्ना बच्चाहरुलाई पढाईको अतिक्ति अन्य क्षेत्रमा पनि अब्बल हुन दबाब दिने गर्छन् ।
त्यस्तै आजभोली टिभीमा बच्चाहरुसँग सम्बन्धित धेरै खालका रियालिटी शो आँउछन् । यसलाई लिएर पनि आमाबुबा आफ्नो बच्चाप्रति धेरै नै चिन्तित हुन्छन् ।
उनीहरुलाई रियालिटी शोमा भाग लिने बच्चाहरु धेरै चलाख र प्रतिभाशाली भएका र आफ्नो बच्चाले पनि केहि पनि नजानेको जस्तो लाग्छ र बच्चाहरुलाई त्यस्तै बन्न दबाब दिन्छन् ।
अब तपाई नै सोच्नुहोस्, सानो ज्यान र कलिलो मस्तिस्कमा यति धेरै बोझ थोपरिदिँदा उनीहरुको हालत कस्तो होला ? यस्तो भागदौडको बीचमा अबोध बच्चाहरुलाई न आफ्नो इच्छा आकांक्षाको पंखेटा फैलाउने फुर्सद हुन्छ न त थाकेर सुस्ताउने फुर्सद नै ।
यस्तो दिनचर्या आजभोली धेरै बच्चाहरुको छ जसको आमाबुबाले उसलाई सबै कुरा बनाउने चाहना राख्छन् । आमाबुबाहरुले जानेर वा नजानेर आफ्नो अधुरा सपना र इच्छाहरुलाई अबोध बच्चाहरुको क्षमता र अभिरुचीको ख्याल नगरिकन जर्बजस्ती लादिदिन्छन् ।
सुपर किड बनाउने मोह
हरेक अभिभावकको एकमात्र इच्छा उनीहरुको बच्चा जसरी भएपनि अगाडि आउन् वा अलराउण्डर होउन् भन्ने हुन्छ । उनीहरुलाई आफ्नो बच्चा अरु भन्दा धेरै प्रतिभावान र सुपर हिरो जस्तै सुपर किड होउन जस्तो लाग्छ ।
अभिभावकहरुको यस्ता महत्वाकांक्षाको बोझले अबोध बच्चाहरुलाई समस्यामा पारेको छ । पढाइमा राम्रो नतिजाको लागि अंकको खेलमा अब्बल रहनु उनीहरुको विवशता बनेको छ । यसैकारण हरेक वर्ष एसईईको रिजल्ट आएको बेलामा कोही न कोही बच्चाले आत्महत्या गरेको दुखद समाचार पढ्न पर्छ । त्यसैले हरेक आमाबुबाले यस्तो गर्नुहुँदैन सबै बच्चा हरेक फिल्डमा अब्बल आउन सक्दैनन् भन्ने बुझ्न पर्छ ।
आमाबुबाले बच्चाहरुको राम्रो हेरविचार गर्छन् । तर, पढाईमा उनीहरुले राम्रो नतिजा ल्याउन सकदैनन् भने कमी कहाँ छ त ? प्रतिभालाई सिद्ध गर्ने संघर्षको नाममा आमाबुबाले बच्चाहरुलाई दुनियाभरमा आफ्नो नाम उज्यालो बनाउने माध्यम सम्झिएका छन् ।
सानो ज्यान र कलिलो मस्तिस्कमा यति धेरै बोझ थोपरिदिँदा उनीहरुको हालत कस्तो होला ? यस्तो भागदौडको बीचमा अबोध बच्चाहरुलाई न आफ्नो इच्छा आकांक्षाको पंखेटा फैलाउने फुर्सद हुन्छ न त थाकेर सुस्ताउने फुर्सद नै ।
बच्चाले जुन क्षेत्रमा रुची राख्छन् उनीहरुलाई त्यसमा अगाडि बढ्न प्रोत्साहित गर्न आवश्यक छ । आफ्नो योग्यता र क्षमता अनुसार स्वंयलाई निखार्ने प्रयत्न गर्न बच्चाहरुलाई आफ्नो परिवारले नै मार्गनिर्देशन गर्न सक्छन् ।
त्यसैले बच्चाहरुको रुची र चाहनालाई सम्झिंदै उनीहरुलाई यस्तो तरिकाले सहयोग गर्नुहोस् कि आमाबुबाको चाहना र सपना भार होइन उत्प्रेरक बनोस् ।
आफ्नो बच्चाको प्रतिभा चिन्नुहोस्
हरेक बच्चा खास हुन्छन् । हरेक बच्चामा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । अभिभावकको नाताले आफ्नो बच्चामा भएको प्रतिभालाई उजागर गराउने जिम्मेवारी हाम्रो हुन्छ ।
उनीहरुको प्रतिभा पहिचान गरेर हामीले त्यसमा अझै निखार ल्याउनको लागि उनीहरुलाई मद्धत गर्नुपर्छ । सबैमा कुनै न कुनै योग्यता र कमजोरी हुन्छ । हामीले आफ्नो बच्चालाई के मनपर्छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।
उनीहरुको मनले के चाहन्छ भन्ने कुरा हामीले सम्झिनुपर्छ । बच्चामा केहि कमजोरी हुन सक्छ । हामीले उनीहरुको मद्धत गर्नुपर्छ ताकी उनीहरुले त्यस कमजोरीलाई टाढा गर्नसकुन् ।
हाम्रो शिक्षा व्यवस्था नै यस्तो छ कि हामी बाल्यकालदेखि नै बच्चालाई कक्षामा प्रथम हुने दबाब दिन थाल्छौं । तर, अब सोच्नुपर्ने बेला आएको छ । कतै हामीले आफ्नो बच्चालाई सुपर किड्स बनाउने चक्करमा स्वार्थी त बनाएका छैनौं ?
जब हामीले बच्चालाई सबैभन्दा अगाडि आउनुपर्ने दबाब दिन्छौं, उनीहरुको दिमागमा उनीहरुले सबैलाई पछार्नु पर्ने कुराले डेरा जमाएर बसेको हुन्छ । उसले सोच्छन् कि प्रथम हुनु नै उनीहरुको जिन्दगीको एकमात्रै उद्धेश्य हो ।
प्रथम हुनैपर्ने अभिभावकको दवाव र उनीहरुको भावनाले कैयौं पटक उनीहरुलाई स्वार्थी बनाइदिन्छ । उनीहरु आफ्नो बारेमा मात्रै सोच्न थाल्छन् ।
त्यसैले बच्चा जब विद्यालयबाट घर आउँछन् त्यतिखेर तपाईले तिमीले आज कसैलाई सहयोग गर्यौ कि गरेनौ? तिम्रो कारणले कसैको अनुहारमा खुसी देखियो कि देखिएन भनेर सोध्न सक्नुहुन्छ ?
हामीले उनीहरु भित्र अरुलाई मद्धत गर्नुपर्ने भावना पैदा गर्नुपर्छ । यदि हामीले आफ्नो बच्चालाई यस्तो प्रेरणा दियौं भने उनीहरुले जीवनलाई हेर्ने नजर नै बदलिन्छ र यस्ता बच्चा ठूला भएपछि हाम्रो समाज पनि बदलिन्छ ।
बच्चालाई तनाव नदिनुहोस्
बच्चामा पनि ठूला मानिसहरुलाई जस्तै तनाव हुन्छ तर उनीहरुलाई तनावको कारण अरु नै हुन सक्छ । बच्चाको वरिपरि फरक फरक किसिमको माहौल हुन्छ जसले उनीहरुमा के सहि के गलत भनेर छुट्याउन सक्ने क्षमता कम हुन्छ ।
घर विद्यालय ट्युसन जहाँ पनि उनीहरुले टेन्सनसँग सामना गर्नुपर्ने हुन्छ । यस समयमा उनीहरुको जीवनमा परिवर्तन पनि धेरै छिटो हुन्छ ।
यस्तोमा कतिखेर कुन कुराले टेन्सन भएको हो भन्ने थाहापाउन आमाबुबालाई मुस्किल हुन्छ । तर, यसले बच्चाको कार्यक्षमतामा असर पर्छ र उनीहरुको मन सँधै उदास हुन्छ ।
आजभोली बच्चाहरुलाई पहिलेको तुलनामा धेरै गाह्रो हुँदै गएको छ । उनीहरुले पढ्नुपर्ने विषयसङ्ख्या बढेको छ र हरेक महिना क्लास टेस्ट , युनिट टेस्ट, ट्युसन आदिको दबाब अलग अलग हुन्छ ।
कुनै एक विषयमा राम्रो पकड नबनाएको कारण कुनै बच्चा लगातार त्यसमा कमजोर हुन्छन् । परिक्षाको समयमा पनि उनीहरु टेन्सनमा रहन्छन् ।
सबै अभिभावकले आफ्नो बच्चालाई फस्र्ट पोजिसनमा देख्न चाहन्छन् । यसै कारण परिक्षाको समयमा धेरै पढाई गर्नुपर्नाले निन्द्रा पुग्दैन र तनाव पनि हुन सक्छ ।
प्रतिक्रिया 4