+
+

भक्तपुर प्रहरी इन्काउन्टरको छानबिन माग गर्दै उजुरी दर्ता

अजयका बुबाको प्रश्न – घरबाट पक्राउ परेको मान्छे कसरी जंगल पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २३ गते १६:४९

२३ साउन, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङ लगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’ माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गरेका हुन् ।

यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरित भएका थिए । र, प्रहरीले अनुसन्धानका क्रममा भक्तपुरमा ठिमी नगरपालिकास्थित एक घरमा बालकको शव गाडिएको अवस्थामा फेला पारेको थियो ।

लगत्तै, सोमबार दिउँसो भक्तपुरको डोलेश्वरस्थित जंगलमा प्रहरी मुठभेडमा दुई जना मारिएका थिए ।

अजयका बुबा निमाद्वारा दिइएको उजुरीमा घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।

‘जो कोही अपराधीलाई कानुन अनुसारको कारबाही हुनुपर्छ । तर, प्रहरीले पक्रेको मान्छेलाई प्रहरी चौकी लानु पर्छ कि जंगल ?’, बुबाले प्रश्न गर्दै उजुरीमा लेखेका छन्, ‘यो घटनामा उनीहरुको मात्र हात नभइ अरु व्यक्तिको समेत संलग्न हुन सक्ने सम्भावना भएकाले राम्रोसँग छानबिन भइ पाउँ ।’

उनले सञ्चार माध्यममा अपराधी भनिएको व्यक्तिलाई ८ देखि १० गोली लागेको उल्लेख गरिएको बताउँदै त्यसरी गोली लागेपछि पनि छोराको हातमा कसरीले पेस्तोल रहिराख्यो भन्ने प्रश्न समेत गरेका छन् ।

‘घरबाट पक्राउ गरेर लगेको मान्छे कसरी जंगल पुग्यो ?’, उनले अगाडि भनेका छन्, ‘निष्पक्ष अनुसन्धान गरी न्याय दिलाइ पाउँ ।’

यो पनि पढ्नुहोस् 

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

निशानको परिवारले अपहरणकारीबाट क्षतिपूर्ति पाउने बाटो बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?