
१ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेपछि घटना रहस्यमय मोडमा पुगेको छ ।
विष्ट अभियुक्त होइनन् भने घटनाको वास्तविक हत्यारा चाहिँ को हुन् त ? के प्रहरीले विष्टलाई ‘डम्मी’का रुपमा मात्र अभियुक्त खडा गरेको हो त ? आखिर कसलाई जोगाउन त्यसो गरियो ? अहिले यो प्रश्न आम चासोको विषय बनेको छ ।
सरकारले घटनाको छानबिनका लागि सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय समिति बनाएको छ भने समितिको प्रारम्भिक प्रतिवेदन अनुरुप ६ प्रहरी अधिकृत निलम्बित भइसकेका छन् ।
अनुसन्धानमा लापरबाही गरेको दाबी गर्दै तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिएसपी अंगुर जीसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रवक्ता ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामीलाई निलम्बन गरिएको छ ।
घटनामा मुख्य अभियुक्त बनाइएका विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको र उनी घटनामा संलग्न हुन नसक्ने भन्दै स्थानीयले आन्दोलन चर्काए । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले फायर नै खोल्नुपर्यो । त्यसक्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु समेत भयो ।
प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान नगरेको स्थानीयको दाबी थियो । स्थानीयले भीआईपीलाई जोगाउन अनुसन्धानलाई तथ्यभन्दा बाहिर लगेको दाबी गरेपछि अनलाइनखबरले ‘कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका’ शीर्षकमा समाचार लेखेको थियो । त्यसको भोलिपल्टै प्रहरी प्रमुख एसपी विष्ट निलम्बित भए भने अन्यलाई ३० भदौमा निलम्बन गरिएको थियो ।
उनै निलम्बित विष्ट सोमबार अनलाइनखबरको सम्पर्कमा आए । कुराकानीका क्रममा उनले जंगबहादुरका पालाको भन्डारखाल पर्वपछि आफ्नो जागिरे जीवनमा कोतपर्व आएको भन्दै दुखेसो पोखे । उनले आफ्नो जीवनमा आएको कोत पर्वलाई गहिरिएर विश्लेषण गर्न पनि आग्रह गरे ।
बढुवाको मुखमा रहेका बेला विभिन्न पक्षहरुका कारण आफूविरुद्ध भीड सिर्जना भएको विष्टको दाबी छ । उनीमाथि लागेका विभिन्न आरोपका बारेमा समेत हामीले जिज्ञासा राख्यौं ।
प्रस्तुत छ, एसपी विष्टसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः-
तपाई अहिले काठमाडौंमै हुनुहुन्छ, आफूमाथिको निलम्बनबारे गृहमन्त्रीसँग कुरा राख्नु भएन ?
एक पटक बोलाउनुभएको वेला हामीले ब्रिफिङ गर्यौं । सोध्ने कुरा भयो । हामीले जवाफ दियौं । त्यति हो ।
प्रधानमन्त्रीसँग नि ?
छैन ।
तपार्इ नेपाल प्रहरी संगठनमा कहिलेदेखि लाग्नुभयो ? अहिले तपाईको उमेर कति भयो ?
म ५२ सालदेखि सेवामा प्रवेश गरेको हुँ । उमेर ४८/४९ पुग्यो ।
निर्मला पन्त अन्तिमपटक बम दिदीबहिनीको घर गएकी थिइन् । बम परिवारसँग तपाईंको चिनजान, सम्पर्क वा सम्बन्ध के थियो ?
यो जन्ममा न उनीहरुको नाम सुनेको थिएँ, न चिन्या थिएँ । न देख्या थिएँ, न कुनै सम्पर्क थियो । मेरो पुख्र्यौली घर दार्चुला हो । उनीहरुको पनि दार्चुला रहेछ । तर, त्यो पनि थुनिएपछि थाहा पाएको हुँ । तिनीहरुको नाम पनि सनेको थिइनँ । गाउँ पनि थाहा छैन । कुनै पनि साइनो छैन ।
मेरो छोरा काठमाडौं बस्छ । फोटोग्राफीमा सोख छ । त्यसको सिलसिलामा प्रपोजल हाल्ने भनेर कञ्चनपुर गइराखेको अवस्था थियो । उसले भोलेन्टियर्ली विभिन्न मिडिया हाउसहरुमा पनि काम गरिरहेको छ । त्यो हुनाले उसलाई पनि परै राखौं । छोराको पनि उनीहरुसँग कुनै सम्बन्ध वा चिनजान छैन ।
निर्मलाको विषयमा तपाईंले कतै बोलेको देखिँदैन । निर्मलाको पक्षमा न्याय पाउनुपर्छ भनेर भन्नुको साटो अाफ्नै डिफेन्स मात्र गरिरहेको देखिन्छ नि, किन ?
डिफेन्स होइन । मैले भने एउटा बहिनीको केश हो । बहिनी बितेकी छिन् । त्यसमा म संवेदनशील छु । तर, मेरा हात पनि बाँध्दिनुस् । खुट्टा पनि पूरै नचल्ने गरेर बाँधिदिनुस् । अनि, हिँड्… भन्नुस् । म हिँड्न सक्छु ? सक्दिन नि । त्यो परिस्थिति बनाएको छ आन्दोलनले । मैले ९८ प्रतिशत हुलमा बिताउनुपरेको छ ।
मेरो टिम, राष्ट्रकै दक्ष टिम हो । म टिममा म विश्वास गर्छु । मेरो टीमले ठीक गरिरहेको छ भन्नेमा म विश्वस्त छु । र, उहाँहरुले गरेकै सल्लाहअनुसार म बोलिरहेको छु र काम गरिरहेको छु, त्यो कुरा यथार्थ हो ।
यो केशको अनुसन्धानमा काहीँ कतै कमजोरी भयो भन्ने लाग्छ कि लाग्दैन ?
एउटा कुरा नि मसँग यस्तो टीम छ, जुन टीमबाट कुनै कमजोरी भएको लाग्दैन । जस्तोः प्रमाणका लागि एउटा इनोसेन्ट महिला प्रहरी जवान उसले अंग छोपिदिनु गल्ती हो भन्नुहुन्छ भने गल्ती नै भनुन् । होइन भने राम्रो आशयले गरेको कामलाई जसरी हेर्नुहुन्छ, त्यही हुन्छ । सकाात्मक रुपमा हेर्दा त्यही हो । मैले यहाँ आएर थाहा पाएँ, त्यो कुरा । मिडियामा आएपछि थाहा पाएँ । पानीमा चोपलेर छोपिदिएको छ, माटो पखालेर । तर, शवबाट निकाल्नुपर्ने ‘भेजिनल स्वाव स्याम्पल’ त निकालियो नि । त्यो त नष्ट भएन नि ।
तपाईंहरुले मलाई बदमास हो भन्नुभयो भने बाहिर गएर एउटालाई भन्नुहुन्छ, दुईटालाई भन्नुहुन्छ । त्यहाँपछि पूरै फैलिन्छ । मैले सबैलाई जवाफ दिन सक्छु त सबैलाई ? हो.. अहिले त्यही परिस्थितिमा छु म । मैले जवाफ दिन नसक्ने अवस्था छ । र, एउटा हुलले मलाई पूरा प्रेसराइज्ड गरेर यो स्थितिमा पुर्याएको छ ।
तर, एउटा निर्दोष मान्छेको स्वाभिमान कहिल्यै झुक्दैन । सत्य कहिल्यै हार्दैन । भोलि देख्नुहुन्छ, दुई/चार दिन लाग्ला, ६/७ दिन लाग्ला । जुन दिन हामी ‘क्लियर’ साबित हुन्छौं । र, हामीलाई त्यतिवेला संगठनले ‘प्रमोशन’ दिने स्थिति आउला ।
भनेपछि प्रहरी संगठनबाट अझै न्याय पाउने आशमै हुनुहुन्छ ?
शतप्रतिशत आशावादी छु । तर, हल्लाको पछाडि एउटाले फैलाएको अफवाहको पछाडि मलाई यति नसताइयोस् । जंगबहादुरको पालाको भन्डारखाल पर्वपछि मेरो जागिरे अवधिको कोतपर्व नै हो । यो कोतपर्वलाई राम्ररी गहिरिएर हेर्दिनलाई मेरो सबैसँग आग्रह छ ।
तर, कञ्चनपुरमा नालायकलाई नेतृत्व सुम्पिएपछि यस्तो भयो भन्ने किसिमको आईजीपी सर्वेन्द्र खनालको अभिव्यक्ति आयो । उहाँ पनि भिडमा प्रभावित हुनुभयो कि ? संगठनमा अधिकृतहरुको सुरक्षा गर्ने स्थिति नभएको हो ?
यसमा मैले केही भन्दिनँ ।
अाइजीपीले भनेजस्तो तपाईं नालायक हो कि होइन त ?
नालायक भए जिल्ला प्रमुख किन दिनुहुन्थ्यो होला र ? त्योभन्दा अगाडि पनि जिल्ला प्रमुख चलाएकै हुँ । अहिले पनि असार मसान्तसम्म कुनै पनि विवाद थिएन । अहिले पनि मेरो कार्यकालमा यो बाहेक ६ महिनाको अवधिमा अन्य कुनै केश ‘अनसल्भड’ थिएन । भनेपछि, असार मसान्तसम्म मै राम्रो छु नि ।
हेर्दाखेरि त तपाई एकदमै सामान्य मान्छेजस्तो देखिनुहुन्छ । तर, तपाईंलाई के भनिँदैछ भने जहाँसुकै जाँदा तपाई नारीप्रति अलिकति पहिल्यैदेखि….
अब यस्तो छ हेर्नुस् । त्यो कहिलेसम्म आएको थिएन भने जबसम्म लाठीचार्ज भएको थिएन । त्यो कतिखेरदेखि आयो भने जब दिलिप विष्ट समातियो , त्यहाँदेखि चाहिँ सुरु भयो । त्यसबेलै मैले बि्रफिङ गरेरै भनेको छु, टिम नै राखेर कि ममाथि अब मास खनिन थालिसके । अब चाहिँ भीडले बम दिदी बहिनीलाई थुन्दै भनिरहेको छ । नथुन्दा आफैं हो भनिराछन् । ममाथि लास्टै प्रेसर परिसक्यो । मैले जे गर्दा पनि नहुने । दिनदिनै कोलाहालको स्थिति छ ।
त्यति भनेपछि मैले अभियुक्त खोज्न जाउँ, होटल जाउँ, रेष्टुरेन्ट जाउँ भनेको अवस्था छ । त्यस्तो कहालीलाग्दो अवस्थामा मलाई काम गरिरहनुपरेको अवस्था छ । अब मेयरको भतिज किन जोडियो भने केही अघि नगरपालिकाले कर वृद्धि गरेकामा विरोध भएको थियो । त्यहाँ तोडफोड गर्न खोज्दा हामीले लाठीचार्ज पनि गर्यौं । पहिले मेयरको विरोधमा प्रदर्शन भएको थियो । त्यसपछि निर्मलाको केशपछि प्रहरीप्रति विरोध मोडियो ।
हो… त्यहीबाट मेयरको भतिजलाई जोड्ने क्रम सुरुवात् भयो । मेरो छोरो कतिवेला जोडियो भने जब त्यो दिलिपलाई सार्वजनिक गरियो त्यसको ३/४ दिनपछि हो । योभन्दा बढी कोतपर्व केलाई भन्ने मैले ? त्यही भएर हेर्नुस् । बुझ्नुस् र लेख्नुस् । अहिले त हाम्रो पहुँच पनि छैन ।
पीडित पक्षले न्याय पाउनुपर्छ, पाउनुपर्छ, पाउनुपर्छ । त्यो विषयमा म पनि संवेदनशील छु । अझ पनि पाउनुपर्छ । अझ पनि मेरो सहयोग छ । अनुसन्धानलाई पूर्णतः सहयोग गरेको छु । मेरो छोरोलाई अफिसले बोलाएको होइन, मैले नै पठाएको हो । ‘मेरो बारेमा के के आएको छ, जा क्लियर गर’ भनेर पठाएको हुँ ।
अहिलेको नयाँ एसपी’साबले पनि उसको संलग्नता छैन… छैन… छैन… भनेर भनिराख्नु भएको छ नि… । अब घँचेडेर लगेर हो..हो…हो… भन्नेलाई त के भनौं र ! पटकपटक समितिले भनिरहेको छ भने यो कुरालाई बङ्ग्याई टिंग्याई गरेर केही हुँदैन ।
तपाईँलाई चाहिँ व्यक्तिगत रूपमा निर्मला हत्याको घटनामा को संलग्न छ जस्तो लाग्छ ? अहिलेसम्मको अनुसन्धानको आधारमा शंकाको सुई कता जान्छ ?
– शंकाको सुई… हेर्नुस् है हामीले शंकाको सुई पहिल्यैदेखि, जिरोदेखि नै घुमायौं । जिरोदेखि नै घुम्दैछ… घुम्दैछ… तर, त्यसपछि एकैठाउँमा पुगेर अड्केको छ ।
तर, त्यो अड्केको ठाउँदेखि अगाडि जाने ठाउँ अझ पनि छन् । त्यहाँ धेरै ठाउँहरु छन् । जस्तैः उखुबारी पछाडि लागूपदार्थ सेवन गर्नेहरुको अखडा छ । अझ त्यहाँ कोको आउँथे… केके आउँथे… त्यो डिटेल अनुसन्धान हुनै बाँकी छ । अनि, त्यहाँ दायाँमा बन्दै गरेको ठाउँमा मिस्त्रीहरु छन् । पेन्टरहरु छन् । लेबरहरु छन् । त्यो हेर्न बाँकी नै होला । र, अन्य पाटो पनि होलान् । वरिपरि अरु मान्छे को को बाँकी छन्, तिनीहरुको पाटो पनि बाँकी नै छ । अनुसन्धान गर्न त राम्ररी गर्ने हो भने अझै समय लाग्छ ।
तर, प्रमाण नै नष्ट भइसक्यो……
डीएनए के हो त ? त्यो सबैभन्दा ठूलो प्रमाण होइन ? भोलि खोज्दै जाँदा शंका लाग्ने व्यक्तिलाई टेस्ट गर्दा खुल्छ ।
तपाईंले मेरा विरुद्ध भिड लाग्यो भन्नुभयो, भीड तपाईविरुद्ध लाग्नुपर्ने कारण के होला ?
तपाईंहरुकोमा पनि मेल वा अन्य माध्यमबाट सूचना आयो होला । कसरी प्रोपोगान्डा भयो भन्ने तपाईंहरुलाई पनि थाहा छ । अब व्यक्ति तोक्न नभन्नुस् ।
तपाईंको कसैसँग, केही रिसइबी थियो ?
रिसइबी भन्दा पनि हामीले प्रेस काउन्सिलमा कारबाहीका लागि लिखित उजुरी गरेका छौं । पत्रकार महासंघमा पनि उजुरी गरेका छौं । स्पष्टीकरण सोधिएको छ ।
तपाईं राजनीतिक पहुँच लगाएर घुमिफिरी सुदुरपश्चिममै पोष्टिङ पाउन सफल हुने गर्नुभएको छ, किन ?
पहुँच भएको भए अर्को राम्रो ठाउँमा पनि पुगिहाल्थें । राम्रै ठाउँमा गइहाल्थें । काहीँ, कसैले नजाने ठाउँ भनेको सुदुरपश्चिम हो । पेलानमा परिएको हुन्छ । त्यही हुनाले काहीँ नगएको ठाउँमा, पहुँच नपुगेको ठाउँमा बसेको हुँ ।
प्रहरी संगठनभित्र एकदमै विवादित अफिसर पनि भनिँदोरहेछ नि तपाईंलाई ?
त्यो विवादमा परेको पनि देखाइदिनुपर्यो नि । फलानो भनेर देखाउनु पर्यो । उसले पनि पुष्टि गरिदिनुपर्यो । विवादित भए संगठनबाट कारबाही भोगेको हुनुपर्यो । अहिलेसम्म एउटा पनि कारबाही नभएको र एउटा पनि स्पष्टीकरण मलाई नसोधिएको अवस्था हो ।
५० औं हजारको भिडमा केही सेन्टिमेन्ट छ भने त्यसलाई चाहिँ एकजनाले डाइभर्ट गर्न सक्दैन । दुईजनाले सुन्थे भने ५० औं हजार जना कन्भिन्स हुने अवस्था हुन्थ्यो ।
त्यो हुनाले भिडले जस्तो भन्यो, त्यस्तो न्यूजहरुमा आयो । सबै कुरामा दोषी चाहिँ मै हुँ भन्ने देखाइयो । होइन भने प्रोपागन्डाभन्दा रियालिटीमा कुनै ठाउँमा त्यस्तो विवादमा आएको छुइनँ ।
पहिले कांग्रेस हुनुहुन्थ्यो अरे, अहिले नेकपातिर लाग्नु यो भन्ने पनि छ….
त्यस्तो कुनै पार्टीको होइन म । मचाहिँ पियुर नेपाल प्रहरीको हो । यदि कांग्रेसको भएको भए पनि राम्रो राम्रो ठाउँमा पुगिहाल्थंें होला । सुदुरपश्चिममै अल्झिइराख्थें होला र ? दरबन्दी मेरो सुदुरपश्चिम हो । द्वन्द्वमा सबैभन्दा पिछडिएको ठाउँ डोल्पा, हुम्ला, मुगु, मध्यपश्चिमको जिल्लामा खटिने पनि मै हुँ । सबैभन्दा पेलानमा परेको मै हुँ । तैपनि संगठनका लागि म निरन्तर लागिरहेको छु ।
पीडितलाई शव नउठाए गोली ठोकिदिन्छु भनेको कुरा पनि आको छ ।
पीडित पक्षहरुको जुन कुरा छ, शव सदगत गर्नका लागि जिल्ला प्रशासनमा सुरक्षा समन्वय समितिका सबै पदाधिकारीको भएको बेला कुरा भएको हो । व्यक्तिगत रुपमा काहिँ कोहीसँग केही कुरा भएको छैन । प्रशासनमा सुरक्षा समन्वय समितिका पदाधिकारीहरुको बीचमा मात्रै कुरा भएको छ । के..के भएको छ भन्ने सोध्दा थाहा भइहाल्छ ।
त्यस्तो थियो भने सदगतिका लागि ३/४ दिन किन कुरिराख्नुपर्थ्यो ? बन्दुक तेर्साएको भए एकैदिनमा भइहाल्थ्यो । त्यही भएर त्यो भ्रमपूर्ण कुरा हो ।
अहिले जिल्लामा गएको टोलीले तपाइसँग केही छलफल गर्छ कि गर्दैन ?
अहिलेको टोलीले सम्पर्क गरेको छैन । आवश्यक पर्यो भने अझै पनि सल्लाह, सुझाव दिन्छु । आवश्यक पर्यो भने उहाँहरुले पनि कल गर्नु हुन्छ ।
प्रतिक्रिया 4