४ असोज, इटहरी । सुनसरीमा आफूले सञ्चालन गरेको बोर्डिङ स्कुलको बैठक सकेर फर्किँदै गर्दा भुटाहा बजारमा खुर्सिद अन्सारीमाथि गोली प्रहार भयो । दुई वटा मोटरसाइकलमा आएका सुटरले उनीमाथि ३ गोली बर्साएका थिए । कञ्चट, भुँडी र खुट्टामा गोली लागेका उनको घटनास्थलमै मृत्यु भयो ।
गोली चलेको आवाज सुन्ने वित्तिकै स्थानीयबासीले प्रहरीलाई फोन गरे । तर, समयमा फोन नउठेको स्थानीयको गुनासो छ ।
केही ढिलै भए पनि घुस्की प्रहरी चौकीको टोली त्यहाँ आइपुगे ।
‘दुई मिनेटको दूरीमा प्रहरी चौकी छ । ५ मिनेट अगाडि जाँदा अर्को चौकी आउँछ’ पूर्वसांसद जाकिर हुसेनले अनलाइनखबरसँग भने, ‘त्यति मात्र होइन, त्यसअघि सशस्त्र प्रहरीको क्याम्प पनि छ । तर, समयमा सबै टोली फिल्डमा नउत्रिँदा अपराधी भाग्न सफल भए ।’
उनका अनुसार घटना लगत्तै स्थानीयले सुटरहरुलाई लखेटेका थिए । केहीबेरमा आइपुगेको प्रहरीले पनि उनीहरुलाई पछ्यायो ।
तर, गोली हान्ने समूह भाग्न सफल भयो । उनीहरुलाई रोक्न खोज्दा प्रहरी जवान शिव पौडेलमाथि गोली प्रहार भएको छ ।
घटनास्थल र भारतीय सीमा करिव ७ किलोमिटरको दुरीमा छ । सीमामा भने सशस्त्र प्रहरीको क्याम्प छ । प्रहरीलाई समेत गोली हानेर भागेको समूहलाई पछ्याएका स्थानीयले सीमामा सशस्त्र प्रहरीसँग सहयोग मागेका थिए ।
तर, इन्स्पेक्टरको फोन नउठेको र ड्युटीमा रहेका सशस्त्र प्रहरीले ‘आदेश छैन’ भन्दै गोली नहानेको स्थानीयको दाबी छ ।
भुटाहा बजार मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो । यो ठाउँ नेपालकै सबैभन्दा बढी मुसलमान भएको क्षेत्रको रुपमा चिनिन्छ ।
‘प्रहरीमाथि शंका, गृहमन्त्री नआउञ्जेल शव उठाइँदैन’
पूर्वसांसद हुसेलले घटनामा प्रहरीको गतिविधि शंकास्पद भएको बताए । ‘स्थानीयले विभिन्न चौकीमा पटकपटक फोन गर्दा पनि समयमा उठेन । जसका कारण अपराधी भाग्न सफल भए’ उनले भने, ‘प्रहरीको भूमिकामाथि नै शंका गर्नु पर्ने देखिएको छ ।’
हालसम्म स्थानीयले अन्सारीको शव उठाएका छैनन् । त्यहाँका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीसहित स्थानीय बसेर छलफल भइरहे पनि निष्कर्षमा पुगेको छैन ।
स्थानीयले गृहमन्त्री स्वयम् आएर सत्य, तथ्य, छानबिनको ग्यारेन्टी दिन सके मात्र शव उठाइने हुसेनले बताए । अभियक्त पक्राउ पर्ने अवस्था हुँदाहुँदै भारततर्फ छिर्न सफल भएको भन्दै प्रहरीविरुद्ध पनि नाराबाजी भएको छ ।
को हुन् आलम ?
सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारी स्थानीय रैयाब बोर्डिङ स्कुलका सञ्चालक थिए । उनी तत्कालिन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार समेत थिए ।
खुर्सिद ०५३ सालदेखि नै एमालेको कार्यकर्ता भएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । ‘दिनदहाडै भएको यो घटना दुःखद् छ । प्रहरीले अनुसन्धान थालेको छ केही सार्वजनिक होला’, उनले भने ।
उनका अनुसार खुर्सिद त्यहाँको मदर्साका बोर्डको सदस्य समेत हुन् । इस्लामिक सामाजिक संस्थामा पनि उनी संलग्न थिए ।
उनी मुस्लिम समुदायको मौलाना गुरु समेत हुन् ।
प्रतिक्रिया 4