१५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्व मेयर केशव स्थापितमाथि महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दावी गरेको छ ।
आर्थिक अनियमितता र गलत आचरणका कारण हटाइएकी प्रजापतिले पूर्वाग्रह साँधेर स्थापितको चरित्रहत्या गर्न खोजेको महानगरपालिकाको आरोप छ । तर रश्मिला प्रजापतिले भने स्थापितले १५ वर्षअघि महानगरमा हुँदाको स्मरण गर्दै पटक पटक आफूलाई फोन गरेर ‘हृयारेसमेन्ट’ गरेको आरोप लगाएकी छन् ।
मि टु अभियान अन्तर्गत सन्चारकर्मी प्रजापतिले केही दिनअघि फेसबुक र अन्य सन्चारमाध्यममार्फत आफूले स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनुपरेको दावी गरेकी थिइन् । स्थापितले पटक-पटक आफूलाई गाडी नै पठाएर निजी सम्बन्धको प्रस्ताव राखेको आरोप उनले लगाएकी छन् । आफूले स्थापितको प्रस्ताव नमानी प्रतिवाद गर्दा २०६० सालमा जागिरबाट निकालिएको प्रजापतिको आरोप छ ।
तर महानगरपालिकाले विज्ञप्तिमार्फत सो आरोपमा सत्यता नभएको र प्रजापतिलाई महानगरको जागिरबाट हटाइदा स्थापित मेयर नरहेको समेत जनाएको छ ।
हेर्नुहोस् महानगरपालिकाको विज्ञप्ति
महानगरपालिका अन्तर्गत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालीन शाखा अधिकृत रश्मिला प्रजापतिले अनियमितता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरेको भनी सबै कर्मचारी सम्बद्ध युनियनहरुले हड्ताल गरेपछि उनलाई अतिरिक्त समूहमा सरुवा गरिएको महानगरले जनाएको छ ।
प्रजापतिले गरेका अनियमिताको छानविन गर्ने टोली गठन भएको र सोही क्रममा अस्थायी सेवामा कार्यरत उनलाई प्रशासनिक प्रक्रियाद्वारा सेवाबाट हटाइएको महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनका बेला स्थापित महानगरको प्रमुख नरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच स्थापितले आफूमाथि पटक-पटक प्रजापतिले व्यक्तिगत पूर्वाग्रह साँधेर चरित्रहत्याको प्रयास गरेको आरोप लगाएका छन् । कर्मचारी आन्दोलनका कारण जागिरबाट अवकाश पाएकी प्रजापतिको जागिर थमौति गर्ने आग्रह आफूले सो समयमा पूरा गर्न नसकेकाले उनले प्रतिशोध साँधेको दावी स्थापितले गरेका छन् ।
प्रतिक्रिया 4