५ पुस, बुटवल । प्रदेश ५ का ८ वटा सहकारी संस्थाले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । सहकारी विभाग र राष्ट्रिय सहकारी संघले आफ्ना सदस्य सहकारीहरुको दिगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि २०७१ सालदेखि नेपाल स्तरको यो ब्राण्ड प्रदान गर्दै आएको छ ।
यो ब्राण्डका लागि विभिन्न ५० वटा सूचक राखिएका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण दुई सूचकहरु ऋण ५ प्रतिशत भन्दा बढी भाका नाघेमा र संस्थागत कोष ५ प्रतिशत भन्दा कम भएमा त्यस्ता सहकारी यो ब्रान्ड पाउदैनन् ।
यसबर्ष प्रोबेशन ब्राण्डका लागि अन्तिम परीक्षणमा नेपालका ३१ वटा बचत तथा ऋण सहकारी संस्था (साकोस) हरु सहभागी भएका थिए । तीमध्येबाट सबै सूचक पूरा गरेका २१ वटा सहकारी संस्थाले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् । ब्राण्ड प्राप्त गर्न सफल सहकारीहरुमा प्रदेश ५ बाट सबैभन्दा धेरै ८ वटा परेका हुन् ।
प्रदेश ५ का रुपन्देहीको तिलोत्तमास्थित जनउत्थान साकोस र देवदहस्थित कोलीय साकोस, पश्चिम नवलपरासी भूमहीको लुम्बिनी साकोस, सुनवलको सयपत्री साकोस र ग्रामीण साकोस रहेका छन् ।
यस्तै कपिलवस्तुको सिनर्जी साकोस, दाङको हरियाली साकोस र बर्दियाको सिको साकोसले पनि प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । प्रदेश ४ का नवलपुरको नवप्रगति साकोस र परोपकार साकोस, चितवनका चित्रवन साकोस, प्रभात दिदी बहिनी साकोसले ब्राण्ड प्राप्त गरेका छन् । कर्णाली प्रदेशबाट सल्यानको ग्रामीण साकोसले पनि उक्त ब्राण्ड पाएको छ ।
यस्तै प्रदेश ३ बाट मकवानपुरका महिला अभियान साकोस, महिला जनचेतना साकोस, महिला जागरण साकोस र महिला मिलन साकोस, धादिङको श्रोत परिचालन साकोस र दोलखाको शिक्षक कल्याण साकोसले पनि यो ब्राण्ड प्राप्त गरेका छन् ।
यस्तै प्रदेश १ बाट मोरङको सुन्दरपुर साकोस र प्रदेश २ बाट रौतहटको नव विकास साकोसले यो ब्राण्ड पाएका छन् ।
राष्ट्रिय सहकारी संघको बिहीबार काठमाडौंमा शुरु २७ औं साधारणसभाको उद्घाटन समारोहमा कृषि तथा सहकारी मन्त्री पदमा अर्यालले ती सहकारी संस्थाका संचालकलाई ब्राण्डको प्रमाणपत्र प्रदान गरिन् ।
प्रतिक्रिया 4