+

आहा–रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र एपीएफको भिडन्त

२०७५ फागुन  ९ गते १०:३० २०७५ फागुन ९ गते १०:३०
आहा–रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र एपीएफको भिडन्त

९ फागुन, पोखरा । मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु हुँदै छ । पोखरा रंगशालामा सहारा क्लबले गर्दै आएको गोल्डकपको यो १७ औं संस्करण हो ।

ट्रफी, मेडलसहित ८ लाख रुपैयाँ पुरस्कार राशीको गोल्डकपको उपाधि चुम्न १० टिम प्रतिस्पर्धामा छन् । प्रतियोगितामा ३ विभागीय, २ विदेशी र ए डिभिजन तथा मोसफलका टिम सहभागी छन् ।

मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब सुनसरी, युनाइटेड सिक्किम फुटबल क्लब भारत, थ्रिस्टार क्लब, सहारा क्लब पोखरा, डफिन्स फेमिली टिम फुटबल क्लब, क्यामरुन र हिमालयन शेर्पा क्लबबीचको उपाधि होडमा कसले बाजी मार्ला भन्ने पूर्वानुमान गर्न सहज छैन ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच हुने छ । तर यतिबेला यी दुवै टिममा स्टार खेलाडी छैनन् । एपीएफका प्रमुख खेलाडीमध्ये केही घाइते भएर अनुपस्थित छन् । सहाराले भने ३ विदेशी खेलाडीसहित नयाँ खेलाडीलाई मैदान उतार्न लागेको छ ।

‘हाम्रा केही खेलाडी अभ्यासका क्रममा घाइते भए भने केही अन्डर २१ मा छनोट भएपछि भारतको गुहाटीमा खेलिरहेका छन्,’ एपीएफ टिमका असिस्टेन्ट म्यानेजर अरुण केसीले भने, ‘तर, पनि हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’

सहारा टिमका प्रशिक्षक प्रल्हाद हिराचनले सहारामा पुराना, अनुभवी र स्टार खेलाडी नहुँदा कसको कप्तानी भन्ने नै नभएको बताए ।

‘अनुभवी र स्टार खेलाडी छैनन् तर ३ विदेशीसहित नयाँ युस्ताका खेलाडीको जोस, जाँगर लिएर मैदान उत्रदैछौं,’ हिराचनले भने, ‘राम्रो प्रदर्शन गर्नेमा खेलाडी ढुक्क छन्, म पनि ढुक्क छु ।’

एपीएफका राजेन्द्र राउत, नवीन लामा, श्याम नेपाली र आदित्य चौधरी घाइते भएर आराम गरिरहेको म्यानेजर अरुणले जानकारी दिए । यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजन गुरुङ, विश्वास उदास र राजीव लोप्चन अन्डर २१ मा पर्न सफल भएपछि भारतमा खेलिरहेका छन् । पोखरामा यसअघि भएको मनकामना केबलकार पोखरा कपमा उत्कृष्ट गोलरक्षक घोषित एपीएफका राजु नगरकोटी पनि आहा–रारा गोल्डकप फुटबलमा उपस्थित छैनन् ।

प्रमुख खेलाडीबिनाको टिमको कप्तानी टोपबहादुर विष्टले गर्ने छन् । रमेश दंगाल डिफेन्समा उत्रने छन् । एपीएफको जितका लागि सरोज कोइरला, सन्दीप शिख्राकार, रामकुमार कुमाल, वुद्धिमान राई, सन्तोष श्रेष्ठ, प्रदीप लामा, अशिष लामा, युवराज खड्का र गोलकिपर अमृत चौधरी मैदान उत्रने छन् ।

१७ औं संस्करणसम्म आइपुग्दा एपीएफले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन । एकपटक फाइनलमा खेले पनि नेपाल पुलिससँग हारेको थियो ।

कुनै बेला आयोजक सहारा क्लब पनि बलियो थियो । तर अहिले कहलिएका खेलाडी सहारामा छैनन् । सहाराले १२ औं संस्करणमा आहा–राराको उपाधि हात पारेको थियो । अहिले ३ नाइजेरियन खेलाडीसहित टिम मैदान उत्रन लागेको हो । सहारामा अधिकांश पोखराकै खेलाडी रहेको प्रशिक्षक हिराचनले जानकारी दिए ।

संकटाबाट खेल्ने खेलाडी लक्ष्मण रिजाल, नयाँ पुस्ताका खेलाडी अनील गुरुङ, सुशील लामा, टंक गुरुङ, विनोद गुरुङ, अञ्जन देवकोटा, पदम पौडेल, नाइजेरियन जुम्ल्याहा दाजुभाइ साहिप र काजिनसहित सहारा मैदानमा उत्रने छ । सहाराको किपरमा लक्की गुरुङ र सबकिपर आकाश रानाभाट छन् ।

गत वर्षको प्रतियोगितामा १२ टिम सहभागी थिए । पुलिस क्लबले गएको संस्करणको उपाधि जितेको थियो भने थ्रीस्टार उपविजेता बनेको थियो ।

उपाधि चुम्ने टिमले ८ लाख १ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छ । विजेता टिमले गएको वर्षभन्दा एक लाख बढी पुरस्कार पाउने गरी राशी वृद्धि गरिएको छ । उपविजेता टिमले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मूल नारासहित पोखरा रंगशालामा १८ गतेसम्म गोल्डकप चल्ने छ ।

यसपटकको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ थान अप्रिला स्कुटर प्रदान गरिने सहारा अध्यक्ष केशव थापाले जानकारी दिए । बेस्ट अफ फाइफ विधातर्फको पुरस्कार जनही नगद १५ हजार ट्रफी र प्रमाण–पत्र प्रदान हुने छ ।

सर्वाधिक गोलकर्ता खेलाडीलाई २५ हजार रुपैयाँ, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सहभागी प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने छ ।

प्रि–क्वाटर विजेता टिमलाई २० हजार र पराजित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ । क्वाटर फाइनल विजेता टिमलाई ३० हजार र पराजित टिमलाई २० हजार, सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०–५० हजार रुपैयाँ उपलब्ध गराउने क्लबका सचिव विश्वराज बरालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टिमको दैनिक भत्ता र दुईतर्फी यातायात खर्च आयोजकले नै व्यहोर्ने छ । १७ औं प्रतियोगितामा पनि मुख्य प्रायोजन हिमश्री फुड्सको उत्पादन आहा, रारा चाउचाउले गरेको छ । प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्ये १ जनाले सिजीको एलजी टिभी प्राप्त गर्ने छन् ।

प्रत्येक प्रि–क्वाटरका खेलहरुका ८० रुपैयाँ, क्वाटर फाइनलको एक सय रुपैयाँ, सेमिफाइनलको १ सय ५० रुपैयाँ र फाइनल खेल हेर्न २ सय रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने छ । २०७४ सालभरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी १ जनालाई ३५ हजार रुपैयाँ, प्रमाण–पत्र र दोसल्लाले ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५’ बाट सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताबाट वचत रकम सहारा क्लब पोखराद्वारा सञ्चातिल फुटबल एकेडेमी सञ्चालनका लागि खर्च गरिने आयोजकले जनाएको छ । गोल्डकपको गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने छिन् ।

लेखक
अमृत सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय