
२३ फागुन, काठमाडौंं । अर्धभूमिगत नेत्र विक्रम चन्द ‘विप्लव’को घरलाई लक्षित गर्दै नेपाल प्रहरीले बिहीबार कपिलवस्तुको शिवराज नगरपालिका–९, सिम्बरी डाँडामा ९ घन्टा सर्च अभियान चलायो । यसक्रममा त्यहाँ पार्टी कार्यकर्ताहरुलाई सैन्य तालिम दिने गरिएको भेटिएको छ ।
छापा हान्ने काममा खटिएका सुरक्षा अधिकारीहरुका अनुसार अपरेसनका क्रममा ‘सैन्य शिविर’ लेखिएको ब्यानर फेला परेका छन् ।
एक अधिकारीले भने, ‘त्यहाँ सैन्य तालिम हुने गरेको हामीलाई सूचना थियो । निगरानी पनि गरेका थियौं । नभन्दै छापा हान्दा ब्यानरहरु भेटिएका छन् ।’
प्रहरी प्रधान कार्यालयको कार्य विभाग, प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु लगायतको टोलीले विप्लवको गाउँलाई लक्षित गरेर सूचना संकलन गरिरहेको थियो । त्यसक्रममा शिवराज नगरपालिकामा ठूलो परिमाणमा हतियार लुकाइएको सूचना पाएपछि टोली ‘मुभ’ भएको थियो ।
अपरेसनका क्रममा प्रहरीले एक कार्यकर्तालाई खुट्टामा गोली हानेर पक्राउ गरेकाे छ । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले दुर्गाबहादुर रोकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
उनको घरबाट प्रहरीले दुई वटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली बरामद गरेको छ । त्यस्तै, केही तार, रिमोट डिभाइस, डायरी, कागजपत्र र महत्वपूर्ण दस्तावेज बरामद भएको जनाइएको छ ।
यो पनि, विप्लवका नेता भन्छन्- बम हान्दा मरेकालाई राहत दिन्छौं, प्रहरी भन्छ- बोल्न सक्दैनौं !
‘दुर्गाबहादुरलाई नियन्त्रणमा लिने क्रममा गोली पनि चलाउनु परेको थियो । यद्यपि, अवस्था सामान्य छ’, अधिकारीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले छापा हान्ने क्रममा विप्लव कार्यकर्ताले ठूलो संख्यामा विद्यार्थीलाई सडकमा निकालेर अवरोध गर्ने कोशिश गरेका थिए । यसक्रममा केही व्यक्ति त्यहाँबाट भागेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
प्रहरी अधिकारीहरुले गाउँमा हतियार अझै लुकाइएको हुनसक्ने आशंका गरेका छन् । ‘हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भन्छन् ।
स्रोतका अनुसार ११ फागुनमा ललितपुरको नख्खुमा भएको विष्फोटपछि सरकारी स्तरबाटै सुरक्षा निकायलाई विप्लव समूहप्रति आक्रमक नीति अख्तियार गर्न निर्देशन जारी भएको थियो ।
प्रतिक्रिया 4