
३ चैत, लाहान । सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लाहानमा सुरु गरिएको छ ।
रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो ।
सिरहाको लहानमा आइतबार अपरान्ह शुरु भएको दुई दिने बैठकका सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ ।
नेपाली नागरिकता प्रमाणपत्र देखाएर मात्रै बैठक हलमा प्रवेश गराइएको प्रत्यक्षदर्शी पत्रकार वीरेन्द्र केएमले अनलाइनखबरलाई जानकारी दिए ।
डा. सिके राउतले स्वतन्त्र मधेसको एजेण्डा नछाडेको भनेर आलोचना भइरहेका बेला बैठकमा राष्ट्रिय गान र नागरिकता अनिवार्य गरेर पृथकतावादी अभियान त्यागेको सन्देश दिन खोजिएको स्रोतले जनाएको छ ।
दुई दिन चल्ने बैठकले भावी रणनीति तय गर्नेछ ।
यसैवीच गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा सम्वोधन गर्दा अब सिके राउतले ‘स्वतन्त्र मधेस गठबन्धन’ नाम फेर्नुपर्ने बताइसकेकाले पार्टीको नामका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया 4