+
+

थुनुवाको आत्महत्या प्रयासबारे छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते १८:३५

२७, वैशाख, चितवन । इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा एक थुनुवाले आत्महत्या प्रयास गरेको घटनाको छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार भएको सर्वपक्षीय बैंठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरेको छ ।

समितिलाई ७ दिनभित्र यथार्थ अवस्थाको जानकारी समेटिएको प्रतिवेदन दिने कार्यादेश तोकिएको छ । समितिमा कालिका नगरपालिका दुई जना वडाध्यक्ष, आरोपीका आफन्त दुई जना, जिल्ला प्रहरी कार्यालयका डिएसपी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, मान्यता प्राप्त राजनीतिक दलका एक एक जना प्रतिनिधि रहने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चोरी घटनाका आरोपी समीर घिसिङले बिहीबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालयको हिरासत कक्षको शौचालयभित्र आत्महत्या प्रयास गरेको प्रहरीको भनाइ छ । हाल उनको चिन्ताजनक अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कालिका नगरपालिका –१ पदमपुरको राष्ट्रिय आधारभूत विद्यालयबाट ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले समिर घिसिङ र अर्का एक व्यक्तिलाई समातेर गत बुधबार टाँडी प्रहरीलाई बुझाएको थियो ।

घिसिङका परिवार र आफन्तले प्रहरीले घिसिङलाई अनावश्यक दवाव दिएर आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । एक थुनुवा बन्दीका अनुसार समिरले शौंचालयको झ्यालको ग्रिलमा सर्टको पासो लगाएका हुन् ।

घटनाको विरोध गर्दै बिहीबार साँझ पदमपुर र टाँडीमा स्थानीयले प्रर्दशन र तोडफोड गरेका थिए । पूर्वपश्चिम राजमार्गसमेत बन्द गर्दै आन्दोलनमा उत्रिएका केही स्थानीयलाई प्रहरीले पक्राउ गर्नुको साथै अश्रुग्यास पनि प्रहार गरेको थियो ।

प्रहरीले ३७ जनालाई पक्राउ गरेको थियो भने २९ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय टाँडीको हिरासत कक्षमा १३ जना छन् ।

हिरासतभित्र भएको घटनाको विरोधमा उत्रिएका स्थानीय र प्रशासनका बीचमा पाँच बुँदे सहमति भएको छ । छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने, प्रहरीले पक्राउ गरेका आन्दोलनकारी छाड्ने, इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधि ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय झिकाउने, बिरामीको उपचार गर्ने, दुवै पक्ष घटनाका बिषयमा थप सम्वेदनशील हुने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?