
‘लाखौँ खर्च गरेर पढेको छ जता गएपनि इन्टर्न मात्र गराउँछ ! के दु:ख गर्नु ? बरु घरमै सुतेर बस्छुँ ।’
भक्तपुरकी सविना श्रेष्ठले कामबाट दिक्क भएपछि यही निर्णय गरिन् । दिक्क हुनुपर्ने कारण एउटा मात्र थिएन । पढाई सक्दाको लाखौं ऋण । तीन वर्षको समय बर्बाद ! यी दिक्क लाग्नुका देखिने कारण ।
अदृश्य कारणहरु पनि छन् । ‘स्विपर’ काम गर्ने बुवाआमाले ऋण गरेर पढाएका थिए । बुवा मुटुरोगी भएपनि काम गर्न बाध्य थिए । आमा दैनिक १८ घण्टा काममा खट्थिन् ।
सेतो ड्रेसमा अस्पताल आउजाउ गर्दा छिमेकीले भन्थे, ‘तैलेँ त प्रगति गरिस् । कस्तो इज्जतिलो पेसा, अस्पतालको नर्स !पैसा पनि राम्रै होला नि ?’
तर, उनको व्यथा कसलाई के थाहा ? इज्वतिलो पेसा भन्दा गिज्याएको भान हुन्थ्यो । चुपचाप आफ्नो बाटो लाग्थिन् । हप्ता, महिना गर्दा गर्दै वर्ष बित्यो । तर पारिश्रमिक आउने काम भेटिनन् । त्यसपछि ‘भोलिन्टियर’ काम छोडेर घरमै बस्न थालिन् । केही महिना घरमा बसेपछि फेरि दिक्क !
‘गर्ने के त ?’
उपाय केही थिएन । बाध्य भएर पानीपुरी चटपटे व्यावसाय सुरु गरिन् ।
‘अस्पतालमा काम गरेको मान्छे पानीपुरी चटपटे बेच्ने ?’
छरछिमेकमा हल्लाखल्ला हुन थाल्यो । उनको नर्सिङ सर्टिफिकेटकै शंका गर्न थाले ।
त्यसपछि झनै दिक्क ।
‘काम गर्न जाउँ, पैसा आउन्न् । घरमै बसुँम्, बसिसाध्य छैन् ।’
फेरि अस्पताल नै फर्कने निर्णय गरिन् । यो पटक घरबाट नजिक मानव अंग प्रत्यारोपण केन्द्रले बोलायो । त्यहाँ १८ महिना भोलेन्टियर गरेपछि बल्ल जागिर पाइन् ।
तैपनि अस्पतालले शर्त राख्यो— ‘सात दिन काम गर्दा चारदिन तलव, तीन दिन फ्रीमा काम गर्नुपर्छ ।’
बेरोजगार बस्नुभन्दा त्यही ठीक । दायाबायाँ नसोची ‘हुन्छ’ भनिन् । अहिले उनी मानव अंग प्रत्यारोपण केन्द्रमै करारमा जागिरे छिन् । उचित पारिश्रमिक र सेवा सुविधा बढाउने पर्ने माग राख्दै आन्दोलन पनि भयो तर, माग सम्बोधन भएको छैन ।
****
‘ग्लामरस फिल्ड । आकर्षक तलब र लाइफ सेटल ।’
जेनी तामाङले नर्सिङ पढ्न सुरु गर्नुअघि नर्सिङ पेशाप्रति बनेको ‘चित्र’ थियो यो । जति समय बित्दै गयो, नर्सको बारेमा मष्तिष्कमा बनेको चित्र धूमिल बन्दै गयो । पढाई सकेर वर्ष दिन ‘इन्टर्न’ सक्दा पनि काम पाइनन् ।
त्यसपछि भने अचम्ममा परिन् । नर्सिङ पढ्न सुझाव दिनेहरुका अनुहार सम्झदाँ रिस उठ्यो । २ वर्ष बेरोजगार भएपछि अहिले एउटा स्कुलमा ‘स्कुल नर्स’ छिन् ।
‘तलब सुनाउन लाज लाग्छ । व्यर्थै पढिएछ जस्तो भएको छ’ जेनी सुनाउँछिन्, ‘ रजिष्ट्रेड नर्स हूँ तर स्कुल बस्दा बस्दै अलिअलि जानेको कुरा पनि बिर्सिइसकेँ ।’
अहिले भरोसा अस्पतालमा काम गर्ने समिक्षा ले पढाइ सकेको धेरै भएको छैन् । उनीपनि ‘इन्टर्न’ सक्नासाथ क्लिनिकदेखि अस्पताल जागिरकै लागि भौतारिइन् ।
अधिकांश ठाउँबाट जवाफ आउँथ्यो, ‘सुरुमा इन्टर्नसीप गर्नुपर्छ । त्यसपछि मात्र जागिर ।’
एक ठाउँमा ‘इन्टर्न’ गरिसकेको मान्छे अर्को ठाउँमा फेरि ‘इन्टर्न’ ?
पढाइसक्दा ६ लाख खर्च भइसकेको थियो । इन्टर्न नगर्दा झन बेरोजगार हुने डर । उनले भरोसा अस्पतालको प्रस्तावलाई’हुन्छ’ भनिन् । ६ महिनाको इन्टर्न सकेपछि अहिले उनी मासिक १३ हजारमा काम गरिरहेकी छिन् ।
वनस्थलीस्थित नेशनल किड्नी सेन्टरमा कार्यरत सुमित्राको कथा पनि उनीहरुको भन्दा फरक छैन् । उनी किड्नी सेन्टरमा आएका बिरामीलाई डायलासिस गराउँछिन् । दैनिक ८ घण्टा काम गर्नुपर्छ । काम सुरु गरेको २ वर्ष पुग्दा उनको तलब १७ हजार मात्रै पुगेको छ । ‘सिनियरहरुको धेरै हुन्छ हामी नयाँको यस्तै हो’ उनी सुनाउँछिन् ।
*****
यी त केही प्रतिनिधी पात्रहरु मात्रै हुन्, नर्सिङ क्षेत्रमा रहेका अधिकाशं पात्रहरु कुनै न कुनै पीडाबाट गुज्रिरहेका छन् ।
नेपाल नर्सिङ संघका अनुसार अहिले पिसिएल नर्सिङ पढाइसक्दा मात्र ६ देखि ८ लाख खर्च लाग्छ । बिएस्सी नर्सिङको लागि १४ देखि १७ लाखसम्म खर्च गर्नुपर्छ । पिसिएल नर्सिङ सक्न तीन वर्ष लाग्छ भने बिएस्सी नर्सिङ सक्न चार वर्ष । यो बीचमा गर्नुपर्ने अन्य खर्च त छँदैछ ।
पढाई खर्च ज्यादा, पारिश्रमिक कम र काम धेरै अहिले धेरै नर्सहरुले भोगेको साझा समस्या हो । आइसीयू होस् या जनरल वार्ड हरेक ठाउँमा नर्स नै उपलब्ध हुनुपर्छ । बिरामी धेरै र नर्स कम भएकाले कामको प्रेसर ज्यादा हुन्छ । यसरी दिनरात बिरामीको सेवामा खट्ने नर्सहरुको अवस्था भने भद्रगोल बन्दै गएको छ ।
किन त ? किन बिग्रिँदैछ अवस्था ?
नेपाल नर्सिङ काउन्सिलका अनुसार देशहभर नर्सिङ पढाउने तीन सय वटा क्याम्पस छन्, जसबाट वर्षेनी सात हजार नर्सहरु उत्पादन हुदाँ त्यही हाराहारीमा बाहिरिन्छन् । अनमी सहित ८७ हजार सात सय ४८ नर्स काउन्सिलमा दर्ता छन् । जसमध्ये ८ सय ४२ जना विदेशी ।
अहिले सरकारी स्वास्थ्य संस्थामा अनमी र मिडवाइफ गरेर १२ हजार नर्स कार्यरत छन् ।
निजी अस्पतालमा १३ हजार मात्र नर्स कार्यरत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दीमा दुई हजार नौ सय ४५ खाली छ । होम नर्सिङ गर्ने र स्कुलमा नर्सहरुको सङ्ख्या एकदमै कम छ ।
विदेश गएका र नेपालमै बसेर अन्य कामहरु गरेका नर्सहरुको तथ्यांक काउन्सिलसँग छैन । ८७ हजार भित्रैबाट ५ हजार नर्सको मृत्यु भइसकेको छ ।
लगभग २५ हजार नेपाली नर्स विदेशमा रहेको काउन्सिलको अनुमानलाई मान्ने हो भने पनि नेपालमा अनमीसहित २५ हजारले मात्रै नेपालमा काम गरिरहेका छन् । २५ हजार बढी रजिष्ट्रेड नर्समात्रै नेपालभित्रै बेरोजगार छन् ।
बजारशास्त्रको सामान्य सिद्धान्त अनुसार मागभन्दा आपूर्ति बढी हुनासाथ भाउ घट्छ । तर बजारशाश्त्रको यो सिद्धान्त यहाँनिर मेल खादैन । आवश्यकता नै नभएर भन्दा पनि आवश्यक जनशक्ति स्वास्थ्य संस्थाले नराखेर यो अवस्था सिर्जना भएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ । सुत्केरी वार्डको एउटा बेडमा २ जना नर्स आवश्यक पर्छन् । आइसीयू, सीसीयू र पोस्ट अपरेटिभ वार्डमा एक बिरामी बराबर एक नर्स हुनुपर्ने मापदण्ड छ । त्यस्तै अपरेसन थिएटरमा एक टेबलमा ३ जना नर्स हुनुपर्छ ।
हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ जना स्वास्थ्यकर्मी चाहिने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउँदा १० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी उपलब्ध छन् ।
अहिले सरकारी अस्पतालमा १ नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । निजी अस्पतालको अवस्था पनि त्यो भन्दा झनै भद्रगोल छ ।
विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डमा नेपाल सरकारले पनि हस्ताक्षर गरेको छ । तर, त्यसअनुसार पदपूर्ति गर्नेतिर ध्यान गएको छैन । यसले गर्दा ठूलो संख्यामा नर्स बेरोजगार छन् ।
कति पारिश्रमिक पाउँछन् ?
नेपाल सरकारले नर्सहरुको न्युनतम पारिश्रमिक २३ हजार ५ सयबाट सुरु गरेको छ । एक तहदेखि १२ औं तहसम्म छुट्याइएको नर्सहरुलाई पारिश्रमिक पनि सरकारी निजामती कर्मचारी हाराहारीमा तोकिएको छ । तर सरकारले तोकेको न्युनत पारिश्रमिक नदिएको भन्दै नेपाल नर्सिङ संघले पटक पटक आन्दोलन गरेको छ । यही साता मात्रै नर्सिङ संघले न्युनतम पारिश्रमिक तत्काल लागु नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडौं मेडिकल कलेज अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १३ हजार तोक्दा सातौँ तहलाई १७ हजार तोकेको छ । त्यस्तै नवौँ तहलाई २० हजार पाँच र नर्सिङ प्रमुखलाई ३० हजार रुपैयाँ तोकेको छ ।
नर्भिक अस्पतालले नर्सिङ पाँचौँ तहलाई १० हजार ६ सय ५० तोकेको छ भने सातौँ तहको नर्सलाई २३ हजार तोकेको छ । नर्सिङ प्रमुखलाई भने १ लाख रुपैयाँ तोकेको छ । बी एन्ड बी अस्पतालले नर्सिङ पाँचौँ तहलाई १३ हजार १ सय तोक्दा छैटौँ तहलाई १५ हजार ६ सय तोकेको छ । त्यस्तै सातौँ तहलाई २३ हजार र नर्सिङ प्रशासनिक नवौँ तहलाई ३० हजार तोकेको छ । त्यहाँ नर्सिङ प्रमुखलाई भने ५१ हजार तोकेको छ ।
त्यस्तै ग्रान्डी इन्टरनेसनल अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १६ हजार तोक्दा सातौँ तहलाई ४० हजार तोकेको छ । नर्सिङ प्रशासक नवौँ तहलाई ७५ हजार तोक्दा नर्सिङ प्रमुखलाई १ लाख ५१ हजार तोकेको छ ।
वीर अस्पतालले अनमीलाई मासिक २२ हजार तोकेको छ भने पाँचौँ तहका नर्सलाई २३ हजार ५ सय तोकेको छ । त्यस्तै छैटौँ तहका नर्सलाई ३० हजार पाँच सय छ भने नर्सिङ अधिकृतलाई ४० हजार १ सय ५० तोकिएको छ । नवौँ तहमा कार्यरत नर्सको ४० हजार १ सय ५० छ भने नर्सिङ प्रमुखलाई ४२ हजार ८ सय ८० तोकिएको छ ।
पाटन विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पारिश्रमिक पनि वीर अस्पतालकैहाराहारीमा छ ।
के हेर्दैछ स्वास्थ्य मन्त्रालय ?
स्वास्थ्य मन्त्रालयले एक वर्षअघि नर्सिङ महाशाखा नै गठन गरेको छ तर, यो महाशाखाले अपेक्षिकृत काम गर्न सकेको छैन । नर्सिङ क्षमता विकास शाखाकी प्रमुख कविता पाण्डेका अनुसार स्वास्थ्य संस्थाको लागि नयाँ मापदण्ड बनाउन १ वर्ष लाग्यो ।
स्वास्थ्य संस्थामा सर्भे गरेपछि नयाँ मापदण्ड तयार हुने उनी बताउँछिन् । ‘सर्भे नगरिकन अहिले नै नर्सको व्यावस्थापन गर्नेबारे केही भन्न सकिन्न् । बेरोजगार दर बढेपछि उनीहरुलाई व्यावस्थापन गर्न मन्त्रालयले काम गरिराखेको छ’ पाण्डेले अनलाइनखबरसँग भनिन्, ‘सरकारी र प्राइभेट दुबैमा अत्यधिक नर्सहरु कम भएको थाहा छ । नयाँ मापदण्ड नै नबनेकाले हामीले केही गर्न सकेका छैनौं ।’
सर्भे गरेर नयाँ मापदण्ड तयार हुन लाग्ने समयबारे उनी अनविज्ञ छिन् । ‘निजी अस्पतालले चाहने हो भने आफ्नो मापदण्ड आफै बनाएर काम गराउन सक्नुहुन्थ्यो तर उहाँहरुले पनि थोरै नर्समा काम चलाइरहनु भएको छ’ भन्छिन्, ‘सरकारीमा त भद्रगोल छ हामी किन धेरै नर्स राख्ने भन्ने उहाँहरुको सोचले पनि धेरै कुराहरु बिग्रिएको छ ।’
संघलाई मन्त्रालयले टेरेन् : अध्यक्ष पोखरेल
नर्सहरुको हकहितको लागि बोल्ने नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघले नर्सहरुको सम्स्याको बारेमा मन्त्रालयलाई दबाव दिइरहेको छ । नर्सहरुको समस्या समाधान र वृद्धी विकाश गर्ने मन्त्त्रालयको सोच नै नभएको संघकी अध्यक्ष तारा पोखरेलको आरोप छ । स्वास्थ्य मन्त्रालयले नर्सिङ क्षेत्रलाई प्राथमिकतामा नराखेको बताउँछिन् ।
‘सरकारी अस्पतालले नै भोलेन्टियर बनाएर नर्सहरु राखेको छ । विभिन्न ठाउँमा कोटाहरु खाली हुदाँपनि भर्ती गरेको छैन्’,उनी भन्छिन्, ‘नर्सहरुको श्रम शोषणको बारेमा भनेर साध्य छैन् । तर, स्वास्थ्य मन्त्रालयले नसुन्दा चाहेर पनि हामीले केही गर्न सकेका छैनौं ।’
निजी अस्पतालले कम जनशक्ती राखेर काम लगाउन छोडेको छैन् भने स्वास्थ्य मन्त्रालयले नर्सहरुको समस्या सुनेको छैन् । यही अवस्था रहिरहने हो भने काम पाएका नर्सहरु शोषणमा परिरहन्छन् । बेरोजगार दर भयानक बढ्ने देखिन्छ । अनिश्चित भविष्य देख्दा देख्दै कोही किन नर्स बन्न चाहन्छ ?
प्रतिक्रिया 4