+
+

बम बनाउने विद्यार्थी !

ऋग्वेद शर्मा ऋग्वेद शर्मा
२०७६ जेठ १२ गते २०:५६

१२ जेठ, काठमाडौं । आइतबार दिउँसो काठमाडौं घट्टेकुलोमा ग्यास सिलिण्डर बिस्फोट भन्ने खबर फैलिएको केहीबेरमा पत्ता लाग्यो, पड्किएको सिलिण्डर होइन, बम हो । एकजनाको घटनास्थलमै मृत्यु र एकजना घाइते भएको घटनामा नेकपा विप्लव समूहको संलग्नता रहेको पुष्टि भयो ।

घटनास्थलमा विप्लवको पर्चा भेटिनु र ट्रमा सेन्टरमा उपचाररत घाइते रविन केसी विप्लव सम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष हुनुले केही प्रश्नहरु गम्भीर बनेका छन् । विद्यार्थीको कोठामा विस्फोटका सामग्री किन राखिएका थिए ? के त्यहाँ भाडामा कोठा लिएर बम बनाउने काम हुन्थ्यो ?

पहिले सिलिण्डर विस्फोट भनिएको कोठामा लडिरहेको मृत शरीर र कुनामा जोडिएको सग्लो सिलिण्डर देखेपछि बम पड्किए भन्दै स्थानीय बासिन्दामा त्रास फैलिएको थियो । सिलिण्डर विस्फोट भन्ने सुन्दा भैपरि दुर्घटना ठानेर दुःखी बनेका स्थानीय बासिन्दामा बम पड्किएको भन्ने सुन्नेवित्तिकै फैलिएको त्रासले जटिलता उत्पन्न भएको छ ।

पहिले विस्फोटमा ज्यान गुमाएकालाई सम्झिएर भावुक बनेका स्थानीयले बम बनाउँदै गर्दा विस्फोट भएको भन्ने सुन्नेवित्तिकै रीस मिश्रित भावमा भनिरहेका थिए, ‘आफैंले खनेको खाल्डोमा आफै परेछन् । विद्यार्थी बनेर बस्ने अनि बम बनाउने कस्ता हुन् ?’

विस्फोटको केही मिनेटमा नै घटनास्थल पुगेका स्थानीय सागर दाहाल भन्छन्, ‘बारुद जस्तो केही गनाइरहेको थियो । मासुका चोक्टाहरु छरिएको थियो । टाउको समेत छ्याल्लब्याल्ल थियो । शरीर आधा सिरकले छोपिएको अवस्थामा थियो । मैले फोटो लिएँ । कुनामा सिलिण्डर सग्लो देखेपछि सिलिण्डर पड्केको होइन रहेछ भन्ने थाहा भयो ।’

घट्टेकुलोमा लामो समयसम्म पनि पड्किएको सिलिण्डर हो कि बम हो भन्ने अन्योलतामा स्थानीय बासिन्दा समूह समूहमा कुराकानी गरिरहेका देखिन्थे । बम हो भन्ने निस्कर्ष देखिएपछि प्रत्येक समूहमा साझा कुरा थियो, ‘यहीँनेर बसेर बम बनाउने रहेछन् । समाज कस्तो असुरक्षित हुँदै गयो । अब कसले कसलाई कोठा भाडामा दिने ? कसलाई विश्वास गर्ने ? विद्यार्थी भनेका त यस्ता निस्किए ।’

‘आवाज आएको केहीबेरमा नै १२÷१३ वर्षको बच्चाहरु पनि दौडेर पड्केको घरमा नै पुगिसकेछन् । हामी त आत्तिएर भाग्यौँ । त्यति नै बेला मलाई हस्पिटल पु¥याइदिनु भन्दै एउटा केटा दौडियो । उसलाई एउटा मोटरसाइकलमा हालेर लगिदियो’ एक स्थानीय महिलाले भनिन् ।’

‘खै हामीले त उसलाई कहिल्यै देखेकै थिएनौँ । त्यतिबेलासम्म पनि सिलिण्डर नै पड्किएको होला जस्तो लागिरहेको थियो । १० मिनेट जस्तोमा प्रहरी पनि आइहाल्यो । अब कति दिन घरमा नै बस्न पनि डर लाग्ने भयो ।’

स्थानीय बासिन्दासँगै मिसमास भएका युटुबर र सञ्चारकर्मीहरु वरपर घरको छत छतमा पुगेर भिडियो÷फोटो लिइरहेका थिए । आधाकारिक धारणा नआउँदा जे भेटिन्छ त्यही कैद गरिरहेका उनीहरु स्थानीयलाई बोलिदिन आग्रह गरिरहेका थिए । त्रासमा देखिएका स्थानीय भने आफै उत्सुकता मिश्रित प्रश्न गरिहेका देखिन्थे ।

‘यो चाउचाउ बाजेको घरमा केटाहरुको आवतजावत बाक्लै देखिन्थ्यो । कोठामा बस्ने त्यस्ता रहेछन् र पो’ विस्फोट भएको घरतर्फ इङ्गित गर्दै एक स्थानीयले भने, ‘भोलि बन्द भन्ने हल्ला थियो, कतै बम राख्ने तयारी पो गरिरहेका थिए कि ।’

साघुँरो गल्लीमा प्रहरीले भिड बनेर जम्मा भएका मानिसहरु हटाउँदै बम डिस्फोजल टोलीलाई अघि बढाएपछि त्रासका वातावरण अझ फैलियो । ‘अरु पनि बम भेटियो रे ! विप्लवका मान्छेहरुले बम राखेका रे ! बम पड्काउन बम बनाउँदै गरेका थिए रे !’ जस्ता हल्लाहरु चलिरहँदा भएको के हो भन्ने अन्योल व्याप्त थियो ।

घट्टेकुलोमा जम्मा भएका स्थानीय बासिन्दा सुकेधारामा पनि बम पड्किएर मान्छे मरेको भन्ने सुन्ने वित्तिकै थप डराएका थिए । उनीहरु एकअर्कालाई नै प्रश्न गरिरहेका थिए, ‘घरमै बस्ने वातावरण पनि नहुने यो कस्तो सुरक्षा व्यवस्था हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?