
१३ असार, काठमाडौं । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।
एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो ।
प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । यद्यपि, पीडितलाई उजुरी दिन आग्रह गरिएको छ ।
भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेकी छन् । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए ।
अघिल्लो वर्ष १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
प्रहरीले दिउँसो ११ बजे पत्रकार सम्मेलन गरेर उनीसहित श्रंखलाबद्ध सिरिञ्ज आक्रमणमा संलग्न व्यक्तिलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4