+
+

चिकित्सकको अनुभव : बिरामी, मृत्यु र डाक्टरलाई पिटाइ

अरुणा उप्रेती अरुणा उप्रेती
२०७६ असार १४ गते १९:२३

हरेक मानिसका आफ्नै व्यक्तिगत समस्या र अप्ठ्याराहरुका चाङ छन् । ती सबै बिब्ल्याँटाहरु सम्हालेर आफ्नो ठाउँमा ल्याएर मानिस खुसी हुने प्रयास गर्छ । तर आफ्नो समाजका उँचनिच र दुःखदायी घटनाहरुले पुनः ती खुसीलाई लुटेर लगिदिन्छ ।

यो कथा हाम्रा वरपर सबैको हो । म पनि बेला-बेलामा यस्तै अप्ठ्यारोमा हुन्छु । म पेशाले डाक्टर । ममात्र होइन, मेरा श्रीमानसमेत चिकित्सक हुनुहुन्छ । हामीले जीवनभर आफ्नो क्षमताले भ्याएसम्म रोेगीहरुको सेवा गर्ने प्रयास गर्‍यौं । यस्तोमा चिकित्सासँग हरेक कुराले हामीलाई छुन्छ ।

बेला-बेलामा हामीले ‘डोटीमा डाक्टरले पिटाइ खाए’, ‘नर्सिङ होममा लापरवाहीले मृत्यु’ जस्ता खबर पढ्दै आएका छौं । यस्ता खबरले अरुलाई कस्तो हुन्छ कुन्नि, तर मलाई बारम्बार झस्काउँछ ।

मैले यस्ता निजी अस्पतालमा पनि देखेको छु, आफ्नो अस्पतालमा आएका बिरामीलाई ‘हामीकहाँ उपचार हुँदैन, सुविधासम्पन्न सरकारी अस्पतालमा लैजानू’ भन्ने गरेका छन् । एउटा घटना मेरै आँखाअघि हुन पुग्यो ।

अरुणा उप्रेती

केही वर्ष अघिको कुरा हो, साँखु घर भएकी ४५ वर्षीया एक महिलाले घरमा राखेको एसिडलाई पानी भन्ठानेर पिइछन् । उनी मैले चिनेका व्यक्तिकी आफन्त थिइन् । उनीहरुले मलाई खबर गरेपछि म पनि अस्पताल पुगेँ ।

जुन अस्पतालमा उनलाई लगिएको थियो, उनीहरुले थाहा पाएछन्, उनको घाँटीको भित्री भाग धेरैजसो जलेको थियो । चिकित्सकहरुले हेर्नेवित्तिकै अवस्था थाहा पाए । उनीहरुले आपसमा सल्लाह गरे र हामीकहाँ यो उपचारको सुविधा छैन भनेर बिरामीलाई अन्तै लैजान अनुरोध गरे । म अस्पताल पुग्दा उनलाई अर्को अस्पताल लैजाने तयारी भइरहेको रहेछ ।

मलाई थाहा भयो, अन्य अस्पतालमा झैँ उपचारको सुविधा यो अस्पतालमा थियो । चिकित्सकहरु पनि निकै अनुभवी थिए । मैले यस विषयमा चासो राखेपछि उनीहरुले भने, ‘उपचार गर्दागर्दै उनको मृत्यु भयो भने साँखुका जनता नै उर्लेर आएर तोडफोड गर्छन् भन्ने डर भयो । यही कारण उनलाई हामीभन्दा बढी सेवा दिन सक्ने सरकारी अस्पताल पठाएका हौँ ।’

अहिले मलाई लाग्छ, ती विरामीलाई उपचार नगरी अस्पतालबाट फर्काउनुका पछाडि त्यही तोडफोड गर्ने संस्कृति जिम्मेवार छ ।

पछि ती विरामी निको भइन् । म पनि उनको उपचारमा प्रत्यक्ष संलग्न भएर सहयोग गरेँ । यसरी उपचार गर्दा अर्को अस्पताललाई विरामीका आफन्तले ‘यदि ती महिलाको मृत्यु भए पनि उनका परिवारले केही पनि गर्ने छैनन्’ भन्ने आश्वासन दिनुपरेको थियो ।

केही दिनअघि वीर अस्पतालमा ट्रमा सेन्टरमा, उपचार गर्न आएका बिरामीको शल्यक्रिया गर्दा ‘फलानो व्यपारीबाट नै सामान किन्नुपर्छ’ भनेर सर्जनले भनेको र ३० प्रतिशत कमिसन उक्त सर्जनले लिएको समाचार आयो । तर, राजनीतिले धेरै ठाउँ पाउने नेपाली जगतमा यस्तो ‘बदमाशी’को धेरै छलफल भएन । प्रधानमन्त्रीले बीबीसीमा के बोलेभन्दा वीर अस्पतालको ट्रमा अस्पतालमा एक डाक्टरले गरेको ‘बदमाशी’ ले जनतालाई बढी दुःखी गराउनुपर्ने थियो ।

वीर अस्पतालको कक्ष र ट्रमा सेन्टरमा साधारण जनता जाँदा यसैगरी ठगिन्छन् । तर, स्वास्थ्य मन्त्रालय मौन हुन्छ । ‘स्वास्थ्य मन्त्रालयमा त डाक्टरको सरुवा बढुवामा नै लाखौंको चलखेल हुन्छ । कसले वीर अस्पताल वा निजी अस्पतालको ‘बदमाशी’ को वास्ता गर्न भ्याउँछ र ?’ स्वास्थ्य मन्त्रालयमा काम गर्ने मेरा एक साथीले भनेका थिए ।

निजी अस्पतालमा काम गर्ने डाक्टरले त झन् आफ्नो नाम बचाउन राम्ररी काम गर्छ । बिरामीलाई बेवास्ता गरेर, ढिलो उपचार गरेर त डाक्टरले आफ्नो नाममा धक्का लाउन चाहँदैन भन्ने कुरा पनि बुझ्नु पर्छ सबैले

अस्पतालमा बढ्दो विकृति

कुनै पनि अस्पतालमा विरामीको मृत्यु हुनेबित्तिकै विरामीका मानिसहरूले ‘डाक्टरको लापरवाहीले गर्दा मृत्यु भयो’ भनेर ‘दोष’ लगाउँछन् । अनि त्यहीबीचमा पहिले कहिले नदेखिएका विरामीका ‘बन्धु’हरु पाखुरा सुर्कँदै अस्पतालमा आउँछन् । तुरुन्तै अस्पतालमा तोडफोड हुन्छ, एक प्रकारले गुण्डाराज चल्छ ।

भिडको निर्देशन गर्ने हाम्रो राजनीति सत्य तथ्य बुझ्नेतिर लाग्दैन । त्यसैले ठूलो शहरमा पनि प्रहरी प्रशासन मौन बस्छ । अनि आफ्नो ज्यान बचाउन, तोडफोडबाट बचाउन निजी अस्पतालले बिरामीका मानिसलाई दश-बाह्र लाख रुपैयाँ दिन बाध्य हुन्छ । जब यसरी पैसाको लेनदेन हुन्छ, थाहा पाउनेले अस्पताल र डाक्टरको गल्ती नभए किन पैसा दिइयो भनेर सबै गल्ती अस्पतालको खातामा पर्न जान्छ ।

यी सबैको बीचमा डाक्टरको ‘गल्ती’ वा ‘लापरवाही’ थियो कि थिएन ? खासमा यसभित्रको राजनीति के थियो भनेर सत्य कुरा बाहिर आउँदैन । चिकित्सक र डाक्टरलाई त बिरामीका आफन्तलाई तिरेको पैसा अर्को बिरामीबाट उठाउन हतारो हुन्छ । सकेसम्म चाँडै कुरा सकियोस् र काम गर्ने वातावरण होस् भन्ने मात्र चाहाना यस्ता चिकित्सक र अस्पतालले राख्ने गरेको मैले अनुभव गरेकी छु ।

अहिलेसम्म बाहिर नआएको कुरा के हो भने यो सबै काम विरामीका निकट आफन्तले गर्दैनन् । किनभने, बिरामीको मृत्युले आफन्तलाई ठूलो शोकमा पुर्‍याएको हुन्छ । यो काम गर्ने केही बिचौलिया हुन्छन् । यिनी बिचौलियाले नै पैसाको माग राख्छन् र पछि पैसाको निश्चित हिस्सा उनीहरुले लैजान्छन् । अस्पतालको गल्ती भएको कुरा पनि यिनीहरुले नै फैलाउँछन् ।

यस विषयमा जिज्ञासा राख्दा एकजना निजी अस्पतालका चिकित्सकले भनेका थिए, ‘हामीले गोजीबाट पैसा दिँदैनौं । त्यो पैसा बिरामीबाटै उठाउने हो । हेर्दा बिरामीका आफन्तले पैैसा पाएजस्तो देखिए पनि त्यो बिरामीहरुकै पैसा हो ।’

चिकित्सक भएको नाताले म के चाहिँ भन्न सक्छु भने कुनै पनि डाक्टर आफ्नो कमजोरीले कुनै पनि बिरामीको मृत्यु होस् भन्ने चाहँदैनन् । आफ्नो कारणले मृत्यु हुनु भनेको चिकित्सक समाजमा आफू कमजोर हुनु हो ।

त्यसमाथि पनि निजी अस्पताल त कुनै पनि हालतमा आफ्नो अस्पतालमा त्यस किसिमको कमजोरी होस् भन्ने चाहँदैनन् । करोडौं रुपैंया लगानी गरेर सुरु गरेको अस्पतालमा यस किसिमका गतिविधि हुनु भनेको लगानी मात्रै खेर जानु होइन, आफ्नो प्रतिष्ठामा पनि गुमाउनु हो ।

यो संसारमा हरेक दिन लाखौं मानिसको मृत्यु हुन्छ । आफ्नै अस्पतालमा चिकित्सक वा लगानीकर्ताका आफन्तलाई पनि अस्पतालमा भर्ना गरिन्छ । र, यसरी उपचार गर्दागर्दै धेरै चिकित्सकले आफ्नी आमा र श्रीमती गुमाएका छन् । यो कुराको खोज कसले गर्ने ? यस्ता प्रश्नहरूको उत्तर कसले दिने ?

निजी अस्पतालमा काम गर्ने डाक्टरले त झन् आफ्नो नाम बचाउन राम्ररी काम गर्छ । बिरामीलाई बेवास्ता गरेर, ढिलो उपचार गरेर त डाक्टरले आफ्नो नाममा धक्का लाउन चाहँदैन भन्ने कुरा पनि बुझ्नु पर्छ सबैले ।

नेपालका नेताहरू काठमाडौंमा रहेको सरकारी, अस्पतालमा विश्वास नगरेर निजी अस्पतालमा जान्छन् र तिनको पैसा हामीले तिरेको करबाट खर्च हुन्छ, जनताले उपचार गर्दा पैसा नभएर गहना र जमिन बेचेर तिर्नुपर्छ

त्यसो हो भने किन त उपचार गर्दागर्दै मृत्यु भयो भने निजी अस्पताल र डाक्टरले पिटाइ, अपमान खानुपर्ने र अस्पतालले पैसा पनि तिर्नुपर्ने ? यस्तो गलत तरिकाले नेपालको स्वास्थ्य सेवामा धेरै समस्या परिरहेछ ।

जनतालाई स्वास्थ्य मन्त्रालयकै विश्वास छैन

स्वास्थ्य जनताको मौलिक अधिकार हो । तर पैसा तिरेपछि मात्र, यो व्यवस्थित अधिकार बन्छ भन्ने कुरा नेपालमा सिद्ध भएको छ । नेताले नेपालमा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न नसकेको वा नचाहेको हुनाले यस्तो समस्या आएको हो ।

डाक्टर र स्वास्थ्यकर्मी धेरै पैसा कमाउँछन्, बिरामीलाई ठग्छन्, नचाहिने महंगो औषधि लेख्छन्, नचाहिने महंगो तरिकाले निदान गर्न लगाउँछन् भन्ने धारणा जनमानसमा छ । त्यसमाथि पनि नेपालमा मेडिकल कलेजहरूले ५० लाखदेखि एक करोडसम्म लिएर विद्यार्थी पढाउँछन् भन्ने सिद्ध भएपछि जनतामा ‘यसरी तिरेको पैसा त डाक्टरले जसरी पनि उठाउँछ’ भन्ने पर्नु स्वाभाविक नै हो ।

जब जनतालाई स्वास्थ्य मन्त्रालयको विश्वास छैन, जब सरकारी अस्पतालमा गए पनि बिरामीहरु ठगिन्छन्, जब अस्पतालले गम्भीर बिरामीलाई उपचार गर्न चाहँदैन, जब उपचार गरेपछि निजी अस्पतालले नचाहिने पैसा बिरामीलाई तिराउँछ भने त जनताले नेपाली डाक्टरको राम्रोसँग काम गर्दैनन् भन्ने ठान्छन् नै ।

जब नेपालका नेताहरू पनि काठमाडौंमा रहेको सरकारी, अस्पतालमा विश्वास नगरेर निजी अस्पतालमा जान्छन् र तिनको पैसा हामीले तिरेको करबाट खर्च हुन्छ, जब जनताले उपचार गर्दा पैसा नभएर गहना र जमिन बेचेर तिर्नुपर्छ भने जनतामा आक्रोश त फैलिँदै जान्छ ।

अनि निजी अस्पतालमा बिरामीको स्वभाविकरुपमा नै मृत्यु भए पनि डाक्टरले पिटाइ खानुपर्छ अस्पतालले, पैसा तिर्नुपर्छ र त्यो पैसा अन्य बिरामीबाट निजी अस्पतालले उठाउनुपर्छ । यो माखेसाङ्लो चलि नै रहेछ ।

जबसम्म यसको समाधान गर्न सरकार लाग्दैन, हामीले चुनेका राजनीतिक नेता, स्वास्थ्य मन्त्रालय चलाउने मन्त्रीले भन्न सक्नुपर्‍यो, ‘बिरामीको मृत्यु लापरवाही, गल्ती वा बेवास्ताले भएको हो कि स्वाभाविक हो भन्ने बुझ्न ‘पोष्टमार्टम’ गरिनुपर्छ, अनिमात्र डाक्टरको गल्ती हो कि होइन भन्ने थाहा हुन्छ ।

अस्पतालमा विरामीको उपचार गर्दा मृत्यु भए, ‘पोष्टमार्टम’ गरौं, समीक्षा गरौं । यदि डाक्टरको गल्ती छैन भने ‘पैसा तिर्दिनँ’ भन्ने शक्ति निजी अस्पतालका सरकारी डाक्टरलाई वा अस्पतालमा काम गर्ने डाक्टरलाई भए त यस्तो समस्या नै हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?