+
+

‘चिकित्सकविनै उपचार प्रयास, मृत्युपछि रेफर !’

अकल्पनीय घटनापछि डायनिया शोकमा

हरि अधिकारी हरि अधिकारी
२०७६ असार १५ गते १०:३३

१५ असार, विराटनगर । मोरङमा सेप्टिक ट्याङ्कमा निस्सासिएर अचेत ४ जनाको उचित उपचारको अभावमा ज्यान गएको गुनासो तिनका आफन्त र स्थानीयले गरेका छन् ।

जिल्लाको डायनियामा निर्माणाधीन सेप्टिक ट्याङ्कमा निस्सासिएर घाइते ५ मध्ये फिराेज आलम, सहनवाद, कफिल आलम र मोहम्मद आलमको शनिबार ज्यान गएको थियो । घाइते दाउद मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

अकल्पनीय घटनापछि डायनिया गाउँ यतिबेला शोकमा डुबेको छ । आफन्त गुमाउँदा परिवारजन विक्षिप्त छन् । सम्हालिन सकेका छैनन् ।

तर, आफन्त र स्थानीय शोकाकुलसँगै आक्रोशित पनि छन् । समयमा उपचार नहुँदा ४ जनाको ज्यान गएको उनीहरुको ठम्याइ छ । यही निष्कर्षका साथ उनीहरुले अस्पतालमा तोडफोडसमेत गरेका छन् ।

स्थानीय शिक्षक फेरोज मेडिकल अफिसरको दरबन्दी भएको रंगेली अस्पतालमा चिकित्सक नहुनु र नर्सबाटै उपचारको प्रयास गर्नु चरम लापरवाही भएको बताउँछन् । अस्पतालको यही लापरवाहीका कारण ४ जनाको ज्यान जोगिने सम्भावना हुँदाहुँदै मृत्यु भएको उनको भनाइ छ ।

‘चिकित्सक नभएपछि अस्पतालले समयमै घाइतेलाई विराटनगर रेफर गर्नुपर्थ्यो, तर अस्पतालले चरम लापरवाही गरेर त्यो अवस्थाका बिरामीलाई उपचार नगरी अक्सिजनबिना डेढ घण्टासम्म राख्यो’, उनले भने, ‘यो अस्पतालको चरम लापरवाही हो ।’

सुझबुझले टर्‍यो थप क्षति

स्थानीय शिक्षक मोहमद फारुक रिजबीका अनुसार सेप्टिक ट्याङ्कभित्र सुरुमा २२ वर्षीय वसिक आलम प्रवेश गरेका थिए । उनी भित्र ढलेपछि २५ वर्षीय फिरोज पनि बेहोस भए । त्यसपछि १९ वर्षीय मो.सहनवाद उनीहरुको उद्धारका लागि प्रवेश गरे । तीन जना भित्र प्रवेश गरेर बेहोस भएपछि गाउँभरी हल्ला फैलियो । छोरा फिरोजभित्र बेहोस भएपछि ६० वर्षीय बुबा कफिल मिया प्रवेश गरे । उनी पनि अरुजस्तै बेहोस भएर ढले ।

यसपछि अन्य गाउँले पनि भित्र प्रवेश गर्न खोजेको, तर तिनलाई भने भित्र जानबाट रोकेको शिक्षक रिजबी बताउँछन् । ‘ट्यांकीभित्र बेहोस हुने क्रम बढे पनि अन्य केही व्यक्ति पस्न खोजेका थिए,’ उनले भने, ‘तर, अन्यलाई भने प्रवेश गर्न दिइएन ।’

गाउँ शोकमा 

प्रहरीका अनुसार शनिबार सेप्टिक ट्याङ्कमा मृत्यु हुने चारैजना एकै गाउँका हुन् । कफिल र फिरोज बाबु-छोरा हुन् । तीन छोरामध्ये कफिल र माइला छोरा फिरोजले ज्यान गुमाएका हुन् ।

त्यस्तै ज्यान गुमाउने अन्य २ जना पनि सोही टोलका हुन् । एकै एउटै टोलका चार जनाको एकैसाथ मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?