
२ असार, काठमाडौं । कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ ।
बिहीबार साँझ निलम होटल अगाडि भएको विस्फोटमा ५ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले अनलाइनखबरलाई बताएअनुसार ग्यासको सिलिण्डर विष्फोट भएको आशंकामा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर, घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता भएको खुलेको छ । घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ ।
कैलाली प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘प्रारम्भिक प्रमाण हेर्दा दुर्घटनावश विस्फोट भएको हुनसक्ने देखिन्छ ।’
यसअघि १२ जेठमा काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । अनुसन्धानका क्रममा मृतक सबै विप्लव समूहको भएको खुलेको थियो भने विष्फोटक पदार्थ सही तरिकाले ह्याण्डल गर्न नसक्दा दुर्घटना भएको खुलेको थियो ।
धनगढी विस्फोटमा घाइते हुनेमा सिंह र सेरला बाहेक मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे छन् । पाण्डे होटल सञ्चालक हुन् भने मोविन होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री हुन् ।
उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक उपचारपछि उनीहरुसँग बयान लिन प्रयास गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4