
५ साउन, काठमाडौं । भुइँमा मुलायम गलैंचा । बिरामीका लागि एउटा आकर्षक बेड । बेडको छेउमा मोनिटर । बिरामी कुरुवाका लागि दुईवटा लो-बेड । बिरामीलाई देखिने गरी बस्नका लागि दुवैतर्फ सोफा ।
कोठाको छेउमा एउटा दराज पनि छ । झ्यालमा आकर्षक पर्दा छन् । भित्तामा आकर्षक पेन्टिङ । अट्याच ट्वाइलेट-बाथरुम छ । बाथरुममा बेसनमात्रै छैन, बाथ टब पनि छ ।
यो चर्चा वीर अस्पतालको भीआईपी उपचार कक्षको हो । देशको एक मात्र सरकारी अस्पतालको भीआईपी कक्ष अहिले खाली छ ।
भीभीआईपी कक्षको कथा
वीर अस्पतालमा करिव-करिव एकै समयमा भीआईपी र भीभीआईपी कक्षहरु स्थापना भएका हुन् । भीआईपी कक्षको नजिकै भीभीआईपी उपचार कक्ष छ तर, त्यसको गेटमा ताला लागेको धेरै भइसक्यो । पूर्वरानी ऐश्वर्यले उपचार गराएपछि त्यहाँ अरु कोही पनि उपचार गराउन पुगेको रेकर्ड छैन ।
भीभीआईपी कक्षमा पाँचवटा कोठा छन् । जसमध्ये एउटामा बिरामीको शैय्या र अर्कोमा बिरामीका आफन्त बस्ने कोठा छ । त्यस्तै, अर्को कोठा मेडिकल टिम र सुरक्षाकर्मीका लागि छुट्याइएको छ ।
भीभीआईपी कक्षभित्रै भान्सा कोठा पनि छ ।
एयर कन्डिसनसहितको भीभीआईपी कक्षमा स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’, सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन लगायत आपतकालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्रीहरु छन् । त्यस्तै, इसिजी मेसिन, भेन्टिलेटर पनि त्यहीँ छ ।
०४६ पछि कोही पनि भीभीआईपी कक्षमा उपचारका लागि पुगेका छैनन् । बरु राज्यकै ढुकुटीबाट प्रधानमन्त्रीहरुले उपचारका लागि विभिन्न देश पुगेर उपचार गर्दै आएका छन् । पूर्वराजपरिवार पनि वीर अस्पतालको साटो नर्भिक अस्पतालमा जान थालेको धेरै भइसकेको छ ।
अहिले भीभीआइपी कक्षमा लिफ्ट जडान भइरहेको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । भीभीआईपी कक्षमा काम भइरहेकाले फोटो लिन पनि नमिल्ने उनले बताए ।
भीभीआईपी कक्षमा मर्मत सम्भारको काम भइरहेकै हुन्छ । तर, ३० वर्षदेखि सिंगारिएको उक्त कक्षमा उपचार गर्नका लागि भने कोही पनि पुगेका छैनन् । उक्त कक्षमा राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरुले उपचार गर्न पाउँदैनन् ।
सबै सुविधा हुँदा पनि भीभीआईपी कक्षमा ३० वर्षसम्म किन कोही पनि पुगेनन् त ? पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा भन्छन्, ‘नेपालको स्वास्थ्य पद्दतिमा नेताहरुलाई विश्वास छैन, त्यसैले देशमा उपचार नगराई विदेश पुग्छन् ।’
भीआईपी/भीभीआईपी शाखाकी प्रमुख सीता अर्यालले अनलाइनखबरसँग भनिन्, ‘पहिले राजपरिवारका लागि भनेर भीभीआईपी र भीआईपी उपचार कक्ष निर्माण गरिएको रहेछ, पछि प्रधानमन्त्रीलगायतलाई उपचार गर्न पाइने बनाइएको थियो । तर, अहिलेसम्म भीभीआईपीमा कोही पनि उपचार गर्न आउनुभएको छैन ।’
भीआईपी कक्षमा कोको पुगे ?
भीआईपी कक्षमा ईसीजीको पनि सुविधा छ । शल्यक्रियाबाहेक कुनै पनि जाँचका लागि बेडबाट बाहिर निस्कनुपर्दैन । उक्त कक्षको एक दिन प्रयोगवापत तीन हजार रुपैयाँ लाग्छ । तर, यति सुविधासम्पन्न व्यवस्था हुँदाहुँदै पनि भीआईपीहरु उक्त कक्षमा कमै प्रवेश गर्ने गरेको तथ्यांकले देखाउँछ ।
भीआईपी कक्षमा सभासद, मन्त्री, राज्यमन्त्री, प्रदेश प्रमुख, न्यायाधीश र स्वास्थ्य सचिवले उक्त उपचार कक्षमा उपचार गर्न पाउने अर्याल बताउँछिन् ।
विगत ०७१ सालदेखि अहिलेसम्म १६ जनाले भीआईपी कक्षमा उपचार गरेको रेकर्ड भेटिन्छ । ०७१ सालभन्दा अघिको भने आफूसँग रेकर्ड नभएको उनले बताइन् ।
रेकर्ड फाइलको पहिलो नम्बरमा तत्कालीन सांसद अम्बिका खवासको नाम देखिन्छ । उनले १७ फागुन ०७१ मा उपचार गराएकी थिइन् । ०७१ मा भीआईपी कक्षमा उपचार गराउने उनी एकजना मात्र हुन् ।
०७२ सालमा दुईजना बिरामी पुगेका थिए । त्यस्तै, ०७३ मा तीन जना, ०७४ मा चार, ०७५ मा चार र ०७६ मा दुई जनाले भीआईपी कक्षमा उपचार गराएको रेकर्ड छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने एकपटक वीर अस्पतालमा उपचार गर्न गएको रेकर्डमा देखिन्छ । ०७२ साल साउनमा उच्च रक्तचापका कारण विरामी भएपछि उनी वीर अस्पताल भर्ना भएका थिए ।
त्यसैगरी राष्ट्रपति पदमा हुँदा अनुगमन गरेका पूर्वराष्ट्रपति रामवरण यादवले पनि बेला बेलामा दाँतको उपचारका लागि वीर अस्पतालको बहिरंग सेवा लिने गरेका छन् ।
अधिकांश सांसदहरु भीआईपी कक्षमा पुगेको अस्पतालको रेकर्डले देखाउँछ । सांसदबाहेक स्वास्थ्य सचिव चन्द्र घिमिरे, तत्कालीन स्वास्थमन्त्री गिरिराजमणि पोखरेल, ०७५ मा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र सर्वोच्च अदालतका न्यायाधीश गोविन्द शर्मा उपचार गर्न भीआईपी कक्षमा पुगेको इञ्जार्च अर्यालले अनलाइनखबरलाई जानकारी दिइन् ।
पछिल्लोपटक गत जेठ १२ मा सांसद उमाकान्त चौधरी उपचारका लागि उक्त भीआईपी उपचार कक्षमा पुगेको रेकर्ड भेटिन्छ । उनी एक दिन बसेका थिए ।
मधुमेहलगायत रोगको उपचारका लागि भीआईपी कक्षमा आउने गरेको उनले जानकारी दिइन् । शल्यक्रियाका लागि स्वास्थ्य सचिव उपचार गराउन पुगेका थिए भने मन्त्री गिरिराजमणिलाई स्वाइन फ्लुको उपचार गरिएको थियो ।
बक्यौतामा भीआईपी कक्ष
भीआईपी कक्षमा पुगेका कतिपयले उपचार खर्च नै भुक्तानी गरेका छैनन् । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भीआईपी कक्षमा उपचार गरेको ३३ हजार ४२० रुपैयाँ भुक्तान गरेका छैनन् । त्यस्तै, संसद उमाकान्त चौधरीले पनि ८ हजार ५४८ रुपैयाँ तिरेका छैनन् ।
प्रमुख अर्याल भन्छिन्, ‘पहिले डिपोजिट गर्ने प्रचलन थियो । तर, भीआईपी कक्षमा कम बिरामी आउन थालेपछि उपचारको विल आइसकेपछि मात्रै भुक्तान गर्दा हुने नियम शुरु भएको हो ।’
प्रतिक्रिया 4