
१४ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो ।
महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले अनलाइनखबरसँग भने ।
प्रहरीका अनुसार उनको साथबाट दुई थान हतियार र ५० राउण्ड गोली बरामद भएको छ । तर, ती हतियारको लाइसेन्स उनीसँग छ ।
प्रारम्भिक अनुसन्धानले दूर्घटनावश गोली चलेको हुनसक्ने देखाएको थियो । खनालको हतियारबाट गोली चलेको हो/होइन भन्ने चाहिँ वैज्ञानिक जाँचबाट मात्र खुल्छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘सामाखुशीमा रहेको हाम्रो ल्याबमा हतियार परीक्षणका लागि पठाउँछौं । त्यसपछि गोली चलेको थियो/थिएन भन्ने पुष्टि हुन्छ ।’
अहिले प्रहरीले खनालको थप बयान लिने काम गरिरहेको छ ।
प्रतिक्रिया 4