
१९ साउन, काठमाडौं । गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आउन ढिलाइ हुने भएको छ । साउन महिनामा नै सञ्चालनमा आउने गरी काम भइरहे पनि निर्माण कम्पनीको ढिलाइले समयमै निर्माण सम्पन्न हुन नसकेको हो ।
दुई वर्षअघि निर्माण थालिएको प्रशोधन केन्द्र निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार हाल ९२ प्रतिशत काम सम्पन्न भएको छ भने आगामी मंसिरसम्ममा काम सम्पन्न हुने सम्भावना रहेको छ । २० जुलाई २०१९ मा सम्पन्न हुने भनिएको यो आयोजना भिएटेक बाबागली नामक भारतीय कम्पनीले निर्माण गरिरहेको छ ।
काठमाडौं उपत्यकाको ढल सिधै नदीमा मिसिन नदिन ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । फोहर पानी प्रशोधन गर्न एशियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार ऋण सहयोग गरेको छ । यसको कूल लागत भने २ अर्ब ५५ करोड ८३ लाख २० हजार यति रुपैयाँ रहेको छ ।
नेपाल सरकारले आफ्नै लगानीमा डिजाइन, भवन खरिदलगायतका काम गरेको छ भने निर्माण सम्पन्न पश्चात पनि १० वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन तथा व्यवस्थापनको काम गर्ने छ ।
प्रशोधन केन्द्र बनेपछि प्रशोधित पानीबाट बायो ग्यास साधै विद्युतसमेत निकाल्ने योजना रहेको आयोजना प्रमुख सुरतकुमार बमले जानकारी दिए ।
निर्माण पश्चात प्रशोधन केन्द्र सञ्चालनका लागि चाहिने ३० प्रतिशत विद्युत् त्यहीँ उत्पादन हुने आयोजना प्रमुख बमले बताए । उनले बायोग्यासबाट उत्पादन भएको दैनिक ७ टन मललालाई कृषि प्रयोजनमा समेत प्रयोग गर्न सकिने बताए ।
म्याद थपको तयारी
निर्माण सम्पन्न हुने पर्ने मिति एक साता नाघिसकेको छ । तर निर्माण सम्पन्न हुन अझै ८ प्रतिशत काम बाँकी नै छ । निर्माण समयमा नसकिएपछि आयोजनासँग ठेकदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको छ ।
म्याद कति थप्ने भन्ने विषयमा निर्णय भने आयोजनाले गर्न बाँकी छ । ‘काम सकिन अझै बाँकी छ तर सम्झौता अनुसार सम्पन्न हुनुपर्ने म्याद सकियो’ आयोजना प्रमुख बमले भने, ‘निर्माण कम्पनीबाट म्याद थपको प्रस्ताव आएको छ, कति थप्ने वा के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’
साउन महिनामा सम्पन्न हुने र मंसिरसम्म दैनिक ३ करोड २४ लाख लिटर क्षमताकोे फोहर पानी प्रशोधन गर्ने आयोजनाको लक्ष्य थियो । आयोजनाका अनुसार निर्माण सम्पन्न भइसके पश्चात पनि क यास र बिजुली उत्पादन हुन भने थप ३ महिना लाग्ने छ ।
हिउँदको समयमा बागमती नदीमा पानीको मात्रा घट्ने भएकाले प्रशोधन गरेको पानीलाई बागमतीमा बगाइने र अन्य महिनामा पनि बागमतीमा पानी पठाउने आयोजना को लक्ष्य रहेको छ ।
गुहेश्वरी ढल प्रशोधन केन्द्रले हाल गोकर्ण, अत्तरखेल, जोरपाटी बौद्धलगायतको ढल प्रशोधन गर्ने काम गरिरहेको छ । तर मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डौ आउने वितिकै फोहोर पानी पनि बढने आयोजना प्रमुख बमको भनाइ छ ।
मेलम्चीको पानी काठमाडाैं आएको खण्डमा पानीको प्रयोग हृवातै बढने र त्यो पानी ढलमा जान्छ । सन २०२० सम्म २२ करोड फोहोर पानी उत्पादन हुने अनुमान गरिएको छ ।
चार ठाउँमा ढल प्रशोधन केन्द्र
गुहेश्वरीसहित यस्ता प्रशोधन केन्द्रहरु ४ ठाउँमा निर्माणाधीन छन् । उपत्यकाको गुहेश्वरी, बालकुमारी, धोवीघाट र भक्तपुरमा ढल प्रसोधन केन्द्र निर्माण भइरहेको छ । सबै भन्दा चाँडो सम्पन्न हुने भनेको गुहेश्वरी नै हो ।
यी चारवटै प्रशोधन केन्द्रबाट दैनिक कुल १३ करोड ८१ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता रहेको छ ।
भक्तपुरको सल्लाघारी प्रशोधन केन्द्रबाट दैनिक १ करोड ४२ लिटर, बालकुमारीबाट ७ करोड ६५ लाख लिटर, धोवीघाटबाट ७ करोड ४० लाख फोहोर पानीलाई प्रशोधन गर्ने क्षमता रहेको आयोजनाले जनाएको छ ।
हाल बालकुमारीमा बन्दै गरेको प्रशोधन केन्द्रको १० प्रतिशत काम सकिएको छ । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएमा बाग्मति सफाई मा समेत केही राहत हुनेछ ।
गुहेश्वरी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नका लागि २ अर्ब २५ करोड रकम खर्च भइसकेको छ । हाल बागमती नदी पर्ने स्थान आसपास अस्पतालको ढल सिधै नदी मिसाइने गरेको छ ।
गुहेश्वरीमा फोहोर पानी प्रशोधन केन्ऽसम्म जोडेर फोहोर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण, क्षमता वृद्धि तथा विस्तारसहितको काम भइरहेको छ । नदीको दुबै किनारमा अनुमानित १६ किलोमिटर ढलका लागि पाइप बिछ्याइएको छ ।
‘प्रशोधन गरे पनि घरायसी प्रयोग गर्न सकिँदैन’
प्रशोधनपछि पनिउक्त पानी घरायसी प्रयोजनका लागि भने प्रयोग गर्न नसकिने वातावारणविदहरु बताउँछन् । परीक्षण गरेको फोहोर पानीमा विभिन्न खालको केमिकल मिसाएर फोहोर पानी प्रशोधन गरेको हुनाले यसबाट निस्कने पानी स्वास्थको लागि अनुकुल नहुने विज्ञ बताउँछन् ।मान्छेका लागि मात्रै होइन, जलचर (पानीमा बाँच्ने जीव)लाई समेत बाँच्न कठिन हुने वातावरणविद् मदन कोइरालाले बताए ।
पानी प्रशोधन केन्द्र सञ्चालनमा आए पनि बागमती नदीमा सफा पानी बगाउन सकिए पनि पहिले बागमतीमा पाइने जलचरहरुको भने अस्थित्व भने सकिएको कोइरालाको भनाइ छ । उनले भने, ‘बागमती नदीलाई पहिलेकै स्वरुपमा फर्काउने हो उपत्यकाको ढल बागमतीमा बगाउन छाडिनुपर्छ ।’
१० वर्षअघि बागमती नदीमा पाइने जलचर प्राणीहरु अहिले कुनै पनि जलचर प्राणी देख्न सकिँदैन ।
काठमाडाैं उपत्यकामा अबको १० वर्षमा हालको जनसंख्याको झण्डै ५ प्रतिशत बढ्न सक्ने भएकाले हाल निर्माण गरिरहेको प्रशोधन केन्द्रले ढल प्रशोधन गर्न सरोकारवालाहरु तर्क गर्छन् । यसका लागिबागमती नदीलाई हिउँदमा पानीको बहाव बढाउन अन्य स्थानमा पनि ढल प्रशोधन केन्द्र निर्माण गरिनुपर्ने बागमती सफाइ अभियानकर्मी गोविन्द काफलेले बताए । एक/दुई स्थानमा मात्र प्रशोधन केन्द्र सञ्चालन हुदाँ अन्य ठाउँबाट मिसिने ढलले बागमती सफा नहुने काफ्लेको भनाइ छ ।
प्रतिक्रिया 4