
काठमाडौं । मैले जीवनमा कतिपटक साइकल यात्रा गरेँ, सम्झिन सक्दिनँ । तर, कालीकोटदेखि रारातालसम्मको साइकल यात्रा भने कहिल्यै बिर्सिन सक्ने छैन ।
मन त पहिल्यैदेखि लागेको हो, साइकलमा रारा घुम्ने । तर संयोग मिलेको थिएन । जब दीपक जोशी, भावेन जोशी, अनुजसिंह प्रधान, सैसब प्रधान, सुलोचन राजभण्डारीको साथ मिल्यो, मेरो यो गुम्सिएर रहेको इच्छाले मूर्तरुप पायो ।
हामीले कालीकोटदेखि रारासम्म साइकल यात्रा गर्यौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि कालीकोटसम्म जिपमा गएर कालीकोटदेखि मात्र साइकल यात्रा सुरु गरेका थियौं ।
यात्राको पहिलो दिन कालीकोटदेखि गोठीज्यूलासम्म पुगियो । यो यात्राको दुरी ८८ किलोमिटर छ । दोस्रो दिन गोडीज्यूलादेखि रारासम्मको यात्रा तय भयो ।
यो साइकल यात्रा प्राकृतिक सुन्दरताको दृष्यावलोकनमा मात्र सीमित भएन । एकप्रकारले अर्कै संसारमा पुगेको महुसुस भयो ।
कालीकोटदेखि रारासम्म सबैले साइकल यात्रा गर्न सक्छन् । बाटो ‘अप-डाउन’ बढी भएकाले निकै सावधानी भने अपनाउनुपर्ने हुन्छ । कालीकोटदेखि रारासम्म पुग्दा साइकलको थकान रारा तालको छेउमा पुगेपछि मेटिन्छ । रारा तालको मनमोहक दृष्यले यात्राको सबै थकान बिर्साइदिन्छ ।
रारादेखि मुर्माटपसम्म जानका लागि साइकल मार्ग आवश्यक देख्यौं हामीले । यसका लागि ठूलो खर्च पनि लाग्दैन । बाटो राम्रो नभएकाले हामीले मुर्माटपसम्म साइकल डोहोर्याएरै लगेका थियौं ।
मुर्माटप पुगेपछि रारा तालतर्फ सबैको नजर एकोहोरियो । सबैको मनमा उही भाव आयो, सायद धर्तीको स्वर्ग भनेको यही होला ।
जब मुर्माटप पुगेँ यस्तो ठाउँमा म त निकै ढिलो पो आएछु भन्ने महसुस भयो । त्यो ठाउँ नटेकेको भए मैले जीवनको एउटा अविस्मरणीय अनुभव गुमाउने थिएँ ।
हामीसँगको कुराकानीमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले रारा ताल कर्णाली प्रदेशको मात्र नभएर समग्र देशकै गौरव भएकाले पर्यटकीय पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए ।
प्रतिक्रिया 4