
१३ असोज, काठमाडौं । काठमाडौंको ओम अस्पतालका चिकित्सक प्रा.डा. भोलाराज जोशीमाति सांघातिक आक्रमणको धम्की दिएको प्रति चिकित्सा क्षेत्रका विभिन्न संघ संस्थाले विरोध जनाएका छन् । उक्त घटनाचले समस्त चिकित्सा जगतलाई नै दुरुत्साहित बनाएको उनीहरुले बताएका छन् ।
नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ, युवा चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, डक्टर्स सोसाइटी अफ नेपाल, महाराज मेडिकल क्याम्पस स्ववियु, रेजिडेन्ट एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट डक्टर्स वेलफेयर सोसाइटी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संयुक्त विज्ञप्ति जारी गरी यस्ता घटनाले नेपालको स्वास्थ्य क्षेत्रलाई दूरगामी प्रभाव पार्ने बताएका छन् ।
पछिल्लो समय विरामीको उपचारका क्रममा कुनै दुर्घटना भए छानबिन र कानुनी प्रक्रियामा लैजानुभन्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हुल हुज्जत, हातपात र अस्पताल तोडफोडको घटना भएको भन्दै उनीहरुले यस्ता घटनालाई निष्पक्ष छानबिनमा लैजानुपर्ने उल्लेख गरेका छन् । यस्ता घटनाबारे सम्प्रेषण हुने समाचारले पनि स्वास्थ्य क्षेत्रलाई असर पारेको उनीहरुको जिकिर छ ।
मुलुकी ऐनको इलाजसम्बन्धी महलमा नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा गठित समितिले छानविन गरे पश्चात लापरवाही वा त्रुटि भनेर प्रारम्भिक प्रतिवेदन दिएपछि मात्रै चिकित्सकीय लापरवाही वा त्रुटि मानेर कानुनी प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ । चिकित्सकहरुले महलमा स्वास्थ्य संस्थामा हुलहुज्जत, तोडफोड, हातपात गर्ने व्यक्तिहरुलाई गिरफतार गरी विना धरौटी (जेल विथ आउट वेल) कारवाही गर्ने व्यवस्था पनि पारित भइसकेको पनि त्यसको पालना नभएको भन्दै चिन्ता जनाएका छन् ।
‘तर हाल सो व्यवस्थाको प्रयोगको सट्टा, कुनै अस्पतालमा भवितव्य हुँदा कानुनी उपचारको बाटोतिर उन्मुख गराउनुको सट्टा भिडको दवावमा आई प्रहरी प्रशासनले नै चिकित्सक र अस्पताललाई आपसमा कुरा मिलाउनुस् भनी प्रहरीकै रोहवरमा आर्थिक चलखेल हुने गरेको छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले अस्पतालमा तोडफोड हुल–हुज्जत गर्नेहरुलाई कारबाही गर्न र अस्पतालहरुमा हुने दर्घटना तथा त्रुटिहरु लापरवाही हुन वा होइनन् भनी निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
प्रतिक्रिया 4