
१० कात्तिक, काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । छातीको समस्या लिएर बिहिबार ग्राण्डी अस्पताल पुग्दा उनको मुटुको दुई भल्वमा ब्लकेज देखिएको थियो ।
दुई दिन अस्पताल बसेका श्रेष्ठको एन्जियोप्लास्टी प्रविधिबाट बिहीबार सफल उपचार गरिएको हो । अहिले आफ्नो स्वास्थ्यमा सुधार आएको श्रेष्ठले अनलाइनखबरलाई बताए ।
‘बिहान मर्निङ वाक गर्ने क्रममा छाती दुखेको महसुस भयो । श्रीमतीको समयमा उपचार हुन नसक्दाको पछुताउ सम्झेर म ढिलाई नगरी अस्पताल गएँ,’ उनले भने, ‘एक ठाउँमा ९९ प्रतिशत र अर्कोमा ९५ प्रतिशत ब्लकेज भइसकेको रहेछ ।’
अस्पताल पुग्न अलिकति ढिला गरेको भए हृदयघात भएर जटिलता उत्पन्न हुन सक्ने डाक्टरहरुले उनलाई बताएका थिए ।
‘हृदयघात भए पनि उपचार त हुन्थ्यो होला, तर मुटु कमजोर हुने थियो । अहिले उपचारपछि मुटु पहिलेभन्दा पनि बलियो भयो,’ श्रेष्ठले भने ।
ग्राण्डी अस्पतालमा मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले श्रेष्ठको उपचार गरेका थिए । उनलाई दुई हप्ताजति आराम गर्न भनिएको छ । श्रेष्ठ अहिले परिवारसँग समय बिताइरहेका छन् । आफू सामान्य अवस्थामा फर्किसकेको उनले बताए ।
श्रेष्ठकी पत्नी यसोदाको क्यान्सरका कारण ०७४ सालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया 4