
१२ कात्तिक, पोखरा । निधारभरि सप्तरंगी टीका । गलाभरि मखमली र सयपत्रीका माला । देशभर यसरी हिन्दु धर्मनलम्बीहरूले तिहार मनाए । तर पोखरामा भने फरक दृश्य देखियो ।
विभिन्न देशबाट पोखरा घुम्न आएका विदेशी भाइटीका लगाएर रमाएका छन् ।नेपाली ढाका टोपी, सप्तरंगी टीका र गलाभरि थरिथरीका फूल लगाएर मंगलबार पोखरामा पर्यटक रमाएका हुन् ।
पश्चिमाञ्चल होटल संघ पोखराले यस्तो चाँजो मिलाएको थियो । भाइटीकालाई संघले महोत्सवकै रूपमा मनाउँदै आएको छ । यो १२ औं संस्करण हो । यसपालीको भाइटीका महोत्सवमा पर्यटकले टीका लगाए, देउसे भैलोमा कम्मर मर्काए ।
महोत्सवमा १२ देशका ३० पर्यटकले टीका लगाएका छन् । टीका लगाउन कतिपय देशका पर्यटक दो होर्याएर पनि खाएका छन् । फ्रान्सकी मिसेल मोजा ८ औं पटक पोखरामा भाइटीका लगाइन् । तिहार मनाउनकै लागि उनी परिवारसहित यसपटक पोखरा आएकी थिइन् । महोत्सवमा सहभागी भएकी छन् ।
पश्चिमाञ्चल होटल संघको आयोजनामा संस्कृतिक पर्यटनको विकास गर्न भाइटीका महोत्सव हुँदै आएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
भाइटीका महोत्सवमा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलियालगायतका देशका पर्यटक सहभागी भए ।
महोत्सवमा रेन्वो चिल्ड्रन होमका बालिकाले पर्यटकलाई टीका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टीका लगाएर उपहार दिएका थिए । पर्यटकले पनि बालिकाहरुलाई दक्षिणा दिए । बालगृहका बालिका र पर्यटकले मनाउने यो तिहार अर्थपूर्ण रहेको अध्यक्ष तुलाचन बताउँछन् ।
प्रतिक्रिया 4