
१३ मंसिर, विराटनगर । धर्मगुरु कृष्णदास गिरी उर्फ कृष्णदास महाराजमाथि बलात्कारको आरोप लगाउने महिलाले एक वर्षयता सामाजिक सञ्जाल फेसबुकबाट म्यासेजहरु पठाउँदै आएको खुलेको छ ।
पीडित भनिएकी महिलाले ४ कात्तिकमा धर्मगुरु कृष्णदासले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनको जाहेरीका आधारमा पक्राउ अनुमति लिइसकेको प्रहरीले हिरासतमा भने लिएको छैन । विराटनगरस्थित विराट नर्सिङहोम भर्ना भएका कृष्णदासमाथि प्रहरीको निगरानीमा छन् ।
लगातार म्यासेज
बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका छन् । जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको छ । यस्ता म्यासेजहरुमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’इच्छा व्यक्त गरेकी थिइन् ।
उनले पठाएका अधिकांश सन्देशको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ भन्ने, आफ्नो विषयमा आएका समाचारको लिंक पठाउने र केही इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ ।
यस्तै कृष्णदासले महिलालाई फेसबुक कल गरेको पनि देखिन्छ ।
कृष्णदासको प्रेममा पागल भएको बताएकी महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी छन् । ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता’ उनले लेखेकी छन् ‘अब समय सकियो, जम्मा ४४ दिन छ, कसरी पूर्ण बनाउने हजुरको हातमा छ ।’
उनी त्यतीमा रोकिएकी छैनन् । ‘बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन **** मलाई, म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ।’
उनले मंसिर १ गतेदेखि आफू पराई हुने बताएकी छन् । त्यसको केही समयपछि उनले बलात्कारको आरोप लगाएकी हुन् ।
कास्की घर भएकी महिला काठमाडौंमा बस्छिन् । उनका श्रीमान मजदुरी गर्छन् । साना छोरा र छोरीलाई छाडेर आफू भक्त भएपनि दिक्षा दिन नमानेको गुनासो कृष्णदासलाई पठाएको म्यासेजमा गरेकी छन् ।
प्रहरीले थाल्यो अनुसन्धान
पीडित भनिएकी महिलाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । बिहीबार घटनास्थल पुगेर स्थलगत मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।
धर्मगुरु कृष्णदास निगरानीमा छन् ।
चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितअनुसार आरोप लगाउने महिला असोज २७ गते ताप्लेजुङ्गको पाथिभरा मन्दिरको धार्मिक भ्रमणको क्रममा चतरा आएकी थिइन् ।
आश्रममा गत माघ २६ गतेदेखि फागुन ८ गतेसम्म चतरामा तारकब्रम्हामहायज्ञ लागेको थियो । त्यही यज्ञमा साधिक भएर आएकी महिला असोजमा पनि आएकी थिइन् । उनी कात्तिक ६ गते काठमाडौं फर्किएकी थिइन् । आश्रम बसाइका क्रममा उनले कृष्णदाससँग भेट नगरेको अनुयायीहरको दाबी छ ।
गिरीले भने कात्तिक १९ गते महिला विरुद्ध ‘सार्वजनिक गाली बेइज्जती’गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
अनुयायी भन्छन्–गुरुसँग धेरैको जलन छ
धर्मगुरु कृष्णदासजी महाराजका अनुयायीहरुले बलात्कारको आरोप आरोप निराधार भएको बताएका छन् । हतिर गृह निर्माण अभियान सञ्चालन गरिरहेका उनलाई फसाउने षड्यन्त्र भएको उनीहररुको दाबी छ । प्रदेश १ सरकारको सहयोगमा कृष्णदासले हतिरगृह अभियान सञ्चालन गरेका छन् । गत माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थीतिमा अभियान सुरु भएको थियो ।
‘महिलालाई चरण समेत छुन नदिने गुरुमाथि फसाउने षडयन्त्र भएको छ’ महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित भन्छन्, ‘उहाँविरुद्ध धेरैले षडयन्त्र गरिरहेका छन् ।’
प्रतिक्रिया 4