
नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’का लागि कपाल नै मुन्डन गरेकी छिन् । तर, कपाल मुन्डन गर्दाको दृश्य खिचिरहँदा उनलाई सजिलो भने भएन । सुरक्षाले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भनिन्–‘मलाई कपाल मुन्डन गरिरहँदा गाह्रो भैरहेको थियो । मैले आफूलाई सम्हालिरहेकी थिएँ । यत्तीकैमा एक जना वुवा आउनुभयो र मेरो कपाल मुन्डन गरिदिनुभयो । उहाँले मलाई निकै मायाले कपाल मुन्डन गर्नुभएको थियो । उहाँको मायाले नै मलाई भावुक बनाएको थियो ।’
सुरक्षाले अगाडि भनिन्–‘कपाल मुन्डन गरिदिएपछि बुवाले मलाई फिल्ममा यस्तो पनि गर्नुपर्ने रहेछ है भन्नुभयो । त्यो बेला मेरा आँखा रसाएँ । मलाई एउटा कलाकार भएकोमा खुशीको अनुभुती भैरहेको थियो ।’
सुरक्षाले यो चलचित्रमा काम गर्दा आफू अभिनयको चरम विन्दुमा पुगेको बताइन् । भनिन्–‘धेरै चलचित्रमा काम गर्दा अब त केही होला भन्दा भन्दै त्यो विन्दुमा पुग्न सकिदैन । तर, मैले यो चलचित्रमा काम गर्दा केही स्थानमा अभिनयको त्यो चरम विन्दु पाएकी छु ।’
सूर्यमालाजीको ‘ब्याड लक’
यो चलचित्रको छायांकन प्रारम्भ हुँदा शिर्ष भूमिकामा कलाकार सूर्यमाला खनालले काम गरिरहेकी थिइन् । तर, पछि सूर्यमालाले नभ्याउने भएपछि कलाकार मिथिला शर्माको प्रवेश भएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै मिथिलाले यो चलचित्रमा काम गर्न नपाउनु सूर्यमाला खनालको ‘ब्याड लक’ भएको बताइन् । भनिन्–‘उहाँ हजुरआमा बन्नेपछि यो चलचित्रमा काम गर्न सक्नुभएन । यो उहाँको ब्याड लक हो । तर, यो चलचित्रले मलाई दिदीबाट आमा बनाएको छ ।’
मिथिला भन्छिन्–‘लामो समयसम्म दर्शकले मलाई दिदी भनेर चिन्नुभयो । अब, यो चलचित्रपछि मलाई ‘आमा’ भनेर चिन्नुहुनेछ ।’
कार्यक्रममा बोल्दै निर्देशक तथा लेखक दीपेन्द्र के खनालले आफूहरुले एउटा सामान्य कथामा चलचित्र भन्न खोजेको बताए । चलचित्रका लागि घाम–पानी केही नभनिएको उनको भनाई थियो । दर्शकले एउटा मन छुने नेपालीपन बोकेको चलचित्र हेर्न पाउने दाबी खनालले गरे । शर्मिला पाण्डे निर्मित यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया 4