
१५ माघ,काठमाडौं । प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा लामो सम्बोधन गरेर हिँडेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा हंगामा मच्चिएको छ ।
दुई अध्यक्षको फोटो राखिएकोदेखि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयलाई अलग एजेण्डा नराखिएकोमा २८ जना नेताले उठेर आपत्ति जनाएका हुन् ।
ओली हिँडेलगत्तै ‘कार्यकारी अध्यक्ष’ प्रचण्डले बैठक अघि बढाउन खोज्दा केन्द्रीय सदस्यहरु उठेर कार्यसूची सच्याउन माग गरे । महासचिव विष्णु पौडेलले बैठकका कार्यसूची सुनाउन थालेपछि भीम रावल,अष्टलक्ष्मी शाक्यसहितका नेताहरुले केही विषय अलग एजेण्डासहित छलफल हुनुपर्ने माग गरेका थिए ।
एमसीसीको विषय राजनीतिक प्रतिवेदनमा सामान्य रुपमा उल्लेख भएको भन्दै केन्द्रीय कमिटीमा यसलाई अलग्गै एजेण्डाका रुपमा छलफल हुनुपर्ने माग अधिकांश सदस्यको थियो । त्यस्तै पोलिटव्यूरो गठनको एजेण्डा पनि अलग्गै चाहिने भन्दै यही केन्द्रीय कमिटीबाट पोलिटव्यूरो गठन हुनुपर्ने उनीहरुको माग छ ।
केन्द्रीय सदस्यहरुले कालापानीमा सीमा अतिक्रमणको विषय पनि अलग्गै एजेण्डामा छलफल हुनुपर्ने माग गरेका छन् । महिला नेताहरुले ३३ प्रतिशत प्रतिनिधित्वको विषयलाई एजेण्डा बनाउन माग गरेका छन् ।
बैठक हलमा दुई अध्यक्ष ओली र प्रचण्डको फोटो राखिएकोमा समेत नेताहरुले आपत्ति जनाएका छन् ।
बैठक अघि बढाउन लागेकै बेला केन्द्रीय सदस्य राजेन्द्र राईले बैठक हलमा अध्यक्षद्वयको फोटो राखिनु राजतन्त्रको झल्को भन्दै अर्को बैठकमा हटाउन सुझाव दिए । ‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस्, राजाहरुको जस्तो भयो यो त’ उनले भने ।
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षको फोटो राख्ने निर्णय कुन कमिटीबाट भएको हो भन्दै कटाक्ष गरे । ओली हिँडिसकेकाले उनले प्रचण्डलाई ‘तपाईंलाई यो फोटो देखेर आनन्द लागेको छ ? भनी प्रश्न गरेका थिए ।
खतिवडाले भने–पार्टी बैठकमा नेताको फोटो राख्ने निर्णय कुन कमिटीबाट कहिले भएको हो ? अध्यक्ष कमरेड तपाईलाई यो फोटो देखेर कार्यकर्ता खुसी भएका होलान् जस्तो लाग्छ ? तपाईहरुलाई आनन्द लागेको छ ?
नेकपा बैठक हलमा ९ जना सचिवालय सदस्य बस्ने मन्चको दाया केपी ओली र बायाँतिर प्रचण्डको फोटो राखिएको छ । ब्यानरमा भने नेकपाका संस्थापक महासचिव पुष्पलाल र तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको तस्वीर राखिएको छ । यसअघि पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो सँगै राख्ने गरिएको थियो ।
नेकपा बैठकमा यसपटक मार्क्स , एंगेल्स, लेनिनसहितका अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्वीर हटाइएको छ । यसअघि कम्युनिस्ट पार्टीका हरेक कार्यक्रममा मार्क्स लेनिनहरुको फोटो राख्ने गरिएको थियो । मनमोहन र मार्क्स, लेनिनको फोटो हटाइएकोमा पनि नेकपाका केन्द्रीय सदस्यहरुले अचम्म मानेका छन् ।
२९ जनाको १५ टोली
बुधवार शुरु भएको नेकपा केन्द्रीय कमिटीमा अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । बिहीबार केन्द्रीय कमिटीको बैठक नबस्ने तर प्रतिवेदनमाथि समूहगत छलफल हुने केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
जम्बो केन्द्रीय कमिटीका सबै सदस्यले बोल्दा समय धेरै दिन लाग्ने भएकाले केन्द्रीय सदस्यहरुको समूह विभाजन गरेर समूह समूहमा छलफल गराइने भएको हो । महासचिव विष्णु पौडेलले बैठकमा १५ वटा समूह बनाउने र प्रत्येक समूहमा २९ केन्द्रीय सदस्य रहने प्रस्ताव गरेका थिए ।
समूहगत छलफलमा सचिवालवयका ९ जना नेता रहने छैनन् । १५ मध्ये ८ वटा समूहको छलफल सभागृहमा हुनेछ भने धुम्बाराही पार्टी कार्यालयमा चारवटा र पेरिसडाँडामा ३ वटा समूहको छलफल हुनेछ । हरेक समूहले आ आफ्नो टोली नेता चयन गर्ने र छलफलका निश्कर्ष शुक्रबारको बैठकमा टोली नेताले पेश गर्ने उनले बताए ।
वर्णानुक्रमअनुसार केन्द्रीय सदस्यहरुको टोली चयन भएको छ । नेकपा बैठकमा सरकारले गर्ने राजनीतिक नियुक्तिको मापदण्ड बनाउनुपर्ने माग समेत उठेको छ । केन्द्रीय सदस्यहरुले विभिन्न मन्त्रालयका नियुक्तिमा पार्टी भन्दा बाहिरका व्यक्तिले ठाउँ पाएको भन्दै मापदण्डका आधारमा राजनीतिक नियुक्ति हुनुपर्ने माग उठेको हो ।
बैठकको शुरुमै केन्द्रीय सदस्यहरुले एजेण्डामा आपत्ति जनाएपछि प्रचण्डले सबैका एजेण्डा सम्बोधन हुने बताएका थिए । उनले एमसीसी,पोलिटव्यूरो, सीमा समस्या लगायतका विषय राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा परेको भन्दै सबै एजेण्डामा छलफल गराइने आश्वासन दिएपछि बैठक अघि बढेको थियो ।
प्रतिक्रिया 4