
४ फागुन, वीरगञ्ज । घुर ताप्ने क्रममा पर्साको छिपहरमाई गाउँपालिका – ५ भिस्वामा एक महिला जलेर गम्भीर घाइते भएकी छन् । स्थानीय ५० बर्षीया सायरा खातुन जलेर गम्भीर घाइते भएकी हुन् । घाइते सायरालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ ।
पहिलेदेखि नै बिरामी रहेकी उनी आइतबार बिहान घुर तापेर उठ्ने क्रममा आगोले भेटेको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण मियाँ परिवारले आगोले पोलेपछि पनि सायरालाई उपचारका लागि स्वास्थ्य संस्था लगेका थिएनन् ।
स्थानीय ताराचन्द पण्डितको पहलमा छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ताले एम्बुलेन्सको व्यवस्था गराइदिएपछि उनलाई नारायणी ल्याइएको थियो ।
‘बिहान घरमै थिएँ, रजाक मियाँकीे पत्नी आगोले जलेको छ भन्ने हल्ला चल्यो । उहाँ विरामी पनि हुनुहुन्थ्यो । १० बजेतिर गएर हेरेको न एम्बुलेन्सको व्यवस्था थियो । गाडी भाडामा लिएर अस्पताल ल्याउन भन्दा पनि न पैसाको व्यवस्था गरेका रहेनछन्’ उनले भने ‘आँगनमा पालमा सुताएर बेना हल्लाउँदै बसेका रहेछन् । बिरामी हुँ हुँ गरेर उल्टी गर्दै थिइन् ।’
उनले गाउँपालिका अध्यक्षलाई फोन गरेर एम्बुलेन्सको व्यवस्था गरेको बताए ।
पैसा नभएकै कारण अस्पतालमा उपचारका लागि समस्या भएको थियो । नारायणीमा अभ्यासका लागि गएका हिमाल इस्टिच्युट अफ हेल्थ साइन्समा एचए अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट पैसा जोगाएर सहयोग गरेका थिए ।
आर्थिक अभाव कै कारण औषधी खरिद गर्न नसकेको नपाएको जानकारी पाएपछि नास्ताको पैसा बचाएर ५ सय रुपैयाँ सहयोग गरेको उनीहरुले बताएका छन् ।
पण्डितका अनुसार मियाँ परिवार गरिब भएका कारण उपचारका अझै आर्थिक समस्या भइरहेको छ । रजाक मियाँले पनि श्रीमती सायराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया 4