
डाक्टर रामु खरेल यतिबेला जर्जिया राज्यस्थित एटलान्टाको ग्राडी अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कोरोना संक्रमितको उपचारमा खटिएका छन् । पब्लिक पब्लिक हेल्थमा मास्टर्स र इमर्जेन्सी मेडिसिनमा एमडी गरेका उनी नेपाली (गुल्मी) डाक्टर हुन् ।उनले कोरोना उपचारमा दिनभरी खटिँदाको अनुभव अनलाइनखबरलाई यसरी सुनाएका छन् ।
****
अलार्म बजिरहेको छ । घडी हेरेँ, बिहानको ६ बजेर ३ मिनेट गइसकेको रहेछ । जुरुक्क बिस्तराबाट उठेँ । दाँत माझेँ । नुहाउन गएँ । अस्पताल जानु छ, ढिलो भइसक्यो ।
हिजो न्युयोर्कबाट साथीले फोन गर्दा भनेको थियो । उसले उपचार गर्दै गरेको दुई जना बिरामीहरुको मृत्यु भयो रे ! उसको आवाज एकदम मलिन थियो । उसले मलाई मेरो अस्पतालबारे पनि सोधेको थियो ।
नुहाउन जाँदा उसले भनेका कुराहरु आँखाभरि नाँच्न थाले । कोभिड महामारी बढ्ने क्रममा नै छ । हाम्रो अस्पतालको प्रशासनअनुसार कोभिड-१९ संक्रमणको शिखरमा पुग्न दुई हप्ता बाँकी छ ।
तर, हिजोको संख्या अनुसार त म कार्यरत अस्पतालमा नै १२० भन्दा बढी कोभिड-१९ का बिरामीहरु भइसके । १२ जनाको मृत्यु नै भइसक्यो । हाम्रो अस्पताल अमेरिकाको सबैभन्दा व्यस्त अस्पतालमध्येको एक हो । कोभिड-१९ को संक्रमण सुरु हुनुअघि नै प्राय: जसो अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप हुने गर्छ ।
यस्तै कुराहरु सोच्दै चाँडो गरेर स्क्रब (चिकित्सकको सुरक्षा पोसाक) लगाएँ । मेरो सिफ्ट ७ बजे सुरु हुन्छ । अहिले नै ६ बजेर २५ मिनेट गइसकेछ । म कमसेकम ६:४५ मा पुग्नुपर्छ । सिफ्ट सुरु हुनुभन्दा पहिले नै इन्टुबेसन ( सास नलीमा पाइप राखेर भेन्टिलेटरमा बिरामीलाई राख्ने माध्यम) गर्ने किटहरुको बारेमा निश्चित गर्नु छ । त्यसैगरी राति काम गरेका चिकित्सक सहकर्मीहरुसँग बिरामीको जानकारी लिनु छ ।
हत्तारिँदै घरबाट निस्केँ । अस्पताल पुगेर आकस्मिक कक्षभित्र प्रवेश गरेँ । मुटु ढुकढुक हुन सुरु भयो । पहिला यस्तो हुन्न’थ्यो । पछिल्लो समय डर बढेको छ । आफूजस्तै धेरै चिकित्सकहरुको मृत्यु भएको समाचार सुनिरहेको छु, डर नलागोस् कसरी ?
दुई महिना पहिले सहकर्मीहरु एक अर्कालाई देख्दा मुस्कुराउथेँ । एक अर्कालाई अँगालो मार्थ्यौँ । हाम्रो पेशाको उत्साह स्पष्ट देखिन्थ्यो । तर, अहिले सबैको अनुहारमा आधा मुस्कान देखिन्छ । मनको त्रास जति लुकाउन खोजेपनि सकिन्न । मैले मात्र होइन, आकस्मिक कक्षमा काम गर्ने अरु सहकर्मीले पनि डर लुकाउन सकिरहेका छैनन् ।
हामीलाई डर धेरै कुराको छ । जसमध्ये पीपीई पुग्दैन कि ? अरु ठाउँका चिकित्सकहरु जस्तै हामीलाई पनि कोभिड-१९ सर्ने हो कि ? आफूले उपचार गरिरहेकै बिरामीको मृत्यु हुने हो कि ? अस्पतालमा भेन्टिलेटरको अभाव हुने हो कि ?
मनमा यस्तै कुरा खेलिरहन्छ । यस्तै डरले सताइरहन्छ । तर, डर लागेपनि ‘आफ्नो कर्तव्यदेखि भाग्न मिल्दैन’ भन्ने राम्ररी बुझेको छु ।
हाम्रो अस्पतालको इमर्जेन्सी विभागमा ५० बेड रूम र अरु ५० स्ट्रेचरहरु छन् । गरिब, बेघर र स्वास्थ्य बिमा (इन्सुरेन्स) नभएका बिरामीहरु सबै हाम्रो अस्पतालले ख्याल राख्ने भएका कारणले स्ट्रेचरहरुको प्राय जसो अभाव नै हुन्छ । लगभग सधैं जसो हाम्रो आकस्मिक विभागको बिरामी राख्ने ठाउँ खाली हुँदैन । ‘हल वे’ मा पनि बिरामीको स्ट्रेचरमा भिड हुन्छ ।
आज झन् अस्पतालको स्थिति अलि नाजुक छ । पूरै एक सय बेडमा कोभिड-१९ को शंका भएका बिरामी भर्ना भएका छन् । डर यो कुराको छ कि आज आउने बिरामीलाई राख्ने ठाउँ नपुग्ने हो कि ? कोभिडबाहेकका अन्य बिरामी आए भने कहाँ राख्ने ? के गर्ने ? हर्टयाट्याक स्ट्रोकका बिरामीहरु पनि आउँछन् । उनीहरुलाई कसरी उपचार गर्ने ?
दुनियाँभरी आकस्मिक विभाग, इमर्जेन्सी चिकित्सक, नर्स र स्टाफहरु नै कोभिडविरुद्धको फ्रन्ट लाइनमा छन् ।
मलाई अस्पतालमा प्रवेश गर्दैगर्दा आउने भावना दुनियाँभरिका स्वास्थ्यकर्मीलाई आउँछ होला । उनीहरुले पनि अनेक डर महसुस गर्दा होलान् । विशेषगरि आकस्मिक चिकित्सकहरुलाई मानसिक तनाव अलिक बढी छ । किनिक उनीहरु संक्रमित भर्ना भएका भेन्टिलेटरमा प्रत्यक्ष सम्पर्कमा जानु पर्छ ।
***
इमर्जेन्सी मेडिकल विज्ञान चिकित्सा विज्ञानमा नयाँ विज्ञान मानिन्छ । संयुक्त राज्य अमेरिकामा सन् १९६० तिर इमर्जेन्सी कक्षमा काम गर्ने चिकित्सकहरुले अहिले जस्तो सेवा सुविधा पाउँदैन थिए । त्यतिबेला इमर्जेन्सी मेडिसिनको भूमिका अस्पष्ट थियो ।
तर, अहिले इमर्जेन्सी मेडिसिनको भूमिका स्पष्ट भइसकेको छ । इमर्जेन्सी चिकित्सा विज्ञानको व्यवस्था हुनु र ईमर्जेन्सी मेडिसिनको विशेष तालिम लिनु जस्ता कामहरुले धेरैको ज्यान बचाउन सकिन्छ भन्ने कुरा धेरैले बुझिसकेका छन् । अहिले इमर्जेन्सी मेडिसिनको प्रयासले ४० देखि ५० प्रतिशत मृत्युदरमा कमी आउने तथ्यहरु अध्यनहरुले सार्वजानिक गरेको छ ।
यस्तै कारणहरुले गर्दा विकसित देशहरुले इमर्जेन्सी मेडिसिनको तालिमको व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि इमर्जेन्सी मेडिसिनको सेवा सुधार गर्न सबै देशलाई निर्देशन दिएको छ ।
अहिले नेपाल सहितका धेरै विकासशील देशहरुमा इमर्जेन्सी मेडिसिन प्रारम्भिक चरणमा छ । विशेषगरी नेपालका धेरै जसो आपतकालीन विभागमा काम गर्ने चिकित्सकहरुलाई औपचारिक इमर्जेन्सी तालिम लिने प्रर्याप्त व्यवस्था छैन ।
नेपालमा औपचारिक इमर्जेन्सी मेडिसिनको तालिम लिनको लागि एमबिबिएस सकेपछि अरु कुनै विभागको तालिम लिएर मात्रै विशेष अतिरिक्त तालिम लिनुपर्ने हुन्छ । त्यसैकारण औपचारिक रुपमा इमर्जेन्सी डाक्टर बन्ने मार्ग धेरै गाह्रो छ । र, नेपालमा इमर्जेन्सी सेवाका विज्ञहरु विरलै छन् ।
पछिल्लो पाँच वर्षमा नेपालले धेरै आपतकालीन अवस्थाहरु झेल्दै आएको छ । प्रशिक्षित इमर्जेन्सी चिकित्सकको आवश्यकता २०१५ को भूकम्पमा नै थाहा भइसकेको थियो । कोभिड-१९ ले हामीलाई फेरि यही संकेत दिएको छ । नेपालले पनि अब सोच्ने बेला आइसकेको छ ।
म कार्यरत अस्पतालमा पनि इमर्जेन्सी विभागले नै फ्रन्टलाइनमा काम गर्नुपर्ने प्रोटोकल र स्वास्थ्यकर्मीको सुरक्षाको प्रवन्ध व्यवस्थित गरेको छ । अमेरिकामा इमर्जेन्सी विभागमा काम गर्नको लागि ४ वर्षको इमर्जेन्सी मेडिसिनमा विशेष तालिम लिनुपर्छ । यो तालिममा नै हामीलाई तीब्र रोगहरुको उपचार गर्ने तरिका, आफ्नो सुरक्षा गर्ने तरिका, अज्ञात रोगहरुको उपचार गर्ने तरिका र प्रमाणमा आधारित रोगहरुको उपचार गर्ने तरिकाहरु सिकाउँछ ।
जसले गर्दा हामीलाई कोभिड १९ जस्ता प्रकोपहरुको सामना गर्न तयार गरेको हुन्छ । तर, यो तालिम को बाबजुद पनि कोभिडको महामारीमा हाम्रो मानसिक तनाब बढ्दो छ । म आफैँ अस्पतालमा काम गरिरहँदा मलाई नेपाल र अन्य विकसित देशहरुमा फ्रन्टलाइनमा खटिनु भएका स्वास्थ्यकर्मीहरुको सम्झना आउँछ । उहाँहरुलाई सम्झिँदा मेरो मनको धड्कन बढेकै पाउँछु । उहाँहरुले इमर्जेन्सी मेडिसिनको औपचारिक तालिमविना नै आफ्नो ज्यानलाई दाउमा राखेर काम गर्नु भएको छ ।
***
आजको सिफ्ट सकिनै लाग्यो । आठ घण्टामा छ जना कोभिडको संकेत भएका बिरामीको जाच गरेँ । दुई जनालाई भेन्टिलेटरमा राख्न इन्टुबेट गरेँ । एक जनाको हृदयाघात भएर मृत्यु भयो । र, हाम्रो व्यस्तताको कारणले कयौँ बिरामी त प्रतिक्षालयमा नै घण्टौदेखि पर्खिरहेका छन् । के गर्ने समस्या नै यस्तै छ । ड्युटीमा खटिँदा पानी पिउने समय पनि भएन । तर, अब घर जाने बेला भयो ।
अस्पतालको प्रतिक्षालयको यो भिड देख्दा मलाई नेपालको याद आउँछ । अमेरिका जस्तो देशले त आपतकालीन अवस्थामा सबैको उपचार गर्न सक्दैन भने हाम्रो देशमा महामारी फैलियो भने के होला ? हाम्रोमा त अस्पताल, आईसीयू, भेन्टिलेटर मात्र होइन, चिकित्सकहरु नै थोरै छन् । उनीहरुलाई पीपीई पनि पर्याप्त छैन भन्ने सुन्छु । मनमनै कामना गर्छु, नेपालमा महामारीको अवस्था नआओस् ।
यस्तै कुराहरु मनमा खेलाउदै लकरमा गएँ । स्क्रब परिवर्तन गरेँ । २० सेकेण्डसम्म हात साबुनपानीले मिचिमिची धोएँ । इमर्जेन्सी विभागको जिम्मा अर्को सिफ्टका सहकर्मीहरुलाई दिएँ । बिरामीको अवस्थाबारे जानकारी गराएँ । त्यसपछि घरतिर निस्किएँ ।
घरमा छिर्ने बित्तिकै फेरि हात धोए । तापक्रम नापेँ । ठिक नै रहेछ । राहतको लामो सास लिएँ । आज त बाँचियो ! अबका दिन कस्ता आउलान् ? सोच्दैमा डर लाग्छ ।
प्रतिक्रिया 4