१० वैशाख, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुनर्निर्माणको कार्यमा असर पारेको बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले कोरोना भाइरसको महामारीको असर पुनर्निर्माणको कार्यमा गम्भीर रुपमा परेको बताएका हुन् ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछिको ५ वर्ष पूरा हुन दुई दिन बाँकी छँदा प्राधिकरणका सीईओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर गरेको र यसले पुनर्निर्माणको बजेटमा समेत असर पार्ने बताए ।
कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने उनको भनाइ छ ।
तर निजी आवासको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने उनले बताए । यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुनर्निर्माणमा पनि ध्यान दिइएको र विश्व बैंकलगायतका दातासँग छलफल भइराखेको उनले बताए ।
यस्तै सरकारका विभिन्न निकायले पुनर्निर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुनर्निर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदासमेत कुनै फरक नपर्ने उनले बताए ।
सीईओ ज्ञवालीले स्रोत साधनको कमीको कारण वा समय अभावको कारणले पुनर्निर्माणको काम प्रभावित नहुने समेत बताए ।
सीईओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताए ।
उनका अनुसार अहिलेसम्म निजी आवास पुनर्निर्माणको काममा ८८ प्रतिशत प्रगति भएको छ । हालसम्म ६३ प्रतिशत अर्थात चार लाख ९४ हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको छ भने २५ प्रतिशत अर्थात एक लाख ९० हजार १४५ निजी आवास पुननिर्माणको चरणमा रहेको छ ।
यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात पाँच लाख ६१ हजार ६५० रहेको उनले बताए ।
निजी आवस पुननिर्माणका लागि सात लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।
यस्तै भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५०३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ ।
एक हजार ४९२ अर्थात २० प्रतिशत विद्याय पुनर्निर्माणको क्रममा रहेका छन् । ३२ जिल्लाका ९२० वटा सम्पदा मध्ये ४०२ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको पनि सीईओ ज्ञवालीले बताए ।
यसबाहेक १४१ सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौं उपत्यकाभित्र विश्व सम्पदा क्षेत्रभित्र रहेका १७० वटा सम्पदामध्ये १०१ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुनर्निर्माणको क्रममा छन् ।
यसबाहेक एक हजार १९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १४५ वटा पुनर्निर्माणको क्रममा छन् ।
स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ । यस्तै ४१५ सरकारी भवन मध्ये ३४९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुन निर्माणको क्रममा छन् ।
सुरक्षा निकायका १९४ संरचनाको पुनर्निर्माण सम्पन्न भएको र २२ वटा पुनर्निर्माणको क्रममा चरणमा रहेको उनले बताए ।
भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये चार हजार २०४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा आवास पुनर्निर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ ।
यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डीपीआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुनर्निर्माण हुँदै छन् ।
विभिन्न जिल्लामा ७६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किलोमिटर सडक पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै ३१९ किलोमिटर सडकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी विभाग मार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन भने एक सयवटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
प्राधिकरणले अहिले सम्म तीन खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुनर्निर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट तीन खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया 4