
१६ वैशाख, रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तथ्यांकमा काेराेना - नेपाल
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेभिट आएको थियो ।
तर घर गएर परिवार र समुदायमा १० दिन बिताइसकेपछि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् ।
काठमाडौंबाट वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । र, त्यसक्रममा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्थानीय प्रशासनले वृन्दावन नगरपालिका ९ भुसाहा क्षेत्र र देवाही गोनाही नगरपालिका १ को क्षेत्रलाई सिल गरेको छ । समुदायको बृहत रुपमा स्क्रिनिङ गर्नुपर्ने भएकोले दुवै वडालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
प्रतिक्रिया 4