+
+

करिब ६० वर्षपछि नेपालमा सलह आउँदैछ

सुदूरपश्चिम प्रदेश बढी जोखिममा

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ जेठ १४ गते १७:२७
Photo Credit : Tony Karumba/AFP via Getty Images

१४ जेठ, काठमाडौं । अफ्रिकाको रैथाने सलह इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ । फट्याङ्ग्रा प्रजातिको यो किराको सम्भावित प्रवेशलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय सतर्क बनेको छ ।

६० वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार, घाम नै छलिनेगरी उडेर आउने सलहका झुण्ड जहाँ बस्छ त्यहाँको हरियाली केही बेरमै उजाड बन्छ ।

सन् १९६० को दशकको सुरुतिर सलह प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको हुमागार्इं बताउँछन् । उनी भन्छन्, ‘त्यसबेला काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको कृषि इतिहासका किताबहरूमा पढ्न पाइन्छ ।’

मन्त्रालयमा प्राविधिक समिति

सलहको सम्भावित प्रकोपबारे कृषिसचिवको अध्यक्षतामा मंगलबार बसेको बैठकको निर्णयसँगै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन भएको छ ।

समितिले क्रमशः नजिकिँदै आएको सलहको झुण्ड नेपाल पसे त्यसले पुर्‍याउनसक्ने क्षतिको आकलन र क्षति न्यूनीकरणको पूर्वतयारीका बारेमा योजना बनाउने छ । समितिलाई विषादीको मौज्दात हेरेर आयात आवश्यक देखिए त्यसको पनि तयारी गर्न भनिएको छ ।

पाकिस्तानबाट हावाको चापसँगै पूर्व मडारिएको सलहको विशाल झुण्ड भारतको गुजरात, मध्यप्रदेश, राजस्थान, महाराष्ट्र हुँदै अहिले नयाँदिल्ली नजिक पुगेको छ । पश्चिमी वायुको चापले यसलाई सुदूरपश्चिम प्रदेशबाट नेपाल प्रवेश गराउन सक्ने आँकलन छ ।

बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै भित्रिने मनसुनी वायुको चापले सलह प्रवेश रोक्न सक्ने एउटा आशा रहेको हुमागाईं बताउँछन् । मनसुनी वायुको चापले पश्चिमी वायुलाई फिका बनाउन सक्यो भने सलह भारततिरै रोकिन सक्ने उनले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?